बहुआयामिक व्यक्तित्व जयराम थापाको जीवनी



सहोदर दाजु बलराम थापाको प्रेरणाले स्कूले जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा होमिएका अधिवक्ता जयराम थापा अनेरास्ववियुको स्कूल कमिटी अध्यक्ष हुँदै हाल नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य हुन् ।

कुटनीतिक कानूनमा विद्यावारिधी (पिएचडी) गरिरहेका थापाको जीवनका सामाजिक, राजनीतिक र व्यवसायिक विविध पाटाहरु समेटेर तयार पारिएको आलेख :

पारिवारिक जीवन
जयराम थापाको जन्म तत्कालिन चपली भद्रकाली गाविस परिवर्तित बूढानीलकण्ठ नगरपालिका वडा नं. २ मा २०३३ कात्तिक १७ गते भएको हो । सामाजिक तथा खेती किसानीमा सक्रिय बुवा तारा बहादुर थापा र आमा अडरकुमारी थापाका ४ छोरा १ छोरी मध्ये माईलो छोरा हुन्–जयराम थापा ।

सानो परिवारमा रमाउने थापाले २०६३ सालमा सामाजिक अभियन्ता मिना न्यौपानेसँग मागी विवाह गरेका थापा दम्पतीका एक छोरी जस्मिन थापा छन् ।

अध्ययन
६ वर्षको उमेरदेखि गाउँकै गणेश माध्यमिक विद्यालय भर्ना भई २०५० सालमा एसएलसी उत्तीर्ण गरेका थापाले २०५१ सालमा आईएल, २०५८ सालमा बिएल, २०६० सालमा एलएलएम, २०६१ सालमा समाजशास्त्रमा एमए पास गरेका छन् ।

भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट सन् २०२० देखि कुटनीतिक कानूनमा विद्यावारिधी (पिएचडी) गरिरहेका थापा शोधपत्र बुझाउने अन्तिम तयारीमा रहेका छन् ।

राजनीतिक संलग्नता
२०४९ सालमा गणेश माध्यमिक विद्यालयको अनेरास्ववियु प्रारम्भिक कमिटीका अध्यक्ष भएका थापा सहोदर दाजु बलराम थापा र गाउँकै अग्रज नेताहरु लालबहादुर तामाङ, इन्द्र बहादुर तामाङ, विदुरविक्रम खड्का लगायतको प्रभावले कम्युनिष्ट आन्दोलनमा जोडिएका हुन् ।

अनेरास्ववियु गणेश माविको प्रारम्भिक कमिटीमा रहँदा तत्कालिन विद्यार्थी नेता शंकर पोखरेलको प्रशिक्षणबाट अत्यन्तै प्रभावित भई कम्युनिष्ट पार्टीमै समर्पित हुने निर्णय गर्न पुगे–जयराम थापा ।

स्कूले जीवनपछि ल क्याम्पसमा भर्ना भएका उनी तत्कालिन विद्यार्थी नेता दीपक निरौलाको संगतमा जोडिएपछि क्याम्पस कमिटीमा जिम्मेवारी पाई अनेरास्ववियुको राजनीतिमा थप क्रियाशील हुन पुगे । अनेरास्ववियुको तेह्रौं, चौधौं, पन्ध्रौं राष्ट्रिय अधिवेशनमा प्रतिनिधि बनेका उनी २०५७ सालमा तत्कालिन क्याम्पस कमिटी अध्यक्ष माधव ढुङ्गेललाई पछि पार्दै नेपाल ल क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापतिको उम्मेद्वार बनेका थिए ।

अनेरास्ववियुमा काम गर्दा पार्टीभित्र तत्कालिन नेता केपी शर्मा ओली पक्षधर रहेका थापाले बिनोद ढकाल अनेरास्ववियु नेतृत्वमा पराजय भोगेपछि सिङ्गो अनेरास्ववियु नै तत्कालिन पार्टी महासचिव माधव नेपालले कब्जा गर्न पुगे । जसको कारण आफ्नै संगठनभित्र विपक्षी जस्तो व्यवहार सहनुपरेका थापाले त्यसपछि अनेरास्ववियुको राजनीतिबाट विदा हुने निर्णय गरे ।

२०५८ सालमा राजा ज्ञानेन्द्रले राज्यसत्ता नियन्त्रणमा लिएपछि जनआन्दोलनमा सहभागी हुने र राजनीतिक रुपमा धरपकडमा परेका आन्दोलनकारीहरुलाई छुटाउन बन्दी प्रत्यक्षकरण मुद्दा दर्ता गर्ने काममा सक्रिय रहेका थापा आन्दोलनमा सहभागी भएकै आधारमा दर्जनौं पटक गिरफ्तार भई छुटेका युवा नेता हुन् ।

२०६०–६३ मा प्रगतिशील तथा व्यवसायिक कानून व्यवसायी संगठन (पिपिएलए)को पाटन उच्च बार सदस्य बनेका थापा २०६४–०६७ मा उपाध्यक्ष हुँदै २०६८–०७० सम्म पाटन उच्च बार कमिटीको अध्यक्ष भएर काम गरेका छन् ।

२०६३–०६४ सालमै नेकपा एमाले क्षेत्र नं. ४ को बुद्धिजीवि कमिटी ईञ्चार्ज भएर काम गरेका थापाले काठमाडौं क्षेत्र नं. ४ का पार्टी उम्मेद्वार विद्यादेवी भण्डारी, निर्मल कुईकेल र राजन भट्टराईलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेका छन् ।

