‘मासु भात’ को टिजर सार्वजनिक (भिडियो सहित)



०१ बैशाख २०७६, काठमाडौं

अफस्क्रिन जोडी अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘मासु भात’ को टिजर सार्वजनिक भएको छ ।

यसअघि सार्वजनिक हुँदै आएका फिल्मका टिजरभन्दा यो केही पृथक छ । सौगातलाई कैदी र सृष्टिलाई पुलिसको भूमिकामा देखाइएको टिजरमा साहित्यकार कुमार नगरकोटीले वाचन गरेको मर्मस्पर्शी कविता पृष्ठभूमीमा सुन्न सकिन्छ ।

१ मिनेट १५ सेकेण्ड छोटो टिजरमा जेलभित्र सौगात मौन देखिएका छन् । भने, पुलिसको बर्दीमा सृष्टि पत्रमा लेखिएका कुराहरु पढ्दै देखिएकी छन् । दुईबाहेक टिजरमा अरुलाई स्थान दिइएको छैन । न त कसैले संवाद नै बोलेका छन् । टिजरले फिल्मप्रति दर्शकमा उत्सुकता जगाउने देखिन्छ । सञ्जिव कुमार न्यौपाने निर्देशित यस फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

फिल्मको कथा लेखक न्यौपाने स्वयंले लेखेका हुन् । सौगात र सृष्टिका अलावा फिल्ममा पुर्णिमा तामाङ, रेअर राईलगायतका कलाकारहरुको पनि अभिनय छ । यसअघि फिल्म लालपूर्जाु मा सौगात र सृष्टिले काम गरेको भए पनि स्क्रिन साझेदारी गर्न पाएका थिएनन् । ‘मासु भात’ मा उनीहरुको जोडी बाँधिएको छ । यसको पटकथा प्रशान्त रसाइलीले लेखेका हुन् ।

दुर्गम गाउँकी बालिकालाई मानव तस्करले वेश्यावृत्तिमा लगाएको र पछि बालिकाको अंग बेच्ने प्रयास भएपछि त्यस बालिकाले गर्ने संघर्षसँगै बेपत्ता बहिनीको खोजीमा रहेको दाईको भुक्तभोगाइमा ‘मासु भात’ आधारित छ ।

बेचिएकी बहिनीको दाईको भूमिका सौगातले निभाएका छन् । उनी यस फिल्मबाट पहिलो पटक निर्माताको रुपमा पनि आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्