नेपालीलाई उपदेश दिने चिनियाँ पत्रकारको कोशेली : पत्रकारिताको नाममा एकपक्षीय भू-राजनीतिक दृष्टिकोण



चाउ सेङपिङ सिन्ह्वा समाचार एजेन्सीको निवर्तमान प्रमुखको रुपमा एक दशक नेपालमा बिताएका चिनियाँ पत्रकार हुन्। उनी आफ्नो नेपाल बसाईमा पत्रकारिता गर्दै नेपालका विभिन्न क्षेत्रहरुको स्थलगत भ्रमण र अनुभव प्राप्त गर्न सफल थोरै भित्रका एक विदेशी पत्रकार समेत हुन्।

नेपाल बसाईको अवधिमा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार, आलेख र फिचर मार्फत अंग्रेजी भाषामा एउटा पुस्तक लेखे जसको नाम “‘मेन्ड अर एन्ड’ सुधार वा समाप्त होऊ” थियो। जसमा लेखक सेङपिङले आफ्नो भोगाई र सूचनामा आधारित रहेर नेपाललाई हेरेको देख्न सकिन्छ। अंग्रेजी पुस्तकमा उनले राजनीति, अर्थशास्त्र, संस्कृति र शिक्षा, समाज र पर्यावरण, यात्रा र पर्यटन गरी ६ अध्यायमा विभाजन गरेर ६२ वटा लेखहरु समेटिएका थिए ।

चिनियाँ पत्रकारको नजरमा नेपाल अंग्रेजी अनुवाद होईन

सेङपिङको अंग्रेजी संस्करण नेपाल ईन द आईज अफ अ चाईनिज जर्नालिष्ट ‘मेन्ड अर एन्ड’ को नेपाली संस्करणको रुपमा बताईएको पुस्तक चिनियाँ पत्रकारका नजरमा नेपाल (सुधार वा समाप्त होऊ) भन्ने शीर्षक राखी एकै किसिमको जस्तो देखिने कभर डिजाईन प्रकाशित पुस्तकमा ६ अध्याय र ६२ वटै लेखहरु समावेश गरिएका छन्।

पहिलो पुस्तक आफैले प्रकाशन गरेका लेखकले नेपाली संस्करण भने जनता संचार गृह मार्फत छपाएका छन् , पुस्तकको प्रकाशकीयमा लेखिएको छ,” पत्रकार चाउ सेङपिङद्वारा लिखित अंग्रेजी पुस्तक ‘मेण्ड अर ईण्ड (सुधार कि समाप्त होऊ) को नेपाली रुपान्तरण प्रकाशन गर्ने जमर्को गरेका छौँ। त्यस पुस्तकमा सम्मिलित भन्दा अन्य ८ ओटा नयाँ लेखहरु यस पुस्तकमा समेटिएका छन्। अंग्रेजी पुस्तकका लेखहरुलाई लेखकले अधावधिक समेत गर्नुभएको छ।”

नेपाली संस्करणमा सेङपिङले आफ्नो भनाई राख्ने क्रममा प्रकाशन गृहलाई धन्यवाद दिएका छन्। जहाँ उनले अंग्रेजी संस्करणमा प्रकाशित लेखहरु हटाएको, परिमार्जन गरेको वा थप गरेको उल्लेख गरेका छैनन्। नेपाली संस्करणलाई अंग्रेजी संस्करणसँग तुलना गर्नुको कारण चाहिँ परिमार्जनको नाममा लेखकले नेपालको राष्ट्रिय हित वा आन्तरिक राजनीतिमा चाहिने भन्दा बढी सुझाव दिएका छन्। अझ प्रष्ट भाषामा भन्दा उनको नेपाली संस्करणले देशको ठूलो राजनीतिक दल नेकपा एमालेको कारणले चीनको बिआरआई परियोजनालाई कमजोर बनाएर एमसीसीलाई अगाडि बढाउन एकपक्षीय आरोप लगाएका छन्। एमसीसी बारेमा निकै आक्रामक ढंगले प्रस्तुत भएका लेखकले एमसीसीको शुरुवात गर्ने, एमसीसीमा हस्ताक्षर गर्ने नेता र पार्टीलाई प्रस्तुत गर्न उपयुक्त ठानेका छैनन्।

नेपाली संस्करणको पहिलो अध्याय राजनीति अन्तर्गत ‘के नेपाल सानो छ ?’ भन्दै नेपालको प्रचुर सम्भावना, भूगोल र जनसंख्यालाई तुलना गरेर प्रचुर सम्भावना हुँदा हुँदै पनि संकीर्ण सोचले पछाडि परेकाले ब्युँझ्याउने कोशिश गरेका छन्। जसमा राजनीतिक व्यक्तिले सानो देश भनेर थेगो प्रयोग गरे।त्यो सही होइन, नेपाल ठूलो हुने र आफ्नै पहिचान भएका थुप्रै कुराको उनले उदाहरण पेश गरेका छन्। सानो र गरिब भएको बाहनाबाजीले देशलाई पछाडि धकेलिरहेको उल्लेख गरेका छन्।

