हसिना सिमसारमा ‘बोटानीकल रिसर्च’



१७ जेठ २०७५, इटहरी

मोरङ्गको सुन्दर हरैचा नगरपालिका ५ मा रहेको हसिना सिमसार क्षेत्रलाई ‘बोटानिकल रिसर्च’ सेन्टरको रुपमा विकास गरिने भएको छ । पूर्वी तराईको पर्यटकीय क्षेत्रको रुपमा परीचित उक्त्त क्षेत्रलाई बनस्पति सम्बन्धी अनुसन्धान केन्द्रको रुपमा विकास गरीने भएको हो ।

मोरङ्गको बिराटनगरपछि दोस्रो ठुलो र धेरै जनसंख्या भएको सुन्दर हरैचा नगरपालिका त्यस्तै पूर्वको केन्द्र शहरको रुपमा रहेको इटहरीबाट नजिकै रहेको उक्त सिमसार क्षेत्र पर्यटकको प्रमुख आकर्षण बन्दै गएपछि सिमसारको विकासमा नगरपालिका लागि परेको छ । केही समय अगाडीसम्म विकट स्थानको रुपमा रहेको सिमसारलाई सुगम बनाउँदै बनस्पति अनुसन्धान केन्द्रको रुपमा विकास गर्दै त्यसबाट स्थानीय सरकारले आम्दानी लिने भएको छ । ७५ बिगाहा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रलाई विकास गरी आम्दानी लिन सुन्दर हरैचा नगरपालिका र हसिना सिमसार क्षेत्र विकास संस्था हाल सक्रिय बनेका छन् । सिमसार क्षेत्रमा रहेका ४ वटा ताल सफाई गरी इ–रिक्सा मार्फत जंगल सफारी सञ्चालनमा ल्याउने तयारी भईरहेको हसिना सिमसार क्षेत्र विकास संस्थाका सचिव शिव राईले जानकारी दिएका छन् ।

सुन्दर हरैचा नगरपालिकाले छुट्याएको रु. एक करोडको लागतमा हाल सिमसार क्षेत्रका पूर्वाधार विकास गरिरहेको राईले जानकारी दिएका छन् । राईका अनुसार नगरपालिकाले छुट्याएको रकमले सिमसार क्षेत्रमा ५० फिट अग्लो भ्यु टवर निर्माण सँगै बिभीन्न जंगली जनावरका आकृती निर्माण र सिमसार क्षेत्र पुग्ने सडक निर्माणको कार्य अगाडी बढेको छ ।

आफ्नो घाषणा पत्रमा नै सुन्दर हरैचाको मुख्य आम्दानीको स्रोतको रुपमा विकास गर्दै प्रदेश १ को पर्यटकीय स्थल बनाउने प्रतिवद्धता देखाएका सुन्दर हरैचा वडा नं. ५ का वडाध्यक्ष राम रिजाल अबको १ वर्षमा सिमसार क्षेत्रको निमार्ण सम्पन्न गर्ने बताउँछन् ।

बालबालिकाका लगि फन पार्क, युवायुवतीका लागि जंगल सफारी, विद्यार्थीका लागि रिसर्च सेन्टरका रुपमा सिमसार बिस्तार गर्न हाल ५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य हुँदैछ।

जंगलको जरुवा पानी उम्रिएर जमेको तलाउ र बाह्रै महिना पलाउने पानीले यहाँका प्राकृतिक पोखरी सँधै भरिभराउ रहन्छ । पर्यटन र कृषिलाई प्रदेश १ को मुख्य आम्दानीको रुपमा प्रदेश सरकारले लिँदै गर्दा यस्ता पर्यटकीय स्थानलाई मनोरञ्जन र सिकाईको सयुक्त थलोको रुपमा विकास गर्दा आम्दानी त बढ्छ नै प्राकृती अध्ययनको खुला बिद्यालय समेत बन्छ ।

प्रतिक्रिया दिनुहोस्