राष्ट्रिय पुस्तक नीति बनाउन पहल गर्छु : अध्यक्ष दाहाल



२८ पुष २०७५, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताउनुभएको छ ।

पुस्तक प्रकाशन, छपाइ, वितरण तथा अध्ययनका लागि समेत एउटा फराकिलो सोचसहितको नीति जरुरी रहेको बताउनुभयो । त्यसका लागि राज्यले नै विशेष पहल गर्नुपर्दछ । विगतमा पनि त्यस्तो नीति ल्याउने प्रयास भएको भए पनि सार्थकता नपाएको अवस्था थियो । अब भने एकीकृत नीति बनाउन मेरोतर्फबाट पहल हुन्छ । सरकारले आवश्यक नीतिको तयारी गर्दछ अध्यक्ष दाहालले भन्नुभयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले पुस्तक कसरी छाप्ने, कसरी वितरण गर्ने स्म्बन्धमा एकीकृत र केन्द्रित नीति हुनु राज्यको सर्वाधिक चासोको विषय बन्नुपर्ने बताउनुभयो ।

पुस्तक आयात गर्दा भन्सार शुल्क तिर्नु नपर्ने भए पनि छपाईका सामग्री आयात गर्दा बढी कर तिर्नुपर्ने अवस्था रहेकोतर्फ आफ्नो ध्यानाकर्षण भएको छ भन्नुभयो ।

विगतमा भृकुटी कागज कारखानाले पुस्तक छपाइका लागि आवश्यक पर्ने सामग्रीको उत्पादन गर्ने गरेको तथ्य पेश गर्नुहुँदै उहाँले सो कारखानाको निजीकरण पछि पुस्तक तथा स्टेशनरी व्यवसायमा समस्या आएको र परनिर्भताको दिशामा गएको हो भन्नुभयो ।

निजी क्षेत्रलाई प्रोत्साहन नगरिकन आर्थिक समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने भन्दै उहाँले भन्नुभयो, “बिरालो सेतो होस् कि कालो त्यसले कुनै अर्थ राख्दैन, मुख्य विषय त्यसले मुसा मार्छ कि मार्दैन भन्नेतर्फ हेर्नुपर्दछ ।” निजी क्षेत्रलाई प्रोत्साहन र सहकार्य नगरिकन समृद्धि सम्भव नभएकाले पनि राज्यले लिएको सार्वजनिक, निजी, सहकारीलाई समानरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

जनताले कम्युनिष्ट, काङ्ग्रेस भनेर नछुट्याउने भएकाले विकास, समृद्धि दियो कि दिएन र आफ्नो जीवनमा सकारात्मक परिवर्तन भयो कि भएन भन्ने आधारमा सरकार र पार्टीको मूल्याङ्कन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पठन संस्कृतिको विकास र विस्तारमा पुस्तक व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रको विकास र विस्तारका लागि आफ्नो पार्टीले विगतदेखि नै सकारात्मक प्रयास गरेको भन्दै आगामी दिनमा पनि त्यस्तो प्रयास कायम रहिरहने उल्लेख गर्नुभयो ।

आइतबारसम्म चल्ने अधिवेशनले महासङ्घको नयाँ नेतृत्व चयन गर्दै काठमाडौँ घोषणापत्रसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्