तीन स्रष्टा सम्मानित



२८ कार्तिक २०७५, वालिङ

नेपाली साहित्यमा योगदान दिएका तीन स्रष्टालाई मङ्गलबार सम्मानित गरिएको छ ।

स्थानेश्वर राष्ट्रिय प्रतिभा पुरस्कारबाट कलाकार देवेन्द्र थुम्केलीलाई सम्मानित हुनुभएको छ । दुई दशकदेखि  चित्रकलाका माध्यमबाट राष्ट्रको गौरव र कलाको श्रीवृद्धि गरेको भन्दै थुम्केलीलाई रु ११ हजार १११, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

त्यस्तै भेषजविन्दु साहित्य पुरस्कारबाट साहित्कार देवेन्द्र लम्साल सम्मानित हुनुभएको छ । लम्साललाई रु पाँच हजार ५५५, दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरिएको हो । ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका लम्सालका ‘ज्याग्दी र म’ खण्डकाव्य, ‘ज्याग्दीखोलाको किनारमा बल्छी खेलेर’ कविता सङ्ग्रह, ‘अभिशप्त प्रेम’ कथा सङ्ग्रह, ‘पेनाल’ महाकाव्यजस्ता कृति प्रकाशित छन् । उहाँले साहित्यिक पत्रिका लाँकुरी, मधुमालती र ज्याग्दीखोलाको तरङ्गको सम्पादनसमेत गर्दैआउनु भएको छ ।

यस्तै भेषजराज साहित्य सम्मानबाट साहित्यकार सूर्यप्रसाद डुम्रे सम्मानित हुनुभएको छ । जगत्रदेवी साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका डुम्रेलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । डुम्रेका ‘दुई थोपा आँसु’, ‘दशैँ गयो रोएरै’ ‘कालीगङ्गाको तिरैतिर’ जस्ता सङ्ग्रह प्रकाशित छन् । उहाँ बागेश्वरी साहित्यिक पत्रिकाको सम्पादनमार्फत् साहित्यका क्षेत्रका निरन्तर लागिरहनुभएको छ । गण्डकी प्रदेशका विद्यायन समितिका सभापति मोहनप्रसाद रेग्मीले तीनै स्रष्टालाई सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो । सो अवसरमा विभिन्न स्रष्टाले आ–आफ्ना रचना वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्