सडकमा छोडिएका दुई दर्जन बाच्छाको संरक्षण



०८ जेठ २०७६ काठमाडौं

सडकमा छाडा छोडिएका राष्ट्रिय जनावर गाई बाच्छालाई एकत्रित गरेर खानपिनसहित संरक्षण गर्ने अभियान शुरु भएको छ ।

कागेश्वरी मनोहरा नगरापालिकास्थित त्रिभुवन विमानस्थलको उत्तरतर्फको खुला मैदानमा करीब दुई दर्जन गाई बाच्छा जम्मा गरी संरक्षण शुरु गरिएको हो । यसरी जम्मा गरिएका गाई बाच्छालाई नून पानी खुवाएर आँत रसिलो बनाए पनि ओतको व्यवस्था गर्नका लागि प्रयास भइरहेको जनाइएको छ ।

वाग्मतीको किनारमै घाँसे मैदानसमेत रहेकाले गाई बाच्छालाई चरनको व्यवस्था पनि भएको छ । यसरी जम्मा गरिएका गाई बाच्छालाई स्वतःस्फूर्त रुपमा दाताले खानेकुराको व्यवस्था गर्न थालेका छन् । बिहान सबेरै गोठाटारबाट कृष्णप्रसाद चापागाईं सख्खर बोकेर आउनुभयो । राष्ट्रिय जनावरका रुपमा सम्मान गरिने र लक्ष्मी माताका रुपमा पूजा गरिने गाई बाच्छा सडकमा भौँतारिएर बिजोग अवस्थामा पुगेको थाहा पाएपछि संरक्षणका लागि भएको प्रयासमा आफूले थोरै सहयोग गरेको उहाँले सुनाउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट विनित अर्याल बोराभरि हरिया तरकारी लिएर आउनुभयो । कागेश्वरी मनोहरा नगरपालिकामा फोहरमैला व्यवस्थापनसम्बन्धी काममा संलग्न रहनुभएका रवीन भट्टराई पाँच किलो ढुटो र नूनसहित बाच्छाबाच्छीलाई पानी खुवाउने स्थलमा देखिनुभयो । जेठ १ गतेदेखि अभियानकर्मी नित्य कर्मका रुपमा बाच्छाबाच्छीलाई पानी खुवाउन सक्रिय हुने गरेको यसको नेतृत्व गरिरहनुभएका मानव अधिकारकर्मी उत्तम पुडासैनीले बताउनुभयो ।

“बाच्छाहरु हामीलाई पर्खेर बसिरहेका हुन्छन्, दुई दर्जन बाच्छा आँत भरिने गरी पानी पिउन पाउँदा खुशी देखिन्छन्, यो सेवामुखी कामप्रति मानिसका चासो र चिन्ता पनि बढ्न थालेको छ, वर्षाको समय शुरु हुन लागेकाले यी गाई बाच्छाका लागि बास बनाउनु चुनौतीपूर्ण छ, त्योभन्दा बढी चुनौती त यो समस्याप्रति नीति निर्माताको ध्यानाकर्षण गराउनु आवश्यक बनेको छ”, उहाँले भन्नुभयो ।

गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा अहिले पनि धेरै गाई पालिएका छन् । गाईको बाच्छी जन्मिए घरमै राख्ने र बाच्छा जन्मिए अलि ठूलो भएपछि वाग्मती किनार, खुला सडकलगायत स्थानमा लगेर छोडिदिने समस्या मौलाएको छ । प्राणीको न्यायका पक्षमा नैतिक तथा कानूनी लडाइँ लड्ने सोचसहित अभियानकर्मी जुर्मुराएका छन् ।

बेवारिसे अवस्थामा रहेका राष्ट्रिय जनावरको रक्षामा कुनै सम्झौता नगर्ने अभियानकर्मीको प्रतिबद्धता छ । असारे झरीको सामना गर्नुपूर्व नै कम्तीमा पानी थेग्ने ओतको व्यवस्था गर्ने कामलाई अभियानकर्मीले मूल लक्ष्य बनाएका छन् । हाललाई सरकारी स्वामित्वमा रहेको कुनै पनि जग्गालाई आधार मान्दै अस्थायी आश्रयस्थल निर्माणको सोच अघि बढाइएको छ ।

जेठ १ गते सडकबाट उद्धार गरी ल्याइएको धेरै बाच्छा अशक्त थिए । आठ दिनसम्म खानपिनको व्यवस्थापछि तङ्ग्रिएका छन् । शुरुमा घिच्याएर पानी खाने ठाउँसम्म लैजानुपर्ने अवस्थाबाट अहिले आफैँ जान सक्ने भएका छन् । शरीरमा शक्ति भरिएपछि बाच्छाहरु एकापसमा जुध्न र खेल्न थालेका छन् । विस्तारै प्राण भरिन थालेको अनुभूति हुन थालेको शुरुको दिनदेखि बाच्छाको हेरचाहमा लागेका अभियानकर्मी बताउँछन् ।

आश्रयस्थल निर्माणका लागि सहयोगी हातहरु पनि जुर्मुराउन थालेका छन् । बाच्छाबाच्छीका लागि ३२ केजी मकैकोे पीठोको व्यवस्थासहित आउनुभएका स्थानीय शम्भु पुडासैनी राष्ट्रिय जनावर भनी सम्मान गरिने र गौमाताका रुपमा पूजा गर्नेले पनि सडकमा बाच्छा छोड्ने गरेको आफ्ना आँखाले देखेको सुनाउनुहुन्छ । गाईको दूध खाने तर बाच्छालाई सडकमा छोडेर बेवारिसे बनाइरहेको हेर्दा मानिसमा मानवीय संवेदना हराउन थालेको अनुभव हुन लागेको उहाँले बताउनुभयो ।

यसका लागि कानूनी व्यवस्था नै गर्नुपर्ने अभियानकर्मीको माग छ । गाई बाच्छा संरक्षण अभियानले यसअघि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै खुला ठाउँमा लगेर छोड्ने काम बन्द गराउन कानूनी एवं नीतिगत व्यवस्था गर्न माग गरेका थिए तर दुवै नगरपालिकाले बेवास्ता गरेका छन् ।

गाउँ ठाउँमा पुगेका स्थानीय सरकारले नसुने पनि सहयोग गर्न चाहनेको सङ्ख्या थपिँदै गएको छ । जन्मदिनलगायत विशेष समारोहका बेला मानिस गाई बाच्छाका लागि केही लिएर आउन थालेका छन् । गाई बाच्छाका लागि पानी खुवाउने काममा पनि स्वयंसेवी सक्रिय हुन थालेका छन् ।

त्रिभुवन विमानस्थल निर्माण हुनुअघि गौचरणका रुपमा रहेको चौरमा हजारौँ गाई चर्थे । पशुपतिनाथको गुठीका रुपमा रहेको सो जग्गामा विमानस्थल बनेसँगै गाई चर्ने चरणको अभाव भयो । त्यसपछि मानिसले घरमै बाँधेर वा साना चरणमा चराउन थाले । यता कालोपुलसँगैको सानो गौचरणमा पनि खेलमैदान बन्यो ।

मानिसले आफूले उपयोग गरिरहेको स्थान कसैले अतिक्रमण गरे विरोध गर्छन् तर यी अबोध प्राणीका पक्षमा बोलिदिने कसले भन्ने प्रश्न जीवन्त बन्न थालेको छ । बाच्छा संरक्षण अभियानले भने जुनसुकै स्थानमा छाडा छोडिएका बाच्छा गोठाटारस्थित संरक्षण स्थलमा पु¥याइदिए, त्यसका लागि सकेको गर्ने वाचा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्