गाउँले, अज्ञात र पन्तलाई आजीवन सदस्यता



०३ साउन २०७५, काठमाडौं

२०५ औँ भानु जयन्ती तथा आफ्नो छैठौँ वार्षिक उत्सवको अवसर पारेर नेपाली वाङ्मय परिषद्ले काठमाडौँमा एक भव्य समारोहको आयोजना गरेको छ ।

उक्त अवसरमा परिषद्ले कवि कविता राई गाउँले, गीत तथा गजलकार वसन्तराज अज्ञात र कवि तथा समाजसेवी सरस्वती पन्त भट्टराईलाई आजीवन सदस्यता समेत प्रदान गर्यो ।

समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र परिषद्का अध्यक्ष शशी लुमुम्बूले स्रष्टा त्रयलाई फूलमाला, खादा र ताम्रपत्र समर्पण गरी सम्मानित गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभाग प्रमुख प्रा.डा. उषा ठाकुर, आख्यान विभाग प्रमुख मातृका पोखरेल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नारद हार्तम्छालीको पनि उपस्थिति रहेको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको सहयोगमा आयोजित उक्त कार्यक्रममा सिलगुढीका कवि तथा समीक्षक सुकराज दियालीले दार्जिलिङमा नेपाली कविताको स्थितिबारे संक्षेपमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।

त्यसलगत्तै भएको कविगोष्ठीमा सिक्किमका कवि वीरु बाङ्देल, दार्जिलिङ, मिरिक तथा सिलगुडीबाट आएका कविहरु रन्जित गुरुङ, महेन्द्र स्याङ्बो, मनोहर शर्मा, सुरज रोसरी र शरदकुमार क्षेत्रीले कविता सुनाएका थिए ।

त्यसै गरी नेपालका कविहरु देवकी अभिलाषी, सुनिता खनाल र बिना थिङ तामाङले आ–आफ्ना कविता पाठ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्