२०७३–७४ मा नेकपा एमाले केन्द्रिय संस्कृति विभागको सदस्यको रुपमा समेत आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका थापा हाल नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य समेत हुन् ।

व्यवसायिक जीवन
अनेरास्ववियुमा बसेर काम गर्ने वातावरण नभएपछि २०५८ सालबाटै तत्कालिन संगठनका नेताहरु हिक्मत कार्की, भेषराज अधिकारी, शिवदत्त भण्डारी, भद्रकाली भण्डारी, टिका रिजालसहितको सहकार्यमा थापाले ‘कानूनी परामर्श तथा अनुसन्धान केन्द्र’ नामक ‘ल फर्म’ दर्ता गरी पेशागत जीवन सुरु गरेका थिए ।

२०५८ सालमा लिभरपुल इन्टरनेशनल कलेजको संस्थापक र प्रवन्ध निर्देशक भई ८ वर्ष काम गरेका थापा अहिलेपनि सोही कलेजका संचालक हुन् ।

कानूनी तथा शैक्षिक क्षेत्रको प्रतिनिधित्व गर्दै मेघा बैंक लिमिटेडको संस्थापक सदस्य बनेका थापा काठमाडौंको उत्तरी भेगतर्फको उत्तरविन्दु बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक सदस्य समेत हुन् ।

२०७४ सालदेखि झापाको गौरादहमा कञ्चनजंघा फार्म हाउस संचालन गरी कृषि क्षेत्रमा योगदान पुर्याउँदै आएका थापाको अध्यक्षतामा रहेको जेस्मिन इन्भेष्टमेण्ट कम्पनीले अहिलेपनि विभिन्न क्षेत्रमा लगानी गरी देशमै रोजगारी सिर्जना गरेका छ ।

कलंकीस्थित ‘शहिद मेमोरियल हस्पिटल’को संस्थापक सदस्य रहेका थापा बानेश्वरस्थित ‘नेचर केयर हस्पिटल’का समेत संस्थापक हुन् ।

सामाजिक जीवन
२०७१ सालमा भिम आचार्य पर्यटनमन्त्री हुँदा नेपाल सरकार मातहत रहेको बूढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्ष बनेका थापाले आफ्नो ४ बर्षे कार्यकालमा बूढानीलकण्ठ मन्दिरको विकासमा निकै योगदान पुर्याएका छन् ।

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको प्रमुख आतिथ्यतामा ‘प्रथम ऐतिहासिक बूढानीलकण्ठ महोत्सव’ मार्फत बूढानीलकण्ठ मन्दिर र यसको संस्कृतिलाई चिनाउन भूमिका खेलेका थापाले बूढानीलकण्ठ मन्दिरको बारेमा लिखित कागजात केही नहुँदा नेपाली र अंग्रेजी भाषामा ‘बूढानीलकण्ठ एक परिचय’ नामक पुस्तक सार्वजनिक गरेका थिए ।

उनकै कार्यकालमा बूढानीलकण्ठ मन्दिरलाई नेपाल पर्यटन बोर्ड मार्फत नेपालको पर्यटकीय सूचीमा समावेश गराउन सफल भएका थिए भने बूढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत सुरु गरिएको प्रयास उनको कार्यकाल समाप्तीपछि सेलाएर गएको छ ।

२०७२ सालमा आएको विनासकारी महाभूकम्पको समयमा ९ दिनसम्म बूढानीलकण्ठ मन्दिर परिसरमा ‘अखण्ड महामृत्युञ्जय महायज्ञ’ लगाएर नागरिकलाई तनाव, डर र त्रास हटाउन भूमिका खेलेका उनले पार्टीले संचालन गरेको श्रमदान अभियानमा समेत सक्रिय सहभागिता जनाएका थिए ।

२०६६ सालदेखि ‘वर्ल्ड पिस अर्गनाईजेशन’ नेपाल च्याप्टरको सदस्य भई काम गरेका थापा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सहभागी समेत भएका छन् ।

२०७१ सालदेखि इन्टरनेशनल डेमोक्रेटिक लयर्स एशोसियशन र २०७३ देखि इन्टरनेशनल टुरिजम लयर्स एशोसियसनको नेपाल प्रतिनिधिको रुपमा जिम्मेवारी निर्वाह गरिरहेका थापा २०७३ देखि नै नेपाल टुरिजम लयर्स एशोसियशनको महासचिवको रुपमा जिम्मेवाररत छन् ।

अन्तर्राष्ट्रिय संस्थाको प्रतिनिधित्व गर्दै एसिया, युरोप, अमेरिका, अष्ट्रेलियाका अधिकांश देशहरुमा पुगिसेकका थापा अफ्रिकन केही मुलुकहरुमा समेत अन्र्तराष्ट्रिय कार्यक्रमकै सन्दर्भमा सहभागी भईसकेका छन् ।

२०७६ सालदेखि आफू पढेको विद्यालय गणेश मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनेका थापाले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक सुधार गर्दै नगरपालिकाबाट नमूना विद्यालयमा समावेश गर्न सफल भएका छन् ।

विभिन्न कार्यक्रमहरुमा सहभागी भएका तस्विरहरु

प्रतिक्रिया दिनुहोस्