रवि लामिछाने पक्राउ गरी कारवाही प्रकृया अघि बढाइन्छ : प्रहरी प्रमुख मल्ल



३० साउन २०७६, काठमाडौं

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले बताएका छन् । पुडासैनीको शव फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकोले अनुसन्धान अघि बढाएको थियो । र पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा एसपी मल्लले यस्तो बताएका हुन् ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला मल्लले रविसहित तीन जनाविरुद्ध कारवाही थालिएको जानकारी दिएका हुन् । पत्रकार पुडासैनीले भिडियोमा रवि, युवराज कँडेल र ओखलढुंगाकी युवती अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको कुरा भिडियोमा बोलेका छन् । एसपी मल्लले असार २१ देखि नै चितवन प्रहरी यही प्रकरणको अनुसन्धानमा जुटेको बताएका छन् । म यही विषयमा लागि रहेको छु । प्रहरीले रवि लामिछानेलाई सम्पर्क गरिरहेको छ, एसपी मल्लले भने, अब पक्राउ गरी कारवाही प्रकृया अघि बढाइन्छ । म त्यो प्रकृयामा लागिसकेको छु ।

एसपी मल्लले पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो ल्याबमा परीक्षण भइसकेको पनि जानकारी दिए । उनका अनुसार ल्याव परीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ । विधि विज्ञान प्रयोगशालामा गरिएको ल्याव रिपोर्ट पनि आइसकेको छ, मल्लले भने, किटाणी जाहेर आएपछि अब कारवाही प्रक्रिया अघि बढ्छ । यो समाचार थाहा खबरबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्