दक्षिण कोरियामा पूर्व प्रधान न्यायाधीशमाथि शक्तिको दुरुपयोग गरेको आरोप



२८ माघ २०७५, सियोल

 दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उहाँ विरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ ।

सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश दिएको थियो । अभियोजन अधिकारीहरुले याङ विरुद्ध आठ महिनादेखि छानबिन गरिरहेको बताइएको छ ।

अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतका अरु दुई जना अवकाशप्राप्त न्यायाधीशहरु पार्क बायाङ–डाई र को योङ–हान का विरुद्ध समेत अभियोग लगाएका छन् । उनीहरुलाई भने प्रहरी थुनामा राखिएको छैन ।

प्रधान न्यायाधीश याङमाथि मुख्यतः पूर्व राष्ट्रपति पार्क गिउन–हे को सरकारमाथि जानाजान छुटहरू दिएको आरोप छ । उहाँ सन् २०११ देखि २०१७ सम्म दक्षिण कोरियाको प्रधान न्यायाधीश हुनुहुन्थ्यो ।

दक्षिण कोरियाको न्यायिक इतिहासमै पक्राउ पर्ने याङ पहिलो वरिष्ट न्यायाधीश हुनुहुन्छ । उहाँमाथि अब फौजदारी अभियोगमा सुनुवाई हुनेछ ।

अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतमा रहेको राष्ट्रिय अदालत प्रशासन (एनसीए) को प्रयोग गरी याङले पूर्व राष्ट्रपतिका पक्षमा महत्वपूर्ण राजनीतिक प्रकृतिका मुद्दाहरुको सुनुवाईमा प्रभाव पार्ने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्