सभामुखद्वारा सांसदको स्वास्थ्य स्थितिबारे जानकारी



२६ माघ २०७५, काठमाडौं

सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते हुनुभएका ५ नं प्रदेशसभा सदस्य उत्तरकुमार वलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सभामुखले आज बिहान भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर सघन उपचार कक्षमा उपचार गराइरहनुभएका सांसद वलीको स्वास्थ्यस्थितिबारे उहाँको उपचारमा संलग्न चिकित्सकबाट जानकारी लिनुभएको हो ।

सांसद वली गम्भीर घाइते भएपनि अब खतरामुक्त रहेको जानकारी चिकित्सकले दिएका सभामुखको सचिवालयले जनाएको छ । उहाँले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभएको थियो ।

आजै नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले पनि उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित प्रदेश सांसद वली बिहीबार बेलुका घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्