जापानमा विश्वकै सबैभन्दा अग्लो बुद्ध मूर्ती बनाउँदै ३७ वर्षे मञ्जुल



काठमाडौं, २५ चैत

जापानमा हजारौं नेपाली काम गरिरहेका छन् । तर, तीन जना नेपालीले यस्तो काम गरिरहेका छन् जुन अन्य नेपालीले गरिरहेको भन्दा भिन्दै छ ।

ती तीन नेपाली हुन् मोरङका मञ्जुल मितेरी र गणेश राई, उदयपुरका रामचन्द्र पण्डित र काभ्रेका सानोभाई विश्वकर्मा । उनीहरुले जापानको कुमामोतोमा ढुंगामा बुद्धको मूर्ती बनाइरहेको छन् । पहाडको चट्टानमा बनाएको बुद्धको मूर्ती ६५ फिटको हुनेछ । र, सबैभन्दा अग्लो ढुंगे मूर्तीका रुपमा कीर्तिमान बन्नेछ ।


त्यसो त ढुंगामा अग्लो बुद्धमूर्ती अरु पनि नभएका होइनन् । अफगानिस्तानको वामियानमा एकसय ७४ फिटको बुद्ध मूर्ती थियो । सो बुद्ध मूर्ती तालिवान आतंकवादी समूहले नष्ट बनाइसकेको छ ।

आधुनिक कालमा सबैभन्दा ठूलो बुद्धको ढुंगामा बनाइएको मूर्तीको कीर्तिमान चाहिँ यी तीन जना नेपालीले बनाउने छन् । र, मुख्य श्रेय पाउनेछन् मञ्जुल मितेरीले । मूर्ती निर्माणको नेतृत्व उनैले पाएका छन् । मञ्जुलको मूर्तीकला अहिले जापानमा चर्चित भइरहेको छ ।

कुमामोतो बुद्धको मूर्ती र गुफाका लागि प्रसिद्ध छ । कुमामोताको मुख्य आकर्षण हुनेछ यी तीन नेपालीले बनाइरहेको बुद्ध मूर्ती । आकर्षण र नेपाली कलाकारहरुको कला यतिमा मात्र सीमित छैन । ६५ फिट अग्लो बुद्ध मूर्तीको साथमा हुनेछन् अन्य देवताको मूर्ती । दुवै मूर्तीको मुहार तयार भइसकेको छ । बाँकी भाग बन्दैछ ।

मञ्जुलको संघर्ष

इन्द्र वराइली र सरिता राईका छोरा मञ्जुल त्यसबेला १२ वर्षका थिए, कक्षा छ मा पढ्थे । पाठ्यपुस्तकमा अरनिकोको जीवनी पढे । गहिरो प्रभाव पर्यो । त्यसपछि सुरु भयो उनका मूर्तीकला यात्रा ।
उनी ढुंगामा मूर्ती बनाउन थाले, चित्र बनाउन थाले । कविता र गीत लेख्न थाले । गाउन पनि थाले ।

एसएलसी पास गरेपछि आर्थिक अभावले गर्दा क्याम्पस पढ्न पाएनन् । क्याम्पस पढ्न गाउँबाट धेरै टाढा सहर बजार पुग्नुपर्थियो । त्यसबेला मञ्जुल भित्र मूर्तीकार जागिसकेको थियो । मूर्तीकार बन्छु भन्दै काठमाडौं गए । काठमाडौंमा लोकमान वज्रचार्यसँग दुई वर्षसम्म परम्परागत मूर्तीकला सिके ।

दुई वर्षपछि मोरङ फर्किए । र, केही समयपछि बिहे पनि गरे कौशिला राईसँग । हुनत हरेक मानिसका लागि विवाह ठूलो मोड र घटना हो । तर, कौशिलासँगको विवाह मञ्जुलको जीवनमा सामान्य घटना सावित भएन ।

विहेपछि उर्लावारी बस्न थाले डेरा लिएर कौशिला तरकारी बेच्न थालिन् । मञ्जुल चाहिँ मूर्ती बनाउन थाले । यी दम्पत्ति गरिबीको सागरमा डुबेका थिए ।

त्यसबेला मञ्जुलले पढाईलाई पनि अगाडि बढाउन थालिसकेका थिए । मेजर अंग्रेजी र संस्कृति पढ्न थालेका थिए ।

मञ्जुलले उर्लाबारीमै मुर्तीकला केन्द्र खोले । त्यसबेला उनीहरुसँग अभाव यस्तो थियो कि खान पनि धौधौ थियो । दुख वुझेर घरवेटी हजुआमाले दिनहु एक गिलास चामल दिन्थिन् । त्यो आधा चालमको बिहान बेलुका जाउलो भात खाएर उनीहरुले धेरै दिन गुजारे ।

मञ्जुल चाहिँ १५ किलोमिटर पैदल हिँडेर टाडी पुग्थे ढुंगा लिन । मूर्ती बनाउनका लागि । त्यसबेला उनीहरुको कोठा भाडा थियो पाँच सय रुपैयाँ । सुत्ने कोठा र मूर्ती बनाउने कोठा एउटै थियो । दिनभरी मूर्ती बनाउथे, राति त्यहिँ सुत्थे ।

त्यसबेला मञ्जुलले मूर्ती बनाउन छाडेर अरु कुनै पेसा अपनाएको भए हुँदैनथ्यो ? अहँ, कौशिलाले मानिन् । मञ्जुलका अनुसार आधा पेट खाउँ तर मूर्ती बनाउन नछाड्नुस् भनेर हौसला दिन्थिन् कौशिलाले ।

मूर्तीका ग्राहक सीमित थिए । कमाई मुस्किल थियो । तैपनि कौशिलाले हार मानिन्, पतिलाई ढुंगामा कुँद्न लगाइरहिन्, आफूले जे जसरी भए पनि काम गरेर धेरथोर खर्च जुटाइरहिन् ।

उनी सन् २०१७ सेप्टेम्बरमा मूर्ती बनाउन जापान गएका थिए ।

जापान जानु अघि नै मञ्जुलले देशकै प्रमुख मूर्तीकारका रुपमा आफूलाई उभ्याइसकेका थिए । ०६२ सालमै उनले १० वर्ष भित्र विश्वप्रसिद्ध दार्शनिक, वैज्ञानिक, साहित्यकार, नेता, समाजमा देन दिएका हजार जनाको मूर्ती बनाएर देशलाई उपहार दिने घोषणा गरिसकेका थिए । एक सय ५० जनाको बनाइसकेका थिए । तर, जापानमा बुद्ध मूर्ती बनाउने मौका पाएपछि उता गए ।

अब जापानमै बस्ने कि नेपाल फर्कने ? यो प्रश्नमा मञ्जुल भन्छन् ‘देश छाडेर विदेश बस्ने कल्पना समेत गर्न सक्दिन । कतिबेला मूर्ती बनाएर स्वदेश फर्काैं भइसक्यो आफूलाई ।’

जापानमा मूर्ती निर्माणको काम ३० प्रतिशत सकिएको बताउँछन् ।

नेपालमै पनि मञ्जुलले विभिन्न ठाउँमा मूर्ती बनाइसकेका छन् । उनले बनाएका मूर्ती देशका विभिन्न भागमा पुगेका छन् । विदेशमा पुगेको छ ।

मञ्जुल साहित्यकार हुन्, गायक हुन्, तर, उनको पहिचान मूर्तीकारका रुपमा स्थापित भएको छ ।

जापानमा आधुनिक अरनिकोको भूमिका निर्वाह गरिरहेका ३७ वर्षे मञ्जुल कहिले नेपाल फर्कन्छन् ? अनि के गर्छन् ?

मञ्जुल भन्छन् ‘जापानमा हुँदा मलाई मेरो देशले बेलाइरहेको महशुस हुन्छ, चाँडै काम सकेर फर्कन्छु र पहिले नै घोषणा गरे अनुसारको हजार वटा मूर्ती बनाउने काममा लाग्छु ।’

प्रतिक्रिया दिनुहोस्