टोखा नगरपालिकाको आ.व. ०७५/७६ को नीति कार्यक्रम प्रस्तुत (फोटो फिचर)



१० असार २०७५, काठमाडौं

टोखा नगरपालिकाको तेश्रो नगर सभा गोधुली फुडल्याण्ड, बसुन्धरामा नगरप्रमुख प्रकाश अधिकारीले आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

 

प्रमुख अतिथि उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पानसमा दीप प्रज्जवलन गरी उद्घाटन गरिएको कार्यक्रममा अतिथिहरुमा संघिय सांसद भीमसेन दास प्रधान, ३ नं. प्रदेशका आर्थिक तथा भौतिक पूर्वाधार मन्त्री केशव स्थापित, प्रदेश सांसद दीपक निरौला, योगेन्द्र संग्रौला रहेका थिए ।

६ वटा मुख्य विषय समेटिएको नीति तथा कार्यक्रममा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, वित्तिय व्यवस्थापन र सुशासनका विषयहरु समेटिएका छन् ।

आर्थिक विकासमा कृषि तथा पशु सेवा, पर्यटन क्षेत्र विकास, सहकारी  उद्योग तथा वाणिज्यलाई समेटिएको छ । कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्न मेयर उत्कृष्ट कृषक सम्मान कार्यक्रम र घरेलु तथा साना उद्योगको विकास गर्न १ वडा १ उत्पादन/पहिचान कार्यक्रम लागु गर्ने जनाईएको छ ।

सामाजिक विकासमा शिक्षा, लैङ्गिक समानता र सामाजिक समावेशीकरण युवा तथा खेलकुद, स्वास्थ्य, संस्कृति प्रवद्र्धन, खानेपानी तथा सरसफाई र सरकारी तथा गैरसरकारी निकायको समन्वय र व्यवस्थापन समेटिएका छन् । गुणस्तरीय तथा सवैको लागि शिक्षा भन्ने नाराका साथ १ वडा १ सामुदायिक विद्यालय स्थापनाको योजना समेत नगरले बनाएको छ । स्थापित सामुदायिक विद्यालयलाई हाम्रो वालवालिका हाम्रो भविष्य भन्ने मूल्य मान्यतालाई आत्मसात गर्दै वालमैत्रीनगर घोषणा गर्ने पनि उल्लेख गरिएको छ ।

वडा नं. २ र ३ को प्राचीन वस्तीलाई व्यवस्थित गरी टोखा सांस्कृतिक संरक्षण क्षेत्र घोषणा गरिनेछ । हामी सवैको एउटै रहर, स्वच्छ सफा टोखा नगरको अभियानलाई सार्थकता तुल्याउन सरसफाई समेतमा विशेष ध्यान दिने नीतिमा उल्लेख गरिएको छ ।

१ वडा १ विपत सुरक्षित स्थल निर्माण गर्ने योजना बनाएको नगरले १ वडा १ उद्यान नीतिलाई समेत लागु गर्ने जनाएको छ । १ व्यक्ति १ फलफूलको विरुवा अभियान सार्थक बनाउन घरभित्रको फोहोर घरभित्र नै व्यवस्थापन गर्न कम्पोष्ट विन उपलब्ध गराई कम्पोष्ट मल बनाउन अभिप्रेरित गर्ने नीतिमा उल्लेख छ ।

मैले तिर्ने कर मेरै नगर विकासका लागि भन्ने अभियान संचालन गरी करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन आ.व. ०७५/७६ लाई टोखा नगर कर अभियान वर्षको रुपमा मनाईने समेत नीतिमा समेटिएको छ ।

नगर उप–प्रमुख ज्ञानमाया डंंगोलले स्वागत गरेको कार्यक्रममा सवै वडाका वडाध्यक्ष, वडासदस्यहरु लगायत स्थानीय समाजसेवीहरुको वाक्लो उपस्थिती रहेको थियो ।

        

प्रतिक्रिया दिनुहोस्