महायज्ञ लगाएर महेन्द्रनगरका छाडा गाई फर्काउँदै जगद्गुरु



कञ्चनपुर/कैलाली , फागुन २९ २०७४

जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले महेन्द्रनगर र त्यस आसपासका क्षेत्रमा छाडा छोडिएका गाई घर फर्काउने अभियान सुरु गरेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका ५ सुकासालमा गाई फर्काउने अभियानअन्तर्गत स्थानीयलाई हस्तान्तरण गर्दै जगद्गुरु मोहनशरण।
उनले फागुन पहिलो सातादेखि स्थानीयलाई सम्मानसहित गाई हस्तान्तरण गरी फर्काउने अभियान सुरु गरेका हुन्। यता, कैलालीको टीकापुर नगरपालिकाले नियन्त्रणमा लिएका करिब ६ सय गाईगोरु आहार नपाएर मर्ने अवस्थामा छन्। भुराखानी सामुदायिक वनमा तारबार घेरेर नगरपालिकाले गाईगोरु नियन्त्रणमा राखेको छ।

जगद्गुरु देवाचार्यले फागुन ५ देखि भीमदत्त नगरपालिका–५ सुकासालमा महायज्ञ लगाएर उक्त क्षेत्रका छाडा गाइगोरु त्यही क्षेत्रका स्थानीयलाई हस्तान्तरण गर्न थालेका हुन्। एक साताको अवधिमा एक सयबढी गाइगोरु स्थानीयलाई हस्तान्तरण गरिएको जगद्गुरुका सहयोगीहरूले बताए। गाई हस्तान्तरणसँगै गाई पालनबाट हुने फाइदाका बारेमासमेत जगद्गुरुले स्थानीयलाई जानकारी दिइरहेका छन्। सुकासालको कार्यक्रम बिहीबार सम्पन्न भएपछि भीमदत्त नगरपालिका–४ गोबरियामा सुरु हुनेछ।
‘गाईको दूधदेखि मल, मूत्र सबै काम लाग्छ, धार्मिक रूपमा पनि गाईको महत्त्व अझ बढी छ,’ जगद्गुरु मोहनशरणले भने, ‘तर यस क्षेत्रमा गाईको दर्दनाक अवस्था बनाइएको छ, यस क्षेत्रमा ठूलो अनिष्ट हुन सक्ने संकेत हो।’ उनले विभिन्न ठाउँमा गाईमाथि भएका आपराधिक गतिविधिका कारण ठूला घटनाहरू भएकाले यहाँका बासिन्दाले समयमै सच्चिनुपर्ने बताए।
‘यो जिल्लाका सबै ठाउँमा अभियानकै रूपमा गाईलाई घर फर्काउने कार्यक्रम गरिनेछ,’जगद्गुरुका सहयोगी विक्रमसिंह धामीले भने, ‘गोबरिया, महेन्द्रनगर बजार क्षेत्र, वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा गएर त्यही क्षेत्रका स्थानीयलाई गाई हस्तान्तरण गरिनेछ।’ गाई लैजानेलाई सम्मानपत्रसहित उनीहरूको विवरण राखेर मात्रै हस्तान्तरण भइरहेकोउनले बताए।

पहिलो चरणमा गाई फर्काउने अभियान सम्पन्न भएपछि हरेक गाउँमा गएर स्थानीयको सहभागितामा सञ्जाल बनाएर यसको अनुगमन समेत गरिनेछ। जगद्गुरुबाट लगेको वा आफूले पालिरहेका गाई छाड्नेलाई सामाजिक रूपमै बहिष्कार गरिने धामीले बताए।नियन्त्रणमा लिएका चौपायाभोकभोकै मर्दै
टीकापुर नगरपालिकाले नियन्त्रणमा लिएका करिब ६ सय गाईगोरु आहार नपाएर मर्ने अवस्थामा छन्। भुराखानी सामुदायिक वनमा तारबार घेरेर नगरपालिकाले गाईगोरु नियन्त्रणमा राखेको छ। गाईगोरु नियन्त्रणका लागि नगर कार्यपालिकाका सदस्य अक्कल माझीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ। समितिले छाडा गाईगोरु नियन्त्रण र व्यवस्थापनको जिम्मा लिएको नगरपालिकाले जनाएको छ।

नगरस्तरीय कमिटीको मातहतमा नागरिकस्तरमा डम्बर बुढाको संयोजकत्वमा एउटा अर्को कमिटी बनाइएको छ। नागरिकस्तरको कमिटीले गाईगोरुको व्यवस्थापन गरिरहेको छ। करिब ३ बिघा क्षेत्रफलमा तारबार घेरेर राखिएको नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए। उनले भने, ‘गाईगोरु थुनेर त राख्यौं। पाल्नै धौधौ भइरहेको छ।’

ठकुल्लाका अनुसार दैनिक करिब ४ ट्रयाक्टर पराल चाहिन्छ, तर पराल पुर्‍याउनै सकिएको छैन। थुनिएका गाईगोरुलाई मुस्किलले बाँच्ने खानेकुरा उपलब्ध गराइएको छ। ‘एक ट्रली परालको १० हजार रुपैयाँ पर्छ। एक दिनमा ४ ट्रली खान दिएपछि ४० हजारको पराल, अनि म्यानपावर खर्च जोड्दा दैनिक ५० हजार जति हुन्छ। कसरी खर्च धान्नु?’ उनले भने।

कमिटीका संयोजक डम्बर बुढाले एक चौथाइ गाईगोरुले पनि खान नपाएको बताए । उनले भने, ‘थुनिएका ठाउँमा एउटा पनि हरियो घाँसपात बाँकी राखेका छैनन्। खान भ्याएसम्म रुखको बोक्रा पनि बाँकी छैन।’हाल ४ ट्रली पराल चाहिने ठाउँमा एक ट्रली पनि पुर्‍याउन सकिएको छैन। खान नपाएर हो कि के हो, दैनिकजसो मर्छन्। एक महिनाको अवधिमा करिब एक सय गोरु मरिसके।

थुनिएका गाईगोरुलाई बाघले पनि खाइदिने गरेको संयोजक बुढाले बताए। उनले भने, करिब १० वटा जति गाईगोरु बाघले खायो।केही समयअघि यहाँका स्थानीय तहले छाडा गाईगोरु ट्रकमा राखेर पहाडी जिल्लामा पनि पठाए। छाडा पशु अछाम, सुर्खेत, दैलेख, कालीकोट, लगायतका पहाडी जिल्लामा पठाइएको स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन्। लम्कीचुहा नगरपालिकाले एक हजार बढी, टीकापुर नगरपालिकाले करिब ४ सय गोरु पहाडी जिल्ला पठाएको जनाएको छ।

पहाडी जिल्लामा गाईगोरु लैजानेहरूलाई प्रतिगोटा ५ सयदेखि एक हजार रुपैयाँसम्म पारिश्रमिकको व्यवस्था स्थानीय तहले गरेका थिए। टीकापुर नगरपालिकाले गाईगोरु पहाडी जिल्लामा पठाउन करिब २ लाख र लम्कीचुहा नगरपालिकाले करिब १० लाख रुपैयाँ खर्च भएको जनाएको छ।‘स्थानीय चुनावमा छाड्दा पशुचौपाया नियन्त्रण गर्ने प्रतिबद्धता गरेका थियौंं, चौपाया नियन्त्रणको उपाय खोज्ने क्रममा गाईगोरु बाहिर पठाउने योजना बनायौं।’ लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईंले भने।
छाडा गाईगोरुका कारण यहाँका किसान आक्रान्त बनेपछि स्थानीय चुनावमा यसको नियन्त्रण प्रमुख चुनावी मुद्दा बनेको थियो। छाडा गाईगोरु लैजाने व्यक्तिले पहाडी क्षेत्रमा ५ सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेका जनाइएको छ।

टीकापुर नगरपालिकाले छाडा पशु नियन्त्रणमा सघाउ पुग्ने भन्दै पशु बिमा कार्यक्रम पनि लागू गर्‍यो। छाडा गाईगोरु पहाडी जिल्ला पनि पठायो। काँडेतार लगाएर पनि राख्यो। तर छाडा पशुहरू अझै पूर्ण नियन्त्रण भइसकेका छैनन्। नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले भने, ‘तारबार गरेर गाईगोरु थुन्न नगरपालिकाले लगानी गर्‍यो। अब पाल्ने कसरी? लगानी अनुसारको आम्दानी शून्य छ।’छाडा गाईगोरुले दु:ख दिन थालेपछि धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका भजनी नगरपालिका लगायतका स्थानीय तहले कान्जीगृह बनाएका छन्। छाडा गाईगोरु नियन्त्रण कसरी गर्ने भनेर कैलाली र कञ्चनपुरमा छुट्टाछुट्टै रूपमा स्थानीय तहका प्रमुखहरूको पटकपटक बैठक समेत भएको हो।

प्रतिक्रिया दिनुहोस्