आमालाई सम्झिँदा सधैँ शिर निहुराउन मन लाग्छ : योगेश भट्टराई



काठमाडौं, १५ चैत

सपना नै भएन भने त मानिस हुनुको औचित्य नै के रह्यो र ! सानो होस् या ठूलो हरकोहीसँग सपनाहरू हुन्छन् । हुन जरुरी पनि छ । सपनाले नै त हो नि मान्छेमा आशाको बिउ उमार्ने । जसले मान्छेलाई मुर्दा हुनबाट जोगाउँछ ।

कहिलेकाहीँ मान्छेको जीवनमा यस्ता दिनहरू पनि आइदिन्छन् । जुन वेला अधुरा सपनाहरू नै निको लाग्ने गर्छन् । पूरा भएको भन्दा नभएकोमा नै मान्छे बढी सन्तुष्ट हुने गर्छन् । त्यस्तैमध्ये एक हुन्, एमाले सचिव योगेश भट्टराई । उनको सपना असल ‘मास्टर’ बन्ने थियो ।

तर, समय मान्छेको विरुद्धमा यसरी उभिदिन्छ कि सधैँ ठीक विपरीत बाटो भएर हिँड्नुपर्छ । जुन बाटोमा थोरै मान्छे मात्र खुसी हुने गर्छन् । त्यसरी खुसी हुने थोरैमध्येका एक हुन्, योगेश भट्टराई ।

गुनासोकै कुरा गर्ने हो भने त कोसँग पो हुँदैन र गुनासो ! तर, यति हो मान्छेले गुमाउनुको बदलामा के पायो, त्यसैबाट खुसीको मापन गर्छ, मान्छे । योगेश भन्छन्, ‘मलाई सानैदेखि मास्टर बन्न मन लाग्थ्यो । तर, म त जिन्दगीभर विद्यार्थी नै भएँ ।’ हुन पनि हो, उनी सधैँ सिकिरहनुपर्ने राजनीतिको मैदानमा छन्।

‘यदि मान्छेले परिवर्तन गर्न सक्ने भए ऊ बालापनमै फर्किन्थ्यो होला,’ उनी भन्छन्, ‘त्यो स्वच्छन्द समय हो । उन्मुक्त पल हो । उसलाई कुनै कुराको पर्वाह हुँदैन ।’ बालापन नसम्झिने को नै पो हुन्छन् र ! जहाँ जीवनको सबैभन्दा निर्दोष समय बितेको हुन्छ । जहाँ मान्छेले सबैभन्दा सुन्दर समय बाँचेका हुन्छन् ।

उनलाई पढाउने सरहरू एकदम कडा थिए, अनुशासनमा राख्न थप्पड पनि लगाउँथे । उनलाई लाग्थ्यो, ‘मान्छे तह लगाउन त मास्टर पो बन्नुपर्ने रहेछ ।’ तर, समयले यस्तो बाटोमा हिँडायो, जहाँ उनी खुसीसाथ निरन्तर शिष्य भएर हिँडिरहेका छन् ।

स्मृतिमा बा

बाको हात समाउनु, बालाई घोडा बनाउन पाउनु सबैको भाग्यमा लेखिएको हुँदैन । कसैकसैका लागि त्यो कल्पनाभन्दा परको कुरा हुने गर्छ । योगेश त्यसैभित्र पर्छन् । लामो सास तान्दै सम्झिन्छन्, ‘बा म दुई वर्षको हुँदा बित्नुभएको हो । बाबारे मेरो कुनै इमेज या धारणा नै छैन ।’ उनको हरजिम्मेवारी आमाको काँधमा थियो । अपेक्षा आमासँगै थिए ।

जन्म पनि दिनु र कर्म पनि लेखिदिनु एउटी महिलाका लागि कति चुनौतीपूर्ण कुरा होला, त्यो त आमाले नै जान्दिहुन् । ‘आमाको कारण त म यहाँसम्म आइपुगेको छु,’ उनी श्रद्धासाथ आफ्नी ९३ वर्षे आमा र आमाका उपदेशलाई सम्झिन्छन्– ‘ठूलो मान्छे हुनू, कसैलाई दुःख नदिनू, कसैको दुई पैसा नखानू, अरू कोही दुःखमा परेको छ भने उनीहरूलाई सहयोग गर्नू ।’

आमाका आर्शिवचन हुन्, यी । स्वर्गीय बा उनको स्मृतिमा पनि बाँचेका छैनन् । बचपनमा नै बाका औँलाहरू कतै छुटे, कहिल्यै नफर्किने गरी । जीवनका कठिन मोडहरूमा मान्छेले बालाई सम्झिन्छन् । तर, सम्झिनका लागि उनीसँग बासँगका कुनै पल स्मृतिमा पनि छैनन् । यो भन्दै गर्दा उनको अनुहार कताकता मलीन भएको थियो ।

‘बा सामाजिक मान्छे हुनुहुन्थ्यो । राणा शासनमा स्कुल खोल्दै हिँड्नुहुन्थ्यो । स्कुललाई चन्दा दिनुहुन्थ्यो,’ आमाले चिनाएका बा उनी सम्झिन्छन् । त्यही भएर आमाले उनलाई जे–जे भन्थिन्, ती कुरा सम्झिँदा अचेल योगेशलाई लाग्छ, सायद बुबाका कामहरू छोराले गरून् भन्ने आमा चाहन्छिन् । बा भनेको त अग्लो पहाड हो, जसको काँधमा उभिएर सन्तानले संसार हेर्न सिक्छन् ।

स्वर्गीय बा योगेशको स्मृतिमा पनि बाँचेका छैनन् । बचपनमा नै बाका औँलाहरू कतै छुटे, कहिल्यै नफर्किने गरी । जीवनका कठिन मोडहरूमा मान्छेले बालाई सम्झिन्छन् । बा भनेको त अग्लो पहाड हो, जसको काँधमा उभिएर सन्तानले संसार हेर्न सिक्छन् ।

उनी राजनीतिक रूपमा धेरैपटक अप्ठ्यारोमा परे । कहिलेकाहीँ पार्टीमा एकदमै हेपिनुपर्ने अवस्था आउँछ । त्यतिवेला बाको अभावले एकदमै बेचैन बनाउँछ उनलाई । भन्छन्, ‘बा भएका भए लड्नुपर्छ, डट्नुपर्छ भनेर हिम्मत दिन्थे होला !’ बाको अभाव सामान्यतया उनका अग्रजहरूले पूर्ति गरे ।

आखिरी एउटै बाटोमा हिँड्नुपरेपछि अपनत्व त जोडिइहाल्छ नि ! अहिलेका पार्टी अध्यक्ष केपी ओलीलाई उनले २०४३ सालमा जेल पर्दा भेटेका हुन् । जसले व्यवहार, सिद्धान्त, निडरपन सिकाए । माधव नेपालबाट अनुशासन, झलनाथ खनालबाट सालीनता, बौद्धिकता, वामदेव गौतमबाट संघर्ष, हिम्मतिलो बन्न सिके, उनले । यी सबै राजनीतिका गुरु, असल अभिभावक उर्फ ‘बा’ भए ।

अप्ठ्यारो सफर

आमा ईश्वरभन्दा माथि बस्ने सबैभन्दा ठूलो ईश्वर ! जो सन्तानका लागि आफ्नो मुटु निचोर्न पछि पर्दिनन् । आमाले उनलाई हरक्षण शुभकामना दिइन् । उनी भावुक हुँदै भन्छन्, ‘म जेल पर्दा ‘यसलाई मार्छन् कि, नमारे हुन्थ्यो’ भनेर प्रार्थना गर्नुहुन्थ्यो ।

आमालाई सम्झिँदा सधैँ शिर निहुराउन मन लाग्छ ।’ मान्छेलाई हरेक राम्रा कुराले प्रभावित गरिरहन्छ । उनलाई राजनीति नै गर्नुपर्छ भन्ने धारणा ०३६/३७ को विद्यार्थी आन्दोलनले जन्मायो । जतिवेलादेखि उनी राजनीतिक यात्रामा हिँडे । हिँड्दै छन्, हिँडिरहनेछन् ।

०३७ साल चैत १४ गते । नेपालको इतिहासमा पहिलोपटक अखिलले गरेको नेपाल बन्द । ती दिन सम्झिँदै उनी भन्छन्, ‘थाहा छैन, म कुन संगठनमा थिएँ । तर, बन्द गर्ने भनेपछि हामीले बन्द ग-यौँ ।’ त्यसपछि उनमा परिवर्तनको भूत चढ्यो । निरंकुशता ढाल्ने उत्तेजनाले चरम रूप लियो । र, उनी राजनीतिक सफरमा हिँडे ।

राजनीतिको छेउमा फुलेको प्रेम

प्रेमबाट को नै अछुत रहन सक्छ र ! जति नै भागे पनि लखेटिरहन्छ प्रेमले । मान्छेलाई पछ्याइरहने भनेको मृत्यु र त्यसपछि प्रेमले हो, सायद । उनी त्यो समयतिर फर्किएर बोल्छन्, ‘हामी डेरा बस्ने मान्छेलाई केटीहरूले पत्याउने कुरै भएन, त्यसवेला ।’ अभावको अर्को सग्लो नाम हो, मानिस । हामी अभावमै बाँच्छौँ र मर्छौं ।

त्यतिवेला दाल, तरकारी सबै चिज मिलाएर खाएको घटना सायदै याद छ, उनलाई । कि त आलु मात्र या फर्सी मात्र या त स्कुस मात्र पकाएर खाने गर्थे । प्रेमले सधैँ निकटता खोज्छ । आत्मीयता खोज्छ । यसले कहिल्यै दूरी रुचाउँदैन ।

उनले काठमाडौं बसेर नर्सिङ पढ्ने बिन्दा घिमिरेसँग बिहे गरे । पहिले प्रेम अनि मागी । वल्लो गाउँ र पल्लो गाउँ घर । कहिलेकाहीँ सँगै यात्रा हुने काठमाडौंबाट घरसम्मको । आखिरी सँगैको यात्राले दुवैको मनमा प्रेमको फूल फुलि त हाल्यो । र, विवाहको फल लाग्यो त्यो प्रेमको फूलमा ।

जोविना अधुरो…

‘महिलाहरू हिमाल हुन् । कैयौँपटक पग्लिन्छन् र रित्तिन्छन्, तर कहिल्यै लड्दैनन्,’ उनी भन्छन् । सफल पुरुषको जीवनमा श्रीमतीको भूमिका के ? सायद यो प्रश्न मूर्खहरूले या महिलालाई नबुझेकाहरूले गर्छन्, त्यहीभित्र म पनि परेँ र योगेश दाइलाई सोधेँ । उनी केहीबेर सोच्छन् । अनि भन्छन्, ‘किचन कसरी चलेको छ, त्यो सबै मैले कहिल्यै ख्याल गरिनँ ।

त्यो उनले नै सबै सम्हालिन् । श्रीमतीको भूमिकाबारे मैले बोलेर न्याय गर्न सक्दिनँ ।’ महिलाका कारण हारेको पुरुषले पनि जितेको महसुस गर्छ । त्यो नै सबैभन्दा सुन्दर पक्ष हो । राजा ज्ञानेन्द्रले ‘कु’ गरेर पुलिसले छापा मार्न थालेपछि योगेशलाई भागिरहनुपर्ने भयो ।

उनको बागबजारको कोठामा गएर पुलिसले निकै दुःख दिने गरेको कुरा फोनमा श्रीमतीले सुनाउँदा निकै दुःख लाग्ने गथ्र्यो, उनलाई । संसार जिताउने हिम्मत दिने श्रीमतीले त्यस्तो दुःख पाउँदा कुन पुरुषको पो मन दुख्दैन होला र ! उनी भन्छन्, ‘श्रीमतीको अवस्था के होला, उनले मलाई कसरी लिएकी होलिन् भन्ने कुराले एकदमै तडप महसुुस हुन्थ्यो ।’

आँसुको रारा ताल

यदि मानिस रुँदैनथ्यो भने यो दुनियाँ कस्तो हुन्थ्यो होला ? सायद, एकदम कुरूप । हाँसोको महत्व नै हुँदैनथ्यो होला । एकपटक नेता योगेशलाई टाइफाइड भयो । त्यो वेला पार्टी भूमिगत नै थियो । पार्टीका तर्फबाट काठमाडौंमा प्रधानपञ्चमा सीताराम मास्के र उपप्रधानपञ्चमा केशव स्थापित उठेका थिए । उनी भन्छन्, ‘प्रचारप्रसार गर्न रातभरि भित्तामा लेख्दै हिँड्थ्यौँ । एकजनाको चुनाव चिह्न चंगा र एकजनाको कोदालो थियो ।’

त्यतिवेला पार्टीको हेडक्वार्टर प्रमुख माधव नेपाल थिए । पैसा हुँदैन थियो । भात खानका लागि माधव नेपालले न्युरोडको रञ्जना फिल्म हलको गल्लीमा सस्तो होटेल मिलाएका थिए । उनी ती दिन आँखामा पल्टाउँदै भन्छन्, ‘राति–राति आउने, भात पनि जस्तो पायो त्यस्तै खाइयो, पानी पनि जस्तो पायो त्यस्तै खाइयो । मलाई त टाइफाइड भएछ ।’ साथीहरूले उनलाई टेकुमा लगेर भर्ना गरेछन् । उनी भने बेहोस । त्यहाँबाट उनलाई टिचिङ सारिएछ । उनी भन्छन्, ‘त्यतिवेला ६० दिनजति हस्पिटल बसेँ ।

मधु घिमिरेलगायत डक्टरहरूले मलाई उपचार गर्नुभयो । लगभग मेरो आशा मारिसकेका थिए । मेरो वेट नै ३५ किलोमा झरेको थियो ।’ मान्छेलाई सधैँ आशाले जोगाइराख्छ । आशाले बाँच्ने ढाडस दिइरहन्छ । आशा नै नभएको मान्छे त निर्जीवजस्तै हुन्छ । माधव नेपाल, सुरेन्द्र पाण्डे, प्रदीप नेपाल उनलाई हेर्न आएका थिए ।

उनी आकाशतिर हेर्दै भन्छन्, ‘त्यतिवेला एकदमै आँसु झारेर रोएँ ।’ दिसा–पिसाब सबै बेडमै । भानुभक्त ढकालले उनलाई धेरै सहयोग गरे । सम्झिन्छन्, ‘उहाँले धेरै कुर्नुभएको छ, मलाई । त्यो अवस्था सम्झिँदा यो एक प्रकारको नाफाको जिन्दगीजस्तो लाग्छ, अर्थात् पुनर्जीवन ।’

२०४३ सालतिर हनुमानढोकामा पुलिसले कुटेर दिसा पनि बस्न नसक्ने अवस्थामा पु-यायो, उनलाई । त्यहाँबाट जेलमा लग्यो । जेलमा केपी ओली, आरके मैनालीहरू थिए । त्यहाँ झनै पिट्लाजस्तो लागेको थियो, उनलाई । तर, पिटेनन् ।

कहिलेकाहीँ समय यस्तो हुन्छ कि हामी पिँजडामा पर्दा पनि रमाउँछौँ । उनी भन्छन्, ‘नपिटेपछि त जेल पनि आनन्दको लाग्यो ।’ सुत्ने वेलामा उनको जिउमा तेल लगाएर मालिस गरिदिए केपी ओलीलगायतले । उनी भावुक हुँदै भन्छन्, ‘त्यो वेला अनयासै रोइयो । अभिभावक उनीहरू नै लाग्यो।’

दुःख नलागेको पल कसको पो हुँदैन र ! यत्ति हो दुःखका आयामहरू फरक हुन सक्छन् । उनलाई सबैभन्दा दुःख लागेको भनेको मदन भण्डारीको हत्या भएको वेला हो । ‘आज पार्टीभित्र जुन किसिमको लडाइँ, गुटबन्दी र हेपाहा प्रवृत्ति छ, सायद मदन भण्डारी भएको भए त्यसो हुुँदैन थियो होला,’ उनी थप्छन्, ‘आजकल पार्टीमा असल अभिभावक नै छैनन् । हामी टुहुरा छौँ ।’

योगेश भट्टराईलाई लाग्थ्यो–‘मान्छे तह लगाउन त मास्टर पो बन्नुपर्ने रहेछ ।’ तर, समयले यस्तो बाटोमा हिँडायो, जहाँ उनी निरन्तर शिष्य भएर खुसीसाथ हिँडिरहेका छन् ।

एक दिन बागबजारको सानो पार्टी अफिसमा एउटा जिप हर्न बजाउँदै र राष्ट्रिय झण्डा हल्लाउँदै एकदम तुफानसाथ एउटा आयो । जिपको अघिपछि केही मोटरसाइकल र गाडी पनि थिए । त्यो जिपमा मनमोहन अधिकारी प्रधानमन्त्री भएर आएका थिए ।

०५१ मंसिरको कुरा । उनले यसो हेरे, मनमोहन अधिकारी प्रधानमन्त्री पो भए । त्यही कोठामा, त्यही अफिसमा बसेको मान्छे यो देशको प्रधानमन्त्री ! खुसी कतिवेला कसरी आउँछ थाहै हुँदैन । उनकोे आँखाबाट खुसीको आँसु त्यतिवेला झरेको थियो । विगत सम्झिँदै भन्छन्, ‘नेपालमा दुईजना प्रधानमन्त्री छन्, सम्झिनैैपर्ने । ती हुन्, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई ।’

समाज र राजनीति

‘समाजलाई कहाँ लाने र कसरी लाने भन्ने कुरा राजनीतिज्ञको काम हो,’ योगेश भन्छन् । नेपाली राजनीतिमा मोडलहरू एकदमै कम भएको गुनासो छ, उनको । मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईपछि त्यस्तो कोही नभएको लाग्छ, उनलाई । ‘पुँजीवादको उन्मादले मान्छेलाई बस्तु बनायो । क्रय–विक्रय हुने ।

यसले राजनीतिक मूल्यलाई समाप्त पार्दै छ,’ भन्छन्, ‘जब राजनीतिक मूल्य सकिन्छ, त्यसले समाजलाई क्षयीकरण गर्दै लैजान्छ ।’ समुन्नत समाज निर्माणका लागि राजनीतिज्ञले अगुवाको भूमिका खेल्नुपर्छ । पछाडि आउने मान्छेलाई सही बाटो देखाउनुपर्छ । अगाडि उभिनेलाई थाहा हुन्छ, अगाडि के छ भनेर । भन्छन्, ‘राजनीतिज्ञ ठूलो बोइङ जहाजको क्याप्टेन हो । ऊसँग हजारौँ प्यासेन्जर हुन्छन् । सकुशल ल्यान्डिङ गराउनु उसको जिम्मेवारी हो ।’

राजनीति नै भएन भने कुनै पनि मुलुकको अस्तित्व नै रहन्न । राजनीति संवेदनशील क्षेत्र हो । विचार र सिद्धान्तले मान्छेलाई विभाजित गर्छ । ‘विचार र सिद्धान्तका आधारमा विभाजित हुनु नराम्रो होइन, तर जात, धर्म र सम्प्रदायका नाममा विभाजित हुनु दुर्घटना हो,’ कुरा टुंग्याउँदै उनी भन्छन्, ‘मेरो सपना भनेको अझै समाजलाई कसरी अगाडि बढाउने भन्ने हो ।

अर्को दुई–तीन सय वर्ष नेपाली जनताले सम्झिने गरी काम गरेर छाडेर जान्छु ।’ उनलाई समर्थक होइन, मलामीहरू बढाउनतिर लाग्ने रहर छ । भन्छन्, ‘जीवन प्रकृतिको सुन्दर उपहार हो । यो प्रकृतिलाई बचाउनुपर्छ । र, यो उपहार भएकाले यसलाई गलत काममा प्रयोग गर्नुहुँदैन ।’ – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्