भारतबाट अत्यावश्यक बाहेकका सवारी पनि खुलेआम नेपाल भित्रिँदै



०४ वैशाख २०७७, काठमाडौं

सरकारले अत्यावश्यक सामानका सवारीबाहेक अन्यलाई रोक लगाएको छ । तर पश्चिम नवलपरासीका विभिन्न उद्योग, कलकारखाना र राजमार्ग हुँदै काठमाडौं जाने सवारीसाधन भने निर्वाध आउजाउ गर्ने गरेका छन् ।

जसका कारण स्थानीयमा त्रास बढेको छ । केही स्थानीयले भारतबाट आएका सवारीसाधनको आगमनमा अवरोध गरेपछि प्रहरीसँग झडप समेत भएको छ ।

उद्योग कलकारखानामा आउने भारतीय चालक र सहचालकहरु बाहिर निस्केर हिडडुल गर्न थालेपछि स्थानीयहरु भ्mन् त्रसित बनेका हुन् । रुपन्देहीको भैरहवा भन्सार नाकाबाट दिनहुँजसो अत्यावश्यक सामानबाहेकका सवारीसाधन प्रवेश गरिरहेका छन् ।

पाँच दिनअघि सुनवल नगरपालिकामा रहेको लक्ष्मी स्टील उद्योगमा भारतबाट कच्चा पदार्थ बोकेर आएका ट्रकलाई रोकेपछि प्रहरी र स्थानीयबीच झडप नै भएको थियो ।

त्यसैगरी मंगलबार राती रामग्राम नगरपालिका पोखरापालीस्थित सिद्धी लक्ष्मी स्टिल उद्योगमा १८ भारतीय ट्रक पुगेका छन् । दिनहुँजसो जिल्लाका विभिन्न उद्योग, कलकारखानामा कच्चा पदार्थ बोकेर आउने भारतीय ट्रकको संख्या बढ्दो छ ।

लाम लाएर ट्रक आएको बारे प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि वास्ता नगरेको पोखरापालीका स्थानीय रुपेश सहानीले बताए । लकडाउन अवधिभर अत्यावश्यक बाहेक अन्य सवारीसाधन नपठाए जोखिम कम हुने स्थानीयको भनाई छ ।

उद्योगभित्र आएका ट्रकका चालक र सहचालकलाई बाहिर निस्कन नदिइएको सिद्धि लक्ष्मी उद्योगका प्रशासकीय अधिकृत कृष्णकान्त अधिकारीले बताए ।

त्यसैगरी उद्योगको कच्चा पदार्थबाहेक काठमाण्डौंलगायत अन्य शहरमा मार्वल र टायल बोकेर आएका सवारीसाधनहरु पनि जाने गरेको एक सुरक्षाकर्मीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका नायब उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले सरकारले उद्योग कलकारखाना सञ्चालन गर्न दिने भनेकाले कच्चा पदार्थ बोक्ने सवारीसाधनलाई नरोकेको बताए ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भन्सार काटेर आएका सवारीसाधनलाई रोक्न समस्या भएको बताउनुभयो । ‘भन्सारले मुख्य प्रवेशद्धारमै रोक्नु पथ्र्यो ।

राजश्व तिरेर आवतजावत गर्न दिएपछि हामीले रोक्न सक्दैनौं ।’ प्रजिअ दाहालले भन्नुभयो। यता भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख भन्सार अधिकृत कमल प्रसाद भट्टराईले ट्रान्सपोर्टको सामान नरोक्ने आदेश भएकाले भन्सार काटेर पठाउने गरेको बताए । ‘हाम्रो काम रोक्ने होइन । भन्सारमा सामान लिएर आउने सबै सवारीसाधनलाई नरोकी पठाउन भनिएको छ । त्यसैले राजश्व लिएर पठाउने गरेका हौं।’ भट्टराईले भने ।

|तस्वीरमा सवारी। सौजन्यः रेडियो एनआरएन|

प्रतिक्रिया दिनुहोस्