नेपाली इन्जिनियरलाई चीनमा रेलको तालिम शुरु



०९ असार २०७५, काठमाडौँ

नेपाली रेल प्राविधिकहरुलाई चीनले तालिम दिन शुरु गरेको छ । रेल विभागमार्फत १२ जना इन्जिनियरको टोली अहिले चीनमा तालिम लिईरहेको छ ।

रेल्वे विभागका बरिष्ठ इन्जिनियर प्रकाशभक्त उपाध्यायकाअनुसार सो टोलीले चीनको रेल्वे विज्ञसँग सैद्दान्तिक, ब्यवहारिक कक्षासँगै स्थलगत अध्ययन गर्नेछ । नेपाल–चीन रेलमार्ग बनाउन प्रारम्भिक सम्भाब्यता अध्ययन शुरु भइसकेको छ ।

काठमाडौँ–केरुङ रेलमार्ग निर्माणका लागि चीनले कम्पनी नै नियुक्त गरेर अध्ययन थालेको छ । विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार तीन चरणको तालिमका लागि सहमति भएको छ ।

बरिष्ठ इन्जिनियर उपाध्याय भन्छन्, नेपाली इन्जिनियरलाई आवश्यकता अनुसार चीनले लगातार तालिम दिनेछ ।

तालिमले डिजाइन, विस्तृत आयोजना प्रतिवेदन तयारी, रेलमार्गको स्टेसन निर्माण, रेलका संकेतलगायतका विषयमा नेपाली प्राविधिकको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्नेछ । नेपाली इन्जिनियरहरु रेलका प्राविधिक पाटोमा अभ्यस्त छैनन् । त्यसैले तालिम हाम्रा लागि महत्वपूर्ण हुने र रेलमार्ग अगाडि बढाउन सहज हुने विश्वास विभागको छ ।

एक हप्ताअघि चीन गएको टोली अझै दुई हप्तासम्म चीनमै रहने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्