श्रीलङ्कामा संकटकाली हट्यो



कोलम्बो, ४ चैत

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशव्यापी रुपमा लगाइएको संकटकालीन अवस्था हटाउनु भएको छ ।

यही मार्च ६ तारिखबाट घोषणा गरिएको संकटकालीन अवस्था हटाइएको राजपत्रमा राष्ट्रपति सिरिसेनाले आइतबार हस्ताक्षर गर्नुभएको र त्यसपछि संकटकालीन अवस्था हटेको जानकारी अधिकारीहरुले दिएका छन् ।

श्रीलङ्काको मध्यक्षेत्रमा व्यापक विरोध प्रदर्शन भएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले संकटकाल लगाएको थियो ।

राष्ट्रपतिका सचिव अष्टिन फेर्नान्डोले संकटकाल हटाउने राजपत्रमा राष्ट्रपति सिरिसेनाले हस्ताक्षर गरेको पुष्टी गर्नुभयो ।

श्रीलंकामा करिब ३० वर्षदेखि जारी यहाँका विद्रोही तामिल टाइगर्सको हिंसात्मक विद्रोहको सन् २००९ मा अन्त्य भएपछि यो संकटकालीन अवस्थाको घोषणा पहिलो पटक गरिएको थियो ।

हस्ताक्षर गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नो ट्वीटर अकाउन्टमा लेख्नुभएको छ, “सार्वजनिक सुरक्षाका लागि हामी गम्भीर छौँ, अहिले अवस्था सुध्रिएको छ, त्यसैले आज मध्यरातीदेखि संकटकाल हटाइएको छ ।”

यसै महिनाको सुरुमा काण्डीमा भएको प्रदर्शनका क्रममा तीन जनाको ज्यान जानेगरी भएका प्रदर्शन र हिंसात्मक हमलाहरुपछि संकटकालीन अवस्थाको घोषणा गरिएको थियो ।

सो हिंसाका क्रममा सयौं पसल, घर, मन्दिर, मस्जीद लगायतमा ठूलो क्षती पुगेको छ । सो प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारी सुरक्षाकर्मीहरुले झण्डै २८० जनालाई गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्