जाडो जस्तै बढेको भक्का व्यापार : पिडा र आम्दानी उस्तै !



०९ माघ २०७५, इटहरी

मध्य माघको चिसो मौसम, त्यस सँगसँगै बिहान बिहानै इटहरीका सडक किनारमा लाग्ने भक्काको व्यापार ! यसले इटहरीका मुख्य राजमार्ग र भित्री सडकका किनारमा निकै चहलपहल हुन्छ । तराईका आदिवासी मानीने थारु समुदायले खाजाका रूपमा प्रयोग गर्ने भक्का आजभोलि धेरैको घरको चुल्हो बाल्ने माध्यम बन्दै गएको छ । चामलको पिठोबाट बनाइने र जाडो समयमा न्यानो पना दिने भक्का तराईको स्थानीय खाजा हो । स्थानीय रूपमै चामल कुटी त्यसको पिठोबाट भक्का तयार गरिन्छ ।

तराईको मुटु कम्ने जाडो र बिहान सबेरै सुरु हुने सहरी जीवन, कलेज जान्ने विद्यार्थी, देखी मड्निङ्ग वाक जाने सम्म भक्का पाक्दै गरेको ठाउँमा पुग्ने गर्दा पनि तराइका सडक किनारमा लाग्ने उक्त व्यापार पनि निक्कै फस्टाएको देखिन्छ । कतिपय भक्कावालीले त भक्का बेचेकै भरमा घर व्यवहार धानिरहेको बताउँछन् ।

मुख्यतया मङ्सिर देखी फागुन बिचका ४ महिनामा महिना चल्ने व्यापार चलाउने महिलाहरू व्यापारबाट के कति आम्दानी हुन्छ भनेर हिसाब नराखेपनि घरपरिवार चलाइरहेको उनिहरु वताउछन् । ‘जाडोको मौसम भरी म भक्का बेच्छु ।’ इटहरी चौकमा भेटिएकी रेखा शर्माले भनिन् ‘५ जनाको परिवार फुटपाथको व्यापारले नै धानेको छौ, तिन जना ननिलाई पढाउन र घर खर्च यसैबाट चल्छ ।’

परम्परागत खानाका रूपमा भक्कालाई लिईन्छ । पर्यटक स्तरका होटेल देखी सामान्य चिया पसल समेत रहेको इटहरीमा भक्का भने कसैले राखेको पाईदैन । तर सडकका किनारमा भक्का बेच्दै आएका व्यापारी महिला भने हाल आधुनिक बन्दै गएका छन् । कुनै समय बिहान ३ बजे देखी नै उठेर पिठो कुट्न थाल्ने इटहरीकी पुणी चौधरी आज भोलि पिठो कुट्न मेसिनको प्रयोग गछीन् । ‘पैला बिहान ३ बजेबाट पिठो कुट्थे , थोरै पिठो ल्याउँदा व्यापार समेत थोरैको हुन्थ्यो ।’ चौधरीले भनिन् ‘आजभोलि मेसिनमा लगेर पिठो पिस्छु, ज्यानलाई पनि सुख, धेरैको व्यापार पनि भएको छ ।’  चौधरीका अनुसार दैनिक साँझ र बिहान गरी एक हजार भन्दा धेरैको भक्का बिक्री हुने गरेको छ ।

उसो त परम्परागत र स्थानीय खानामा मानिसको चाहाना बढ्दै जाँदा पनि यसको व्यापार फस्टाएको हो । परम्परागत प्रविधि र त्यही सामानबाट बनाइने खानामा केमिकल र शरीरलाई हानी गर्ने तत्त्व हुँदैन त्यसैले पनि स्थानीय खाना बेच्नेको व्यापार राम्रै चलिरहेको छ । बिहान ‘मर्नीङ वाक’मा निस्किएका इटहरीका ध्रुव अधिकारी अन्य खाजाको सट््टा भक्का खोजेरै खाने गरेको बताउँछन् । ‘इटहरीमा अन्य ‘जङ्ग फुड’ पाइने होटेल धेरै छन् तर त्यसले शरीरलाई असर धेरै गर्छ ।’ अधिकारीले भने ‘ग्यास्ट्रीकको रोगी, यसले धरै राम्रो गर्दो रहेछ, त्यसैले बिहानको खाजा नै भक्का भएको छ ।’ खान समेत स्वादिलो हुँदा भक्कालाई सधैँ पाइने खाजाका रूपमा लैजान सकिने उनको भनाई छ ।

तर फुटपाथमा गरिने यापारको आम्दानी आकर्षक देखीएपनि यसलाई सञ्चालन गर्दाका कष्ट अनेक छन् । व्यवस्थित सहर बन्न नसकेको इटहरीका धुलाम्मे सडकले धरै भक्कावालिहरुको श्वासप्रश्वासमा समस्या ल्याउने गरेको छ । ‘व्यापार त हुन्छ ।’ इटहरीमा भक्का बेच्दै भेटिएकी अखी ताजपुरीया भन्छिन् ‘धुलोले हालो राती सास फेर्न नै गाह्रो हुन्छ, कतिपय ग्राहक धुलो कै कारण किन्न हिचकिचाउनु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्