म्हैपी क्षेत्रमा सिसी क्यामरा



२५ साउन २०७६, काठमाडौँ

काठमाडौँ महानगरपालिका–१६ म्हैपी मन्दिर क्षेत्रमा ३३ सिसी क्यामरा जडान गरिएको छ ।

प्रदेश–३ सरकारको रु ५० लाख आर्थिक सहयोगमा म्हैपी मन्दिर वरपरका ३३ मुख्य मुख्य चोकमा सिसी क्यामरा जडान गरिएको हो । सिसी क्यामरा तथा नवनिर्मित शौचालयको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो ।

महानगरपालिका प्रमुख शाक्यले शान्त र सुरक्षित महानगर निर्माणका लागि सिसी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “सुरक्षित महानगरपालिका बनाउन काठमाडौँँँ महानगरपालिकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नेपाल प्रहरीलाई रु पाँच करोड ८१ लाख आर्थिक सहयोग गरेको छ,”–उहाँले भन्नुभयो ।

प्रमुख शाक्यले महानगरको सबैभन्दा ठूलो १६ नम्बर वडा भएकाले बजेट विनियोजनमा विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । म्हैपी क्षेत्रको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले यसभन्दा पहिला पनि रु एक करोड आर्थिक सहयोग गरेको उहाँको भनाइ थियो ।

प्रदेशसभा सदस्य वसन्त मानन्धरले म्हैपी क्षेत्रको संरक्षणमा चुनौती बढदै गएकाले प्रदेशसरकारले म्हैपी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो ।

“प्रदेश सरकारले मूर्त सम्पदाको साथसाथै अमूर्त संस्कृतिको जर्गेनाको लागि पनि विशेष प्राथमिकता दिएर काम गरिरहेको छ”, उहाँले भन्नुभयो । म्हैपी, नयाँबजार, विष्णुमति पुल, मनाङ गेटलगायतको क्षेत्रमा सिसी क्यामरा जडान गरिएको उहाँको भनाइ थियो ।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले उपत्यकामा बढ्दै गएको अपराध नियन्त्रणका लागि सिसीटिभी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“अपराध पत्ता लगाउन सिसीटिभी भरपर्दो माध्याम बन्दै गएको छ, सिसीटिभी क्यामरा जडानसँगै अपराधमा कमी आउनेछ”, उहाँले भन्नुभयो । सिसीटिभी क्यामराको निरीक्षण भने महानगरीय प्रहरी वृत्त लैनचौरले गर्नेछ ।
वडा अध्यक्ष मुकुन्द रिजालले १६ वडालाई महानगरकै नमूना वडाको रुपमा विकास गर्न जनप्रतिनिधिका हैसियतले आफू लागिरहेको बताउनुभयो । शहरी विकास विज्ञ पद्यसुन्दर जोशीले ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको म्हैपी क्षेत्रको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

प्रदेशसभाबाट विनियोजन भएको बजेटमध्ये रु ३० लाख बराबरले सिसीटिभी जडान र २० लाखले म्हैपी मन्दिर परिसरमा शौचालय निर्माण गरेको म्हैपी संरक्षण तथा व्यवस्थापन समितिका सचिव हिमलाल गिरीले जानकारी दिनुभयो ।

प्रदेशसभाबाट विनियोजित बजेट म्हैपी संरक्षण तथा व्यवस्थापन समिति र म्हैपी टोल सुधारसमिति जनमार्गको नेतृत्वमा कार्यान्वयनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्