पशुपति क्याम्पसमा तालाबन्दी, क्याम्पस प्रशासन सुधारको माग



२१ फागुन २०७६, काठमाडौं

पशुपति क्याम्पसको सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ।

बुधबार (आज) स्नातक दोश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले सहायक क्याम्पस प्रमुखको कार्यकक्षको ढोकामा ध्यानाकर्षण पत्र टाँस्दै तालाबन्दी गरेका हुन्।

उनीहरुले क्याम्पस प्रशासन सुधार, पुस्तकालय व्यवस्थापन, डिजिटल आइडी कार्ड निर्माणलगायतका मागहरु रोखर तालाबन्दी गरेका हुन्। यसभन्दा अगाडि नै क्याम्पस प्रशासनसमक्ष उल्लेखित समस्याहरु राख्दासम्म पनि प्रशासनले नजरअन्दाज गरेको विद्यार्थीहरुले गुनासो गरेका छन्।

“क्याम्पस प्रशासन सुधार, शैक्षिक वातावरण सुधार, पुस्तकालय व्यवस्थापन, डिजिटल आइडी कार्ड निर्माण, कक्षाकोठा नियमित सफा गर्ने, छात्राहरुलाई प्याडको व्यवस्था गर्ने, कर्मचारी र प्राध्यपक समयमा उपस्थित हुनेलगायतका मागहरु क्याम्पस प्रशासनसमक्ष राख्दा पनि पूरा नभएको कारण दोश्रो चरणको आन्दोलनस्वरुप सहायक क्याम्पस प्रमुखको कोठा तालाबन्दी गर्ने निर्णय गर्दछौं।” आन्दोलन समितिका संयोजक सोनाम मोक्तान र सहसंयोजक सिर्जना भण्डारीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ।

यस्तै उनीहरुले आफ्नो माग यथाशिघ्र पूरा नभए अर्को चरणको आन्दोलनको घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्