प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सव सम्पन्न, ३६ कविलाई उछिन्दै काभ्रेका बल प्रथम



१० असार २०७५, काठमाडौं

हिजो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सव भव्य रुपमा मनाईएको छ । वार्षिकोत्सवको अवसरमा प्रज्ञा भवनमा राष्ट्रिय कविता महोत्सव समेत गरिएको थियो ।

कविता महोत्सवमा ३६ जना कविहरुलाई उछिन्दै काभ्रेपलान्चोकका कवि फुलमान बलको “इन्द्रेणी गीत” शिर्षकको कविता प्रथम भएको छ । त्यसैगरी धादिङकी सुनिता खनालको “श्याम श्वेत फोटो” शिर्षकको कविता दोस्रो र तेह्रथुमकी एलिना दुलालको “लाहुरेकी स्वास्नी”, रामेछापका जीवन खत्रीको “अर्को प्यास” र मोरङकी मेनुका चापागाईंको “बाटो बिराएछु” शिर्षकको कविता तेस्रो भएको प्रतिष्ठानका कार्यक्रम संयोजक सन्ध्या पहाडीले परिवर्तन खबरलाई जानकारी गराइन् ।

महोत्सवमा विजयी कवि सहित सचित राई, डिल्लीप्रसाद मुलतिहुन, सुशीला खड्का हसिना, दिलु भण्डारी, हिरा भट्ट, धर्मानन्द भट्ट, सीता भण्डारी कंडेल लगायत ३६ जना प्रतियोगी कविहरुले आफ्नो कविता वाचन गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा उद्घाटन भएको उक्त कविता महोत्सवमा कविहरु वैरागी काइला, सुलोचना मानन्धर, महेश प्रसाईं , लक्ष्मी माली र बलराम दाहाल लगायत २१ जना अतिथि कविहरुले आ–आफ्नो कविता वाचन गरेका थिए ।

विजयी कविहरुलाई राष्ट्रपतिको समय मिलाएर राष्ट्रपति कार्यलयमा पुरस्कार वितरण गरिने प्रज्ञा राशी लुमुम्बुले बताए । पुरस्कारको राशि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३०, २५ र २० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्