विश्वकपको ट्रफी हराउँदा कुकुर नायक



१३ जेठ २०७५, नेप्लेज

विश्व फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल आउन अब ३ साता भन्दा कम समय बाँकी छ । यस्तोमा विश्वकपका बारेमा धेरै रोचक पक्षहरुको चर्चा भइरहेको छ । यस्तैमा विश्वकपको इतिहासमा निकै अनौठो र आश्चार्य लाग्दो घटना हो ट्रफिको चोरी ।

सुन्दापनि अचम्म लाग्ने यो घटना एक पटक होइन तीन-तीन पटक भएको थियो । १८ क्यारेटको सुनले बनेको विश्वकपको ट्रफि अहिलेको भन्दा पुरानो आकारमा सानो तर निकै आकर्षक थियो । विश्वकप फुटबल शुरु गर्ने विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जुल्स रिमेटको नामबाट नामाकरण गरिएको विश्वकपको शुरुवातको ट्रफि पहिलो पटक सन् १९६६ मा चोरी भएको थियो ।

सन् १९६६ को विश्वकप इङ्ल्यान्डमा आयोजना हुँदै थियो । विश्वकप शुरु हुनुभन्दा चार महिनाअघि प्रदर्शनका लागि विश्वकप ट्रफी इङ्ल्यान्ड लगिएको थियो । वेस्टमिन्स्टर सेन्ट्रल हलमा कडा सुरक्षाबीच प्रदर्शनमा राखिएको विश्वकप ट्रफी आश्चर्यजनक तरिकाले चोरी भयो । पछि चोरले ट्रफी फिर्ता गर्न १५ हजार पाउन्ड माग गर्‍यो । उक्त जुल्स रिमेट ट्रफी खोज्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

चोरी भएको आठ दिनपछि मार्च २७ मा एकजना व्यक्ति आफ्नो कुकुरसँग मर्निङ वाकमा निस्किएको बेला सोही कुकुरले सुघेर पत्ता लगाएको थियो । झाडीमा फालिएको अवस्थामा ट्रफिलाई पत्ता लगाएपछि कुकुर र उनका मालिक मालामाल भएका थिए ।

ट्रफी फेला पारेको खुसीमा ‘पिकल्स’ नाम गरेको उक्त कुकुरलाई फिफाले जीवनभरका लागि खानेकुरा उपलब्ध गराउने प्रतिबद्धता गर्यो भने  कुकुरका मालिक डेभ कोर्बेटलाई पनि ३० हजार पाउन्ड पुरस्कार प्रदान गरिएको थियो ।

त्यसपछि फेरी १९७० मा विश्वकपको ट्रफि दोस्रो पटक चोरी भयो । फिफाले नयाँ स्वरुप दिएको ट्रफिलाई  तीनपटक विश्वकप जितेपछि ब्राजिलले विश्वकप ट्रफी आफूसँगै रियो दी जेनेरियो लग्यो । पछि सन् १९८३ मा रियोस्थित ब्राजिलियन फुटबल महासंघको कार्यालयबाटै विश्वकप ट्रफी चोरी भयो । तर यसपटक चोरी भएको ट्रफी भने भेट्टाउन सकिएन ।

यसपटक ट्रफि चोरी हुनुको पछाडीको कारण ब्राजिलले विश्वकप जित्दा हर्टअट्याक भएर आफ्ना दाजु गुमाएको रिसमा सर्जियो पेराल्टा नाम गरेका ब्यक्तिले बदला लिनका लागि गरेका थिए । दुई जना अरु सहयोगीसँग मिलेर उनले रातिको  समयमा फिफाको कार्यालयमा पुगेर सुरक्षामा बसेका एक जनालाई नियन्त्रणमा लिदै ट्रफि चोरेका थिए ।

निकै लामो समयको अनुसन्धान र खोजपछि ट्रफि सर्जियोले चोरेको पत्ता त लाग्यो तर ट्रफि भने भेटिएन । पुलिसले सर्जियोलाई नियन्त्रणमा लिदै कुरा खोल्न  भने सफल भयो । तर उनले त्यो ट्रफि अर्जेन्टिनी सुन दलाललाई बेचेको बताए । उनको भनाईलाई आधार मानेर त्यो स्थानमा पुग्दा ट्रफिलाई पगालिसकेकाे थियो ।

सन् १९८४ मा ब्रजिलले रेप्लिका नामक ट्रफिको सट्टा जुलियो रेमिटलाई प्रदर्शनमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्