भारतबाट फर्कंनेका लागि सहायता कक्ष



०७ चैत २०७६, काठमाडौं

जिल्लाका चार स्थानमा कोभिड–१९ को जोखिमबाट सतर्कता अपनाउन स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । यहाँका चार स्थानीय तहका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका विभिन्न शहरमा गएका कारण अहिले उनीहरु घरफर्कंन थालेपछि ती स्थानीयतहका प्रमुख केन्द्रमा उक्त स्वास्थ्य परीक्षण कक्ष अर्थात् स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा रहेको शैलेश्वरी अस्पतालमा, जोरायल गाउँपालिका–२ स्थित बुडरस्थित छतिवन स्वास्थ्य चौकीमा, आर्दश गाउँपालिका–३ मौवा नगरदहमा रहेको मौवा स्वास्थ्य चौकीमा र जिल्ला अस्पताल डोटीमा कोरोना जोखिम न्यूनीकरणका लागि सहायता कक्ष स्थापना गरिएको छ ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र प्रमुख राजमार्गको मुख्य केन्द्रबिन्दु बुडर बजारमा छतिवन स्वास्थ्य चौकी छ । उक्त स्वास्थ्य चौकीमा कोभिड–१९ को जोखिमबाट सतर्कता अपनाउन २४ घण्टा स्वास्थ्यकर्मीसहितको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको जिल्ला स्वास्थ्य व्यवास्थापन समितिका डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “बुडर सुदूरपश्चिम प्रदेशका पहाडी सातै जिल्लाको सेन्टर प्वाइन्ट भएको र नागरिकको चहलपहल पनि बढी हुने भएकाले बुडरमा पनि कोरोना भाइरस जाँच स्वास्थ्य केन्द्र खोलेका छौँ, भारतबाट आउनेको स्वास्थ्य जाँच गर्दैछौँ ।” जोरायल गाउँपालिकाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय डोटीको सहकार्यमा उक्त स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उक्त स्वास्थ्य परीक्षण कक्षमा भारतबाट आउने नागरिक तथा यात्रुको स्वास्थ्य परीक्षण गरिने भएको छ ।

उक्त कक्षमा चौबिसै घण्टा दुई जना स्वास्थ्यकर्मीले यात्रुलाई कोरोनासम्बन्धी परामर्श प्रदान गर्ने र शङ्का लागेका यात्रुको जाँच गरी बिरामी भएको पुष्टि भए उपचारका लागि सम्बन्धित क्षेत्रमा पठाइने व्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका सबै स्वास्थ्य संस्थामा आइसोलेसन कक्षको व्यवस्था गर्ने, गर्मीको समयमा हुनसक्ने आगलागी, चट्याङजस्ता घटनाबाट बच्न पूर्वतयारी गर्ने, क्वारेन्टाइनका लागि जमीन र भवनको व्यवस्थापन गर्ने, सबै स्थानीय तहमा हेलिप्याडको निर्माण गर्ने, औषधि, खाद्यान्न अभाव हुन नदिन सञ्चय गरेर राख्न उद्योग वाणिज्य सङ्घ र चेम्बर अफ कमर्शलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने, कालोबजारी नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्ने, स्थानीय तहले कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि सचेतनामूलक कार्यक्रम गरिने योजना बनाएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । उता कोभिड–१९ को सङ्क्रमण जिल्लामा नआओस् भन्दै सुदूरपश्चिमको उत्कृष्ट तथा प्रशिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकलसमेत गरिएको छ ।

जिल्लावासी धार्मिक आस्थाप्रति विश्वास राख्ने तथा भगवान्ले भक्तजनको मनोकामना तथा भाकल पूरा गर्ने भएकाले कोरोना भाइरसको सङ्क्रमण जिल्लामा फैलन नदिन शैलेश्वरी मातासँग भाकल गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशङ्कर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना आउन नलिन हामीले शैलेश्वरी मातासँग भाकल गरेका छौँ, सायद सङ्क्रमण हाम्रो जिल्लामा आउने छैन ।” उहाँका अनुसार कोराना भाइरस सङ्क्रमण नहोस् भन्नका लागि आउँदो नयाँ वर्षको वैशाख महिनासम्ममा शैलेश्वरी मन्दिरमा दैनिक क्षमा पूजासमेत गरिनेछ । शेलेश्वरी मन्दिरमा गरिएको भागलका लागि यहाँका स्थानीयतहले पनि सहयोग गर्ने भएका छन् । सुदूरपश्चिम प्रदेशसँग सिमाना जोडिएको छिमेकी मुलुक भारतको उत्तरप्रदेशमा कोरोनाका संक्रमित देखिएपछि उक्त रोग सुदूरपश्चिममा पनि फैलिन सक्ने भन्दै यहाँका स्थानीयमा त्रास फैलिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्