सिंहदरबारमा मुख्यमन्त्रीहरुको गुनासो : स्रोत साधनको अभाव भयो, केन्द्रले समन्वय गरेन



७ चैत २०७४, काठमाडौं ।

सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीसामू प्रदेशमा कानुन र स्रोत साधनका साथै केन्द्र सरकारबाट समन्वयनको भएको गुनासो गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले भने सबै सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्ने भन्दै समन्वय गरेर अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारका मन्त्रीहरुलाई राखेर सात प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्यन्यायाधिवक्तासँग झण्डै छ घन्टा छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले भने, ‘संघीयता कार्यान्वयनका लागि यो महत्वपूर्ण बैठक हो । यसमा प्रदेश सरकार कसरी चलेको छ ? प्रदेशले केन्द्रसँग कसरी समन्वयन गर्न के गर्नुपर्छ भन्ने छलफल भएको छ ।’

बैठकलाई सुरुमा प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । उनले विकास र समृद्धि सबैको साझा लक्ष्य भएको बताए ।

त्यसपछि सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश सरकार सञ्चालनका क्रममा भोग्नु परेको समस्या राखेका छन् ।

‘स्रोत साधन र दक्ष जनशक्तिको अभाव खड्किएको कुरा हामीले राखेका छौं र प्रधानमन्त्रीले सहयोग गर्ने बचन दिनुभएको छ’ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भनेका छन् ।

ऐन कानुन निर्माण, स्रोत साधन सबैमा केन्द्रले गर्नुपर्ने जति सहयोग नगरेको उनीहरुको गुनासो छ । ‘ऐन कानुन बन्ने क्रममा छ, त्यसमा जुन किसिमको सहयोग हुनुपर्थ्यो त्यो हुन सकेको छैन’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘प्राविधिक र जानकार जनशक्ति अभाव भएको छ ।’

गाडी, कर्मचारीदेखि भौतिक पूर्वाधारको समस्या पनि मुख्यमन्त्रीहरुले उठाएका छन् । साथै प्राकृतिक स्रोत र राजश्व बाँडफाँटका लागि अझैसम्म आयोगहरु नबनेकोमा ध्यानाकर्षण गराएका छन् ।

‘राजश्व बाँडफाँट गर्दा जनसंख्या र मानवीय सूचकांकका आधारमा गनुपर्छ भनेको छु, राउतले भनेका छन् ।

केन्द्रीय कर्मचारीको तर्फबाट सहयोगी भूमिका खेल्नुपर्नेमा नभएको मुख्यमन्त्रीहरुको साझा गुनासो थियो । ‘स्रोत साधन र दक्ष जनशक्तिको अभाव खड्किएको कुरा हामीले राखेका छौं र प्रधानमन्त्रीले सहयोग गर्ने बचन दिनुभएको छ’ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भनेका छन् ।

प्रदेशगत समस्याहरु पनि मुख्यमन्त्रीहरुले राखेका छन् । प्रदेश २ ले जन्मसिद्ध नागरिकता नपाएको तथा प्रदेश र स्थानीय सरकारको मर्यादाक्रम नमिलेका विषयहरु बैठकमा उठाएको छ ।

प्रधानमन्त्रीका सल्लाहकार रिमालका अनुसार मुख्यमन्त्रीहरुले उठाएका प्रश्नमा अर्थ, कानुन, गहृ र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीहरुले पनि जवाफ दिएका छन् ।

‘सबै सरकार नेपाल सरकार हुन् र मिलेर काम गर्ने हो, द्रुत गतिमा विकास गर्नुपर्छ’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले हामीलाई संघीयताबाट फर्किने, असफल हुने अनुमति छैन । मिलेर अघि बढ्नुपर्छ भन्नुभएको छ ।’

शून्यबाट काम थाल्नु पर्ने अलिअलि अलमल स्वभाविक भएको भन्दै उनले आपसी समन्वय गरेर अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले केन्द्र सरकार सहयोग गर्ने र आगामी दिनमा समन्वयको कमी नहुने आश्वानस दिएका छन् । (अनलाईनखबरबाट)

प्रतिक्रिया दिनुहोस्