फेवातालमा अलपत्र परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार



१५ जेष्ठ २०७५, कास्की

कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका ६ थपौदी रातोमाटे डाँडा स्थित फेवातालमा हावाहुरी तथा चट्याङ्को कारण अलपत्र परेका चार जना आन्तरिक पर्यटकहरुको जेठ १३ गते एपीएफ टोलीले सकुशल उद्वार गरेको छ ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल टावर सुरक्षार्थ खटिएको एपीएफ टोली तत्कालै उद्वार कार्यमा खटिएको थियो । त्यसवेला ती व्यक्तिहरु डुंगा भाडामा लिई फेवातालमा बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरी, वर्षा र चट्याङको कारण डुंगा अनियन्त्रित भई अलपत्र परेको अवस्थामा एपीएफ टोलीले तत्कालै चार जनाको सकूशल उद्वार गरेको हो ।

सो घटनामा हराईरहेका रामेछापका १८ वर्षिय सुप्रिम लामाको एपीएफ टोलीले व्यापक रुपमा खोजीकार्य गरिरहेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक गौतमराज कुँवरको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई मोटर बोटको सहायताले उद्वार गरेको होे । हराईरहेका व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

जीवितै उद्वार गरिएकाहरुमा सिन्धुलीका १८ वर्षिय विशाल थापा, काठमाडौंका १७ वर्षीय अनिल रोक्का, भक्तपुरका १९ वर्षिय मन्दिप महत र भक्तपुरकै १७ वर्षिय शुशिल कुँवर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्