उनको दोश्रो लेखमा ‘नेपाल -चीन सम्बन्धलाई कम महत्व दिईएको छ’ भन्दै आफ्नो देशप्रति राम्रो गर्दिए हुन्थ्यो भन्ने आशय सहित दुई ठूला कम्युनिष्ट पार्टीको विभाजनलाई समेत कम्युनिष्ट विचार मन नपर्नेहरुको लागि ठूलो राहतको रुपमा व्याख्या गरेका छन्। उनको तेश्रो लेखमा ‘त्रुटिपूर्ण मूल्यांकनले नेपालको रणनीतिक स्वतन्त्रताको क्षयीकरण गर्न सक्छ’ भन्ने लेखमा नेपालको आन्तरिक राजनीतिमा अनावश्यक चर्चा गरेका छन्। एक विदेशी पत्रकारले लेख्नुपर्ने निष्पक्षतालाई उनको लेखमा छताछुल्ल पारेका छन्। उनको लेखमा नेपालका प्रधानमन्त्रीले भारतीय गुप्तचर विभागका प्रमुख सामन्त गोयललाई भेट्नुलाई भारतीय सम्बन्धसँग जोड्दै गलत भएको पुष्टि गर्ने प्रयास गरेका छन्। उनले नेपाल र चीनलाई असल मित्रको रुपमा अर्थ्याउँदै भारत र अमेरिकाको सम्बन्धको विषयमा गहिरिएर सोच्न आग्रह गरेका छन्।

राजनीति अन्तर्गतको चौथो लेखमा ‘नेपाल र चीन-तिब्बत बिचको दुरी न्यून गर्नुपर्छ’ भन्दै नेपाल र तिब्बतको ईतिहासलाई जोड दिँदै स्वतन्त्र तिब्बत गतिविधिले भविष्यको बाटो थुन्छ भन्दै त्यसो भएमा ३ करोड नेपालीले रुनुपर्ने अवस्था आउने दाबी गरेका छन्। ‘लजालु कुटनीतिले चीन-नेपाल सम्बन्धलाई नोक्सान पार्छ’ भन्ने शीर्षकमा नेपाली काँग्रेसका केहि नेताहरुको हल्लाको कारणले हुम्लामा चीनले नेपाली जमिन अतिक्रमण गरेको चर्चा चलेको देखि एमसीसीकी उपाध्यक्षको भ्रमणको बारेमा उल्लेख गरेका छन्। यो शीर्षकमा उनले बिपी कोईरालाको चीन भ्रमणमा समकक्षी चाउ एनलाई सँगको संवादलाई रोचक ढंगले प्रस्तुत गरेका छन्।

अध्याय दुईको अर्थशास्त्रमा पहिलो लेख ‘नेपालले एमसीसी किन अस्वीकार गर्नुपर्छ?’ भन्ने शीर्षकमा उनले लेखेका छन् ,” पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक प्रतिपक्षीलाई एमसीसीबारे टिप्पणी गर्नु अघि यसको दस्तावेज पढ्न सुझाव दिएका थिए। …यदि म गलत छैन भने धेरै मानिसहरुले एमसीसीका दुई दस्तावेज पढ्ने फुर्सद नै छैन जबकि उनीहरु यत्तिकै पक्ष र विपक्षमा बहस गर्न तम्सिन्छन्। …. अहिले हामी सजिलै बुझ्न सक्छौँ कि किन ओली सरकारका केहि मन्त्रीहरुले कुनै पनि हालतमा एमसीसी संसदबाट अनुमोदन हुनुपर्छ भन्ने जिकिर गरेका थिए। ओली आफैँले अरु राजनीतिक दलहरुलाई यसमा समर्थन गर्न आग्रह गरेका थिए।”

उनले एमसीसी बारेमा दोश्रो लेखमा ‘एमसीसीको भू-राजनीति’ शीर्षकमा लेख्छन् ,” संसदबाट अनुमोदन हुनुको अर्थ आफ्नो सार्वभौमसत्ता बुझाएबापत मिल्ने ५५० मिलियन युएस डलरले चीनको प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने एवं एक चीन नीति प्रति प्रतिवद्द रहने नेपालको स्थायित्व दुर्घटनामा परेर समाप्त हुन सक्छ। “

