के सी ‘आजीवन’ राष्ट्रपति बन्न लागेका हुन् ?



चीनको नेसनल पिपुल्स कंग्रेस (एनपिसी) र उच्च राजनीतिक सल्लाहकार निकाय चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी)को बैठक बेइजिङमा सुरु भएको छ । दुवै बैठकले चीनको राजनीतिक मञ्चमा विशेष महत्व राख्छन् ।

चीनको संसद् मानिने एनपिसीले केही सात्राभित्रै संविधानमा हुने महत्वपूर्ण परिवर्तनलाई लाहाछाप लगाइदिने अनुमान गरिएको छ, जसलले राष्ट्रपति सीलाई अझै सशक्त बनाउनेछ । एनपिसीले चिनियाँ राष्ट्र«पतिको विद्यमान दुई कार्यकाललाई अन्त्य गरिदिने प्रायः निश्चित छ । यसको अर्थ राष्ट्रपति सी ‘अनन्तकाल’सम्म शक्तिमा रहनेछन् र संविधानमा सी जिनपिङ चिन्तनलाई समावेश गरिनेछ ।

नेसनल पिपुल्स कंग्रेस
नेसनल पिपुल्स कंग्रेस (एनपिसी) चीनको संसद् हो । बेलायतको संसद् हाउस अफ कमन्स र अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभजस्तै चीनको संसद् एनपिसी हो । संविधानअनुसार एनपिसी राज्यको महत्वपूर्ण र शक्तिशाली निकाय हो तर अन्तर्राष्ट्रिय समुदायले भने यसलाई बारम्बार ‘रबर स्ट्याम्प’को बिल्ला भिराउँदै आएको छ, जसले जे पारित गर्न निर्देशन दिइन्छ त्यसलाई आँखा चिम्लिएर समर्थन गर्छ ।

यो वर्ष एनपिसीमा चीनका विभिन्न प्रान्त, स्वायत्त क्षेत्र, केन्द्रद्वारा प्रशासित नगरपालिका, हङकङ र मकाउको विशेष प्रशासित क्षेत्र र सशस्त्र फौजका गरी २९ सय ८० प्रतिनिधि छन् । यसमध्ये २५ प्रतिशत अर्थात् सात सय ४२ महिला छन् भने चार सय ३८ जना जातीय अल्पसंख्यक समुदायका छन्।

के हो चