राष्ट्रकवि घिमिरेले प्रधानमन्त्री ओलीलाई १०० वर्ष पुगुन्जेल बचाईदिन आग्रह गरे



०८ जेठ २०७५, काठमाडौँ

रक्तश्राव भएर भएर धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएका राष्ट्रकवि माधव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आउँदो असोजको ६ गते आफू १०० पुग्न लागेको जानकारी गराउँदै ‘त्यतिबेलासम्म लेख्दै गरेको महाकाव्य पूरा गर्न मलाई त्यतिञ्जेल बचाइदिनुहोस् ।’ भनेका छन् ।

प्रत्युत्तरमा प्रम ओलीले ‘तपाईँ त कति हो कति, धेरै बाँच्नुपर्छ । हामी बचाउँछौं तपाईलाई, छिट्टै विदेश लग्छौं’ भनेर हौसला दिएका थिए ।

राष्ट्रकविलाई भेट्न सोमबार साँझ प्रधानमन्त्री केपी ओली ग्राण्डी पुगेका थिए । एक सातादेखि ग्रान्डीमा रहेका राष्ट्रकवि घिमिरेलाई प्रधानमन्त्रीले जसरी पनि उपचार गराएर बचाउने प्रतिबद्धता गरे ।

पत्नी राधिका शाक्यका साथ अस्पताल पुगेका प्रधानमन्त्री ओलीले भनेका थिए, ‘राष्ट्रकविज्यू, तपाईले अब कुनै पनि चिन्ता गर्नु पर्दैन। उपचार नेपालमा सम्भव नभएमा तुरुन्तै तपाईलाई हामीले दिल्ली वा अन्य देशको राम्रो अस्पतालमा लैजान्छौं ।

राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका प्रम ओलीले अस्पतालबाटै उनको उपचारबारे भारतीय चिकित्सकलाई टेलिफोन गरी परार्मशसमेत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दुन अर्यालले जनाएका छन् ।

उपचारका लागि अस्पताल भर्ना गरिएका राष्ट्रकवि घिमिरेको मुटु, मिर्गौला तथा फोक्सोमा समस्या देखिएको अस्पतालका चिकित्सकले बताए । घिमिरेको उपचारमा संलग्न ग्यास्ट्रो इन्टेरोलोजिष्ट डा. विवेक शर्माले रक्तश्राव कहाँबाट भइरहेको हो भन्ने पत्ता लगाउन ‘इन्टरस्कोप’ गर्नुपर्ने बताउँदै त्यो उपकरण नेपालको एक दुई ठाउँमा भएपनि त्यसको ‘प्याकिङ’ नखुलेका कारण उहाँलाई छिटोभन्दा छिटो विदेश लैजान सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्