अर्थतन्त्र अन्तर्गतको तेश्रो लेखमा ‘नेपालमा बिआरआईको अवस्था’ शीर्षक दिएर लेखेको लेखमा,” पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित अरु राजनीतिज्ञलाई अन्धाधुन्ध रुपमा बेईमान भनी आलोचना गर्नु पूर्वाग्रह हुनेछ। अवसरवाद र समग्रमा राजनीतिक ईच्छा शक्तिको कमी बिआरआई पहल अन्तर्गतका यी परियोजनालाई कार्यान्वयन गर्ने मार्गका विशिष्ट अड्चन हुन्। ओलीको निर्वाचन क्षेत्र झापामा रहेको चीन-नेपाल मैत्री औधोगिक उधानलाई एक ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ।

यो लेखकलाई बताईएको थियो कि सन् २०२१ को फेब्रुअरीमा यस पार्कको शिलान्यास समारोहलाई लिएर ओलीले थुप्रै पटक मन्त्री परिषदको बैठक आयोजना गरेका थिए किनभने यो नेपालकै सबैभन्दा ठूलो औधोगिक उधान थियो। दोषी चस्माले ओलीको उपहास गर्न सक्छ जबकि हरेक किसानले आफ्नै भकारी भर्ने चलन छ तर फेब्रुअरीमा भएको उद्घाटन समारोहका एक सहभागी अनुसार सो समारोहमा अरु कुनै राजनीतिक दल समावेश भएका थिएनन् र यसको पुरै जस ओलीले लिएका थिए।”

माथि उल्लेखित गरेभन्दा अरु पनि केहि नयाँ लेखहरु सेङपिङले नेपाली संस्करणमा थपेका छन्। अंग्रेजी संस्करणमा प्रकाशित लेखहरु पूर्ववत रुपमा प्रकाशित भएका भाषिक रुपमा समेत सबल लेखहरु थिए। उनको नेपाली संस्करणले अघिल्लो संस्करणमा देखिएको तुलनात्मक रुपको सन्तुलनलाई गुमाएको छ। नेपाली संस्करणमा उनी प्रष्ट रुपमा एमाले विरोधी कित्तामा दर्जिएका छन्।

व्यक्तिगत रुपमा म एमसीसी नेपालको हितमा छैन भन्नेमा प्रष्ट छु। तर एमाले सरकारमा हुँदै चीनसँगको सम्बन्धले पाएको उचाईलाई लेखकले पुस्तकमा प्रस्तुत गर्न नचाहेको प्रष्ट देखिन्छ।

चिनियाँलाई गाली गर्दा तिम्रो मन दुख्छ : नेपालीलाई जे भन्दा नि हामीले सहनुपर्ने ?

सेङपिङ व्यक्तिगत रुपमा मेरा असल साथी हुन्। उनको अंग्रेजी संस्करण राम्रो लागेको थियो। नेपाली संस्करणमा नेपाली राजनीति, नेपालका नेताहरु, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमाले प्रति लगायका आरोपहरु पाच्य देखिदैनन्। उनले हाम्रा पूर्व प्रधानमन्त्रीको आलोचना गर्दा हामीले माओले साँस्कृतिक क्रान्तिको नाममा चलाएको अमानवीय नरसंहारलाई चिनियाँ नेता माओको महाभूल र चिनियाँ कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो गल्ति भन्दा चिनियाँहरुलाई राम्रो लाग्छ कि लाग्दैन ? पक्कै पनि लाग्दैन।

नेपालका धेरै कम्युनिष्ट नेताहरु माओको अभियानलाई सगर्व ‘सांस्कृतिक कान्ति’ रुपमा बुझ्छन्। नेकपा एमाले र यसका कुनैपनि नेतादेखि स्थानीय तहका कार्यकर्ताहरु समेत माओलाई कम्युनिष्ट पार्टीको आदर्शको रुपमा ग्रहण गर्दछन्। तर पनि माओले मास्क लगाएको फोटो नेपाली पत्रिकामा प्रकाशित हुँदा चिनियाँ राजदुतले गरेको टिप्पणी सेलाएको छैन।

भारतले नाकाबन्दी लगाएको समयमा चीनले नेपाललाई आत्माविश्वास दियो। सकेको सहयोग पनि गर्यो तर चीन नेपालको असाध्यै असल मित्र हो भने नेपाललाई पीडा परेको बेलामा लामो समयदेखि संचालनमा रहेको तातोपानी नाका किन बन्द गर्यो र किन अझैसम्म खुलाउँदैन ? के आम नेपालीहरुले चीनले नेपाललाई अहिलेसम्म नाकाबन्दी जारी राखेको छ भन्न मिल्छ ? नेपालीले बुझेका छन् , तातोपानी नाका बन्द गर्न चीनलाई एउटा बाहना चाहिएको थियो, भूकम्पले त्यो अवस्था सिर्जना गरिदियो।

लेखक आफैँले प्रकाशन गरेको अंग्रेजी पुस्तकको नेपाली संस्करण चाहिँ एमाले विरुद्दको संचार संस्थालाई छाप्न दिनु, त्यसमा नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गलत सावित गर्नु लेखकको चाहना हो वा प्रकाशन गृहका संचालकको राजनीतिक दाउपेच हो ! नेपाली प्रकाशनलाई संचार क्षेत्रमा भएको चिनियाँ सहकार्यको रुपमा अर्थ्याएको देखिन्छ। चिनियाँ प्रतिनिधिले नेपाललाई कसरी हेरिरहेका छन् भन्ने बुझ्न र आपसी मित्रता जनस्तरसम्म बढाउन सहयोग पुर्याउने छ भन्ने विश्वास संचार गृहले गरेको उल्लेख छ। तर टोल-टोल सम्म विस्तार भएको नेकपा एमाले र समकालीन राजनीतिमा सबैभन्दा बढी लोकप्रिय राजनीतिज्ञ केपी शर्मा ओली र उनको पार्टीलाई प्रहार गरेर जनस्तरसम्म लेखकले कस्तो सम्बन्ध स्थापना गर्न खोजेका हुन् ? अमिल्दो देखिन्छ।

लेखकले नेपाली संस्करणलाई खुल्ला र तटस्थ दिमागले भन्दा धेरैजसो विषयमा चिनियाँ राजनीतिक र कूटनीतिक लाइन सहित चिनियाँ हितलाई केन्द्रमा राखेर लेखेका छन्। उनको पुस्तक निश्पक्ष, सर्वस्वीकार्य तर्कसंगत रुपबाट हेर्न सकिन्न। त्यसैले उनलाई एउटा पत्रकारको रुपमा बुझ्दा पेशागत धर्म र नैतिकता विपरीतको देखिन्छ। चीनबारे कुटनीतिक र राजनीति वृत्तमा भइरहेका नकारात्मक टिप्पणी र लान्छानाको खुलेर बचाऊगरेका लेखकले पुस्तकमा एउटा चिनियाँ कुटनीतिक व्यक्तिको रुपमा वा चिनियाँ दुतको रुपमा आफूलाई उभ्याएका छन्।

नेपालको पर्यटन क्षेत्रको विषयमा लेखिएका अनुभूतिमा आधारित लेखहरु सो क्षेत्रको सुधार्नुपर्ने महत्वपूर्ण सुझावहरु छन्। राराको वर्णनको, नेपालको हवाईसेवा, सगरमाथाको फोहोर मात्र होईन पर्यटन विकासको लागि गर्नुपर्ने धेरै कामहरु मननयोग्य छन्।

पुस्तकमा लेखकले चिनियाँ सहयोगलाई निकै महत्व दिएका छन्। आफ्नो देशको विकास र आफ्ना नेताहरुका राम्रा विषय वस्तुहरु समेटेका छन्। एमसीसीबारे लेख्नु र बोल्नुलाई अन्तराष्ट्रिय मुद्दा भन्दै गरेको तर्क उपयुक्त देखिन्छ तर नेपालको आन्तरिक मामिला, नेपालको न्यायालय, नेपालको विदेश सम्बन्ध, नेपाल-चीन र नेपाल- अरु देशहरुसँगको सम्बन्धबारे उनको हलुका टिप्पणीले पुस्तकको वजनलाई घटाएको छ।

अझ समकालीन नेपाली राजनीतिका प्रमुख नेता केपी शर्मा ओली, नेपालको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले र यसका नेताहरुप्रतिको उनको टिप्पणीले उनले स्थापना गर्न चाहेको जनसम्बन्धको मोडेल बुझ्न सजिलो छैन। अमेरिकालाई साम्राज्यवादी र भारतलाई विस्तारवादी राष्ट्रको रुपमा चित्रित गर्न चाहेका लेखक सेङपिङले नेपालको आन्तरिक मामिलामा एकपक्षीय ढंगले लेखेर कस्तो सन्देश दिन खोजेका हुन् ? आफू र आफ्नो देशलाई नेपालीको असल मित्र बनाउन चाहेका हुन् कि भारतीय र अमेरिकीलाई माथ गर्दै उनीहरु भन्दा माथि आफूलाई राख्न खोजेका हुन् -बुझ्न निकै गाह्रो देखिन्छ।

पत्रकारको रुपमा भन्दा चिनियाँ दुतको रुपमा प्रस्तुत भएका लेखकले नेपालको सबैभन्दा भन्दा ठूलो दल र यसका अध्यक्ष माथि गरेको प्रहार व्यक्तिगत हो वा चिनियाँ बुझाई हो -छुट्याउन सजिलो छैन।

पुस्तकको नामः एक चिनियाँ पत्रकारको नजरमा नेपाल (सुधार वा समाप्त होऊ)
लेखक : चाउ सेङपिङ
मूल्यः रु.३५०/-
प्रकाशकः जनता सञ्चार प्रा. लि.
पेजः २५८

प्रतिक्रिया दिनुहोस्