गोकर्णेश्वरमा ‘देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव’ हुने



०८ माघ २०७६, काठमाडौं

गोकर्णेश्वर नगरपलिकामा ‘देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव’ हुने भएको छ ।

नगरभित्रका क्रियाशिल साहित्यकारहरुको उर्जा, अग्रज साहित्यकारहरुको देन र साहित्यिक संघसंस्थाहरुको योगदानलाई मध्यनजर गर्दै महोत्सव गरिन लागिएको हो । आगामी फागुन १६ गते हुने देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव गोकर्णेश्वर नगरपालिका वडा नं ८ आरुबारी चोकमा हुनेछ ।

कार्यक्रमको सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई साहित्यिक हब बनाउन आवश्यक रहेको बताए । नगरमा सम्पूर्ण साहित्यलाई समेट्न आवश्यक रहेको बताउँदै नगरप्रमुख चालिसेले समयको मध्यनजर गर्दै हामीले यस वर्ष कवितालाई मात्र अगाडी बढाएका हौं ।

नगरप्रमुख चालिसेले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र साहित्यलाई जिवित राख्न कविता महोत्सव गरिएको बताए । आगामी दिनमा नगरले सम्पूर्ण साहित्यलाई अटाउने गरि बृहत कार्यक्रम गर्ने तयारी गरेको समेत उनले बताए ।

गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हुने भएको प्रतियोगितामा देश भरिबाट प्राप्त भएका उत्कृष्ट पाँच कवितालाई प्रथम, द्वितिय, तृतीय गरी दुईजनालाई सान्त्वना सहित क्रमशः नगद रु ५१, ३१, २१, १०/१० हजार दिने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । त्यसैगरी प्रत्येक प्रदेशबाट उत्कृष्ट तीन सहभागीलाई समेत नगद रु ५ हजार दिईने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्