कृषि र पर्यटनलाई नगरको विकासमा प्रयोग गर्न सुझाव



२८ पुष २०७५, दमौली

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले कृषि र पर्यटनलाई नगरपालिकाको विकासको प्रमुख माध्यम बनाउन आग्रह गर्नुभएको छ ।

तनहुँको भानु नगरपालिकाले दीर्घकालीन योजना निर्धारण र रणनीतिक योजना तर्जुमाका लागि आज आयोजना गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भानु नगरपालिकामा कृषि र पर्यटनको प्रचूर सम्भावना रहेकाले त्यसलाई नगर विकासको प्रमुख माध्यम बनाउन जोड दिनुभयो । आदिकवि भानुभक्त आचार्यको जन्मथलोका रुपमा परिचित रहेको भानु नगरपालिकाले साहित्यिक पर्यटनलाई समेत ध्यानमा राखि योजना बनाउनुपर्ने बताउनुभयो । “योजना बनाएर मात्रै हुँदैन, सही कार्यान्वयनमा समेत जोड दिनुपर्छ,” उहाँले भन्नुभयो ।

प्रदेशसभा सदस्य कृष्णकुमार श्रेष्ठले धार्मिक पर्यटन, साहित्यिक पर्यटन र कृषिलाई केन्द्रबिन्दुमा राखि नगरपालिकाले दीर्घकालीन योजना बनाउनुपर्ने बताउनुभयो । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नगरपालिकाको बृहत्तर विकासका लागि योजनाबद्ध ढङ्गले अगाडि बढ्न २० वर्षे योजना निर्माण गर्न लागिएको बताउनुभयो । भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले नगरवासी सबैले अपनत्व स्वीकार गर्ने गरी सबैको सहभागितामा योजना निर्माण गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्