विश्वको सर्वोच्च शिखर सगरमाथालाई कति पटक नापियो ?



०४ बैशाख २०७६, काठमाडौं

विश्वको सर्वोच्च शिखर भएकाले सगरमाथालाई संसारले नै चासोका साथ हेरेको छ । यसको आधिकारिक उचाइ मापनको काम भारत, अमेरिकालगायतको विभिन्न राष्ट्रले गरे पनि फरक/फरक रिपोर्ट सार्वजनिक भएका छन् ।

नापी विभागका अनुसार सन् १८५२ मा पहिलोपटक ब्रिटिसले सगरमाथाको उचाइ नापेका थिए । नेपालमा नआई सर्भे अफ इण्डियाबाट नापेका ब्रिटिसले आठ हजार ८४० मिटर उचाइको हिमाल रहेको बताएका थिए ।

ब्रिटिसहरुले नै सन् १९०४ मा पुनः नापेको बताइन्छ । सन् १९५४ मा भारतीय नापी विभागको टोलीले आठ हजार ८४८ मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेको थियो । सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ आठ हजार ८५० मिटर रहेको दाबी गरेको थियो ।

यस्तै नर्वे, अमेरिका र चिनियाँ संस्थाले पनि सगरमाथाको उचाइ नापेको बताइन्छ । उनीहरुले नाप्दा फरक/फरक समयमा फरक/फरक रिपोर्ट सार्वजनिक गरेका थिए ।

नेपालले भने अहिलेसम्म आठ हजार ८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ । अब नेपाली टोलीले यसको उचाइ मापन गरी नेपाल सरकारकारलाई बुझाएको प्रतिवेदन नै आधिकारिक हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्