एभरेष्ट प्रिमियर लिग : चितवनद्वारा विराटनगर पराजित



२८ मंसिर २०७५, काठमाडौं

सााबिक च्याम्पियन विराटनगर वारियर्स प्रतियोगितामा दोस्रो हारको सिकार भएको छ । चितवनले भने प्रतियोगितामा पहिलो जित निकाल्यो । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० अन्तर्गत शुक्रबार भएको खेलमा विराटनगरमाथि चितवनले ५ रनको रोमाञ्चक जित निकाल्यो ।

टियु क्रिकेट मैदानमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवनले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको पारस खड्काको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबर हायतले सर्वाधिक ९० रनको अर्धशतकीय इनिङस खेलेपनि टिमको हार टार्न सकेनन् । आक्रामक ब्याटिङ गरेका बाबरले ४२ बलमा ८ छक्का र ५ चौका प्रहार गरे । यस्तै, करण केसी २४ रनमा अविजित रहँदा आसिफ शेखले ३० रन बनाए। कप्तान पारस खड्काले १९ रन जोड्दा अनीलकुमार साहले १२ रन जोडे । चितवनका प्लेयर अफ दी म्याच बनेका ललित सिंह भण्डारीले ४ विकेट लिए ।

यस्तै सागर ढकालले ३ विकेट लिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । चितवनका लागि इंग्लिस ब्याट्सम्यान जोन सिमप्सनले ७८ रनको अर्धशतकीय इनिङस खेले । यस्तै दिपेन्द्र सिंह ऐरीले ३२ रन जोड्दा ओपनर सन्दीप सुनारले ३० रन बनाए । त्यस्तै, जर्ज स्कट २४ रनमा अविजित रहदा पाउल स्टर्लिङले १५ रन जोड ।

विराटनगरका लागि करण केसी, बसन्त रेग्मी, पारस खड्का र भान मिकरनले समान एक एक विकेट लिए। जितसँगै चितवनले ४ खेलबाट २ अंक जोडेको छ । जितपछि अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको चितवनले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।विराटनगरको पनि प्ले अफ सम्भावना कायम रहेको छ। विराटनगरले ४ खेलबाट ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्