विश्वकप र खेलाडीको सेक्स लत



१० असार २०७५, काठमाडौं

सन् १९५८ मा स्विडेनमा भएको छैटौँ विश्वकपमा आफ्ना खेलाडीको ध्यान युवतीतर्फ केन्द्रित हुन सक्ने चिन्ता ब्राजिलका प्रशिक्षकको थियो । खेल अवधिभर खेलाडीको कुनै महिलासँग लसपस नहोस् भनेर उनीहरू बस्ने होटेलका युवतीलाई केही दिन अलग्गै स्थानमा राखिएको थियो । गत आइतबार विश्व च्याम्पियन जर्मनीलाई मेक्सिकोले पराजित गरेपछि मेक्सिकोका कोच जुआन कार्लोस ओसोरिओले आफ्नो समूह जितका लागि योग्य भएको भन्दै फुटबल टिमको मुक्तकण्ठले प्रशंसा गरे । विश्वकपका लागि रसिया आउनुपूर्व मेक्सिकोको फुटबल टोलीले स्वदेशमा खेलप्रेमीको खासै मन जितेको थिएन । बरु, आममानिसका माझ बदनाम बनेको थियो । एक महिनाअघि मात्र मेक्सिकोका राष्ट्रिय खेलाडी यौन स्क्यान्डलमा मुछिएका थिए ।

गसिप म्यागेजिन टिभी नोटासका अनुसार राष्ट्रिय टिमका ८ खेलाडीलाई इस्कर्टिङ गरेर मेक्सिको सिटीको एउटा सेक्स पार्टीमा सहभागी गराइएको थियो । विश्वकप प्रतियोगिताको पूर्वसन्ध्यामा भएको सो घटनाले धेरै फुटबलप्रेमीलाई दुखित बनायो । मेक्सिकोका खेलाडी फुटबलभन्दा पनि विपरीत लिंगीप्रति बढी रुचि राख्छन् भन्ने धारणालाई बल पुग्यो । ‘यौन स्क्यान्डलपछि खेलाडी आलोचित छन्,’ मेक्सिकोको खेलसम्बन्धी टेलिभिजन च्यानल टेलिभिसा डिर्पोटिजका पत्रकार अलोन्सो कार्बल भन्छन्।

यौन पार्टीमा पोर्चुगल स्पोर्ट क्लबका मिडफिल्डर हेक्टर हेरेरा, मेक्सिकोका स्ट्राइकर राउल जिमिनेज र मेक्सिकोकै स्ट्राइकर जिओभानी डस सान्तोसलगायत खेलाडी सहभागी थिए । उनीहरूले २४ घन्टासम्म युवतीसँग रोमान्स गरे । स्क्यान्डल सार्वजनिक भएपछि त्यसमा संलग्न खेलाडीलाई विश्वकपबाट वञ्चित गर्नुपर्ने आवाज उठेको थियो । तर, खेलाडीमाथि सजाय हुनुको सट्टा मेक्सिको फुटबल महासंघले उनीहरूको ‘स्वतन्त्रता’को बचाउ गर्दै खेलाडी चोख्याउने प्रयास ग-यो।

मस्को पुग्ने वेलासम्म मेक्सिको खेलाडीको समूह आलोचित थियो । तर, मेक्सिको साविक विजेता जर्मनीलाई १–० ले हराउँदै उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । एक महिनाअघि विवादमा तानिएका उनै खेलाडी सञ्चारमाध्यममा नायक बने । स्ट्राइकर हिर्भिङ लोजानाको जादुको चर्चाले स्क्यान्डल ओझेलमा प-यो ।

०००
यस घटनाले विभिन्न अनुत्तरित प्रश्न खडा गरेको छ । विश्वकपजस्ता ठूला प्रतियोगितामा आफ्नो कौशलता प्रदर्शन गर्नुअघि खेलाडीलाई सेक्स कत्तिको आवश्यक पर्छ ? खेल खेल्नु अघिल्लो दिन खेलाडीले सेक्स गर्नु हानिकार छ वा यसको परिणाम सकारात्मक हुन्छ ? खेलाडीको सेक्स लतलाई उनीहरूका प्रशिक्षकले कसरी नियन्त्रण गरेका हुन्छन् ?

डेली स्टारका डेभिड रिभरका अनुसार ब्राजिलका स्टाइकर ग्याब्रियल जिससलाई उनको पहिलो विश्वकपमा पर्याप्त सेक्स गर्न सुझाब दिइएको थियो । ‘खेलअघि प्रशस्त यौन सम्र्पक गर,’ ब्राजिलकै सर्वाधिक गोलकर्ता रोमारिओले अर्ती दिएका थिए । जिससलाई सर्वाधिक गोल गर्न पनि रोमारिओले सुझाब दिएका थिए ।

०००
महत्वपूर्ण प्रतियोगितामा खेलाडीको सेक्स लत सार्वजनिक हुने गरेका विभिन्न दृष्टान्त छन् । सन् १९५८ मा स्विडेनमा भएको छैटौँ विश्वकपमा आफ्ना खेलाडीको ध्यान युवतीतर्फ केन्द्रित हुन सक्ने चिन्ता ब्राजिलका प्रशिक्षकको थियो । ‘लभ, सेक्स एन्ड ब्रेट्रियल इन वल्र्ड कप’मा उल्लेख भएअनुसार खेलअवधिभर खेलाडीको कुनै महिलासँग लसपस नहोस् भनेर उनीहरू बस्ने होटेलका युवतीलाई केही दिन अलग्गै स्थानमा राखिएको थियो । तर, खेलाडीले प्रशिक्षकलाई छकाइछाडे । बाज्रिलका चर्चित फुटबलर गारिन्चालगायत केही फुटबलरले स्थानीय महिलासँग होटेल नजिकैको झाडीमा पुगेर मस्ती गरे । सोही प्रतियोगितामा बदनामी कमाएपछि टिमको सेक्सप्रतिको अडानबारे सम्बन्धित प्रशिक्षकलाई अहिले पनि सोधिन्छ । केही प्रशिक्षकले खेलपूर्व खेलाडीलाई सेक्स गर्न पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरे ।
०००
३१ मे देखि ३० जुनसम्म दक्षिण कोरिया र जापानमा भएको १७औँ फिफा विश्वकपमा ब्राजिलका प्रशिक्षक फिलिप स्कोलारीले खेलाडीलाई आफू बसेको होटेलमा पत्नी तथा गलफ्रेन्ड लैजानसमेत रोक लगाए । प्रतियोगिता अवधिभर प्रशिक्षकले कम्तीमा ५० दिन यौन क्रियाकलापबाट खेलाडीलाई वर्जित गर्ने प्रयास गरे । सोही प्रसंगमा ‘बर्टाेजी र होफम्यानले लेखेको एउटा पुस्तकमा उनले भनेका छन्, ‘सेक्स नगर्दैमा कोही पनि मर्दैन ।’ प्रशिक्षकको कठोर अनुशासनले राम्रै नतिजा दियो । ब्राजिलले जर्मनीलाई फाइनलमा हराउँदै पाँचौँपटक विश्वकप जित्यो ।

अनि यो वर्ष नि ? ग्याब्रियल जिसस र उनको सहकर्मीले केही छुट पाएका छन् । रसियाली समाचार संस्था स्पुतनिकका अनुसार ब्राजिलियन फुटबल टिमका प्रशिक्षकले खेलाडीले चाहेमा उनीहरूका पार्टनरसँग भेट गर्ने साहित जुराइदिएका छन् । खेल हुने वा नहुने सबै दिन खेलाडीले आफ्नो ध्यान र ऊर्जा मैदानमा नै लगाउन खेलाडीलाई निर्देशन दिइएको छ ।

०००
सेक्सले खेलको प्रस्तुतिलाई असर गर्छ वा गर्दैन भन्नेबारे पछिल्लो समय बहस बढिरहेका छन् । ‘खेल खेल्नुअघिल्लो रात यौन सम्पर्कमा रोक लगाइनु अन्धविश्वास हो,’ मिसिगनकी सेक्सोलोजिस्ट मेगन स्टब्स भन्छिन् । उनको विचारमा खेल्नुपूर्व सेक्स उत्तम हो । स्खलित हुँदा खेलाडीको जोस हराउँछ भन्ने धारणाप्रति उनी असहमति जनाउँछिन् । बरु, सेक्सले खेलाडीको मुड फ्रेस गर्ने, पीडा सहन सक्ने क्षमता तथा आत्मविश्वासको तह बढाउने उनको भनाइ छ । ‘खेलअगाडिको छोटो र पीडारहित सेक्सका फाइदैफाइदा छन् । सेक्सले फुटबलरलाई थप ऊर्जा दिन्छ,’ उनी भन्छिन् । यसबारे ब्राजिलियन फुटबलर रोमारिओ पनि सहमत छन् । स्विट्जरल्यान्डमा खेल्नुअघि विमानभित्रै धित मरुन्जेल यौनसम्पर्क गरेको उनी बताउँछन् । रमाइला खेलाडी रोमारिओले त्यही भएर ‘लेडिज म्यान’को समेत उपमा पाएका छन् ।

०००
विश्वकपजस्ता महत्वपूर्ण खेलअगाडि सेक्स गर्ने वा नगर्ने भन्नेबारा परस्पर विरोधी धारणा पाइन्छन् । ब्राजिलकी लेखक तथा सेक्सोलोजिट रेजिना नाभारोका अनुसार खेलअगाडिको सेक्सले खेलाडी र खेललाई नै नराम्रो असर गर्छ । रसियाली समाचार संस्था स्पुतनिकसँगको कुराकानीमा उनी भन्छिन्, ‘मानिसलाई ऊर्जा प्रदान गर्ने वीर्य स्खलन हुँदा पुरुषलाई अल्छी र निन्याउरो बनाउने एउटा अनुसन्धानले दर्शाएको छ ।’ त्यस्तै, अर्को अनुसन्धानले सेक्सले पुरुषलाई साहसी र गतिशील बनाउने देखाएको उदाहरण उनी पेस गर्छिन् ।

खेलाडीको यौनजीवन कसैको सुझाबले निर्देशित गर्ने नभई संस्कारमा भर पर्ने डेटिङ कोच ह्याली क्विन बताउँछिन् । पोर्चुगलका गोलकिपर रुई प्याट्रिकोकी पत्नी भेरा रिबेरिओ पनि खेलाडीको यौन स्वतन्त्रतामा तगारो बन्न नहुने बताउँछिन् । सेक्स थेरापिस्टसमेत रहेकी उनी भन्छिन्, ‘सन्तुलित सेक्सले खेलाडीको पर्फमेन्समा सकारात्मक प्रभाव ल्याउँछ ।’ पार्टनर नहुने खेलाडीले हस्तमैथुनबाट समेत फाइदा लिन सक्ने उनको सुझाब छ । ‘हस्तमैथुनले खेलाडीलाई निद्रा र आराम दिन्छ ।’

प्रतिक्रिया दिनुहोस्