गौशालाका सुकुम्बासी बिचल्लीमा, निर्देशन पालना भएन



०७ चैत २०७६, काठमाडौं

महोत्तरी, गौशाला नगरपालिका– ५ स्थित निगौल गाई गौशालाको अतिक्रमित जग्गाबाट विस्थापित भई घरबारविहीन भएका अहिले जोखिमपूर्णरुपमा जीवन बिताउन बाध्य भएका छन् । भएको फुसको घर र कमाएर पैसाको जोहो गरी लाखौँ रकम खर्चिएर निगौल गाई गौशालाको जग्गामा ठड्याएको पक्की घर डोजरले भत्काएपछि उनीहरुको वियोग भएको छ ।

गत फागुन १८ गते सङ्घीय सरकारका भूमि सुधार व्यवस्था तथा सहकारी एवं गरिबी निवारणमन्त्री पद्ममा आर्यालको उपस्थितिमा यहाँका ३२ वटा घरमाथि डोजर चलाएपछि उनीहरु अहिले खुला आकाशमुनि जीवन बिताउन बाध्य छन् । भत्काउनुपूर्व मन्त्री अर्यालले सम्बन्धित सरोकारवाला निकायलाई तत्काल बन्दोबस्त गर्न दिएको निर्देशन पालना भएको छैन । जसका कारण यहाँका पीडित विचल्लीमा परेका खुला आकाशमुनि दैनिकी गर्दै आएपछि दिनमा टन्टलापुर घामसँग सामना गर्नुपर्ने हुन्छन् भने रातिको समयमा शीतले भिज्नुपर्ने बाध्यता उनीहरुको रहेको छ ।

खुला आकाशमुनि दिनरात बिताएपछि आफूलगायत बालबच्चा पछिल्लो समयमा बिरामीले ग्रसित हुन थालेको बताउनुहुन्छ, स्थानीय ७२ वर्षीया चन्द्रकलादेवी साह । साहले भन्नुभयो, “हातमा पैसा छैन । खानका लागि धौधौ परेको समयमा बालबच्चालाई उपचार गराउनका लागि रकम अभाव भएपछि रोग दबाएर बाँच्नुपर्ने अवस्था छ । के गर्ने सरकारी अस्पतालमा औषधि पाइँदैन । निजीका उपचार गराउने पैसा छैन ।”

दुई वटा छाप्रोको घरमा स परिवार जीवन बिताउने सोच बनाएकी ५४ वर्षीया सुजना हलुवाइको सपनासपनामै सीमित भइयो । उहाँ भन्नुहुन्छ, “सम्पत्तिको नाममा निगौल गाई गौशालाको जग्गामा बनाइएको फुसको दुई वटा घर थियो । त्यो पनि फागुन १८ गते डोजर लगाएर भत्काइयो । अब वियोग भयो ।”

त्यस्तै गौशालाकी ३२ वर्षीया शोभादेवी साहले आफ्नो गुनासो यसरी बताउनुहुन्छ, “आफ्ना परिवारका तीन पुस्ताले निगौल गाई गौशालालाई बचाउनका लागि खटेर जोगाएका छन् । अहिले आफूहरु विपत्को समयमा फर्केर कोही आएका छैनन् । गाईको गोबर स्याहारसुसार मात्र होइन कर्मचारीलाई खुशी पार्नका लागि रति भर कसर बाँकी राखेनौँ तर आज यो दिन देख्न परेको छ । यसभन्दा अपसोंचको कुरा के हुन सक्छ ।”

वर्षौंदेखि बजारको छेउमा चिया पसल सञ्चालनमा अवरोध भएको चन्दन साहको परिवार रातभरि नै खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन् । पसलबाट हुने कमाइले सात जनाको परिवार पाल्दै आएका साहले अगाडि भन्नुभयो, “बुबालाई उपचार गराउने क्रममा गाउँमा भएको सारा सम्पत्ति बेचियो । अहिले सम्पूर्ण परिवार आकाशमुनि बस्न बाध्य छौँ, भरे के खाने होला भन्ने चिन्ताले सताएको छ ।”

निगौल गाई गौशालाको जग्गामा वर्षांैदेखि साइकल पसल गरी जसोतसो घरपरिवार चलाउँदै आएका रुदल पासमानको गुनासो पनि अन्यको भन्दा फरक छैन । रुदल पनि पीडित हुनुहुन्छ । उहाँ पनि खुला आकाशमुनि दिन र रात बिताउन बाध्य हुनुभएको छ । पासवानले दुखेसो पोख्दै अगाडि भन्नुभयो, “घरमा पाँच जनाको परिवार छ । बाबुको क्यान्सर बिरामी भएको समयमा आफ्नो नाममा भएको एक कठ्ठा घडेरी पनि बिक्री गरी जाँच गराए तर बुबालाई बचाउन सकेनौं।”

सार्वजानिक सम्पत्तिलाई कब्जा गर्नेको घर टहरा भत्काएर सरकारले प्रसंशनीय कार्य गरेको छ । अब यिनीहरुलाई पैसाको भरमा नियमविपरीत जग्गा उपलब्ध गराउनेलाई कानूनअनुसारको कारवाही प्रक्रिया बढाउनुपर्ने अत्यन्त आवश्यक रहेको स्थानीय रामनरेश रायले बताउनुभयो । गौशाला नगरपालिकाको अतिक्रमित जग्गा गत वर्ष पनि यसरी नै भत्काएर वाहवाही कमाएपछि सो जग्गालाई संरक्षित गर्न नसकेको जानकारी गराउनुहुँदै स्थानीय श्याम बछारले भन्नुभयो, “अब सो जग्गालाई सरकारले व्यवस्थित एवं संरक्षित गर्नका लागि समयमै ध्यान दिएर अगाडि बढाउनुपर्छ । अनि सरकारले गरेको कामको उपलब्धि एवं वास्तविक सफलता हासिल हुनेछ ।”

अब घरबारविहीन भएकालाई स्थानीय सरकारले तत्कालको गाँस, बास र आवश्यक दैनिकी व्यवस्थापन सहजका लागि कदम उठाउनुपर्ने आवश्यक रहेको बताउनुहुन्छ, गौशाला उद्योग वाणिज्य सङ्घका पूर्वसचिव सुनिलचन्द्र झा । झा अगाडि भन्नुहुन्छ, “आयआर्जन गरिएको सारा सम्पत्ति लगाएर उनीहरु घर सजाउने सपना देखेका थिए । अपसोंच नेपाल सरकारले निर्णयले एकपलमै सखाप पारिदियो अब उनीहरु बेघर भएका छन् ।”

सरकारले सुुकुम्बासीको घरमा डोजर चलाएर मानहानिको काम गरेको समाजवादी पार्टीकी नेतृ रामकुमारी देवी महतो आरोप लगाउनुभयो । महतोले अगाडि भन्नुभयो, “वर्तमान परिवेशमा आफ्ूले व्यक्तिगतरुपमा रकम खर्चिएर उनीहरुको आँखाको आँशु पुछ्ने प्रयास गरेका छौँ । यसमा सम्बन्धित निकायलाई ध्यान दिनु आवश्यक छ ।”

निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख राधेश्याम खनालले भन्नुभयो, “कार्यालयले ३५ दिन अगाडि नै सम्बन्धित व्यक्तिका नाममा सार्वजनिक सूचना जारी गर्दै घरटहरा हटाउनका लागि आग्रह गरेका थिए तर उहाँहरु मान्नु भएन । सरकारले बाध्य भएर घरटहरामाथि डोजर चलाएर अतिक्रमित जग्गालाई आफ्नो मातहतमा ल्याउन सफल भएका छन् ।”

यस सम्बन्धमा गौशाला नगरपालिकाका उपप्रमुख आशा लामाले उनीहरुका लागि निगौल गाई गौशालाको बजारमा रहेको भवनमा सार्ने व्यवस्थापन गर्ने भनिए तापनि प्राविधिक कारणबस हुन नसकेको बताउनुहुन्छ । अबको केही दिनमा आवश्यक छलफल गरी पहलकदमी शुरु गरिने उपप्रमुख लामाले कुराकानीका क्रममा जानकारी दिनुभयो ।

निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख खनालले कार्यालयले उपलब्ध गराएको सटरमा बास बस्नका लागि पीडित बास बस्न नमानेको प्रतिक्रिया दिनुभयो । अब त्यहाँ रहेका तीन जना सुकुम्बासी पीडितलाई स्थायीरुपमा बसोबासको प्रबन्ध मिलाउनका लागि कार्यालय प्रक्रियामा लागिसकेको प्रमुख खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्