सगरमाथा उचाइ नाप्ने टोली दिङ्बोचेमा



०४ बैशाख २०७६, सोलुखुम्बु

सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ । चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो । नेपाल सरकारले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य गरिरहेको छ । सो कार्यका लागि चार जनाको मापन टोली खुम्बु पुगेको नापी विभागका नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिनुभयो ।

टोली प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल तेञ्जिङ हिलारी विमानस्थल हुँदै आज लबुचे पुग्नेछन् । उनीहरुसँगै नेपाल माउण्टेन एकेडमीका प्रशिक्षक छिरिङ जाङ्बु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न गएको विभागले जनाएको छ ।उक्त टोलीले आमादब्लम हिमालको पनि आरोहण गर्ने बताइएको छ । नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार टोलीमा रहेका दुईजना सगरमाथा आधारशिविरमा बसेर समन्वय गर्ने र दुईजना सगरमाथाको चुचुरोसम्म पुगेर काम गर्नेछन्।

टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा एक कार्यक्रमकाबीच चैत २७ गते बुधबार बिदाई गर्नुभएको थियो । सगरमाथाको उचाइ मापनको सम्पूर्ण काम सन् २०१९ मा सम्पन्न गरी आधिकारीक उचाइ सार्वजनिक गरिने नापी विभागले जनाएको छ । नापी विभागले अहिलेसम्म सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम गरिसकेको छ । यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डङ्गोलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्