विपद् व्यवस्थापनमा सहयोगका लागि आग्रह



 ०४ मंसिर २०७५, काठमाडौं

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री थापाले सुरक्षाकर्मीलाई तालीम र विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीमा सहयोगका लागि राजदूतसँग आग्रह गर्नुभयो । नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय रहेको भन्दै गृहमन्त्री थापाले नेपालको जलविद्युत्, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरीदिन राजदूत लेजेलाई आग्रह गर्नुभयो ।

उहाँले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दैे आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्री थापाले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा जाने नेपाली केही सुरक्षाकर्मीलाई फ्रान्सले फ्रान्सेली भाषा सिकाउन गरेको सहयोगप्रति राजदूतमार्फत फ्रान्स सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । राजदूत लेजेले केही समयअघि नेपाल र फ्रान्सका सांसद रहेको समूह निर्माण भएको बताउँदै यसले दुई देशबीच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा वर्षेनी ३० हजार बढी फ्रान्सेली पर्यटक नेपाल भ्रमणमा आउने गरेको र उनीहरुको सुरक्षाबारे चासो राख्दै राजदूत लेजेले हालसम्म नेपालले फ्रान्सेली पर्यटकलाई दिँदै आएको सुरक्षाबाट आफूहरु सन्तुष्ट रहेको बताउनुभयो । विपद् व्यवस्थापन लगायतका अन्यक्षेत्रमा नेपाललाई सहयोग गर्न आफूहरु तयार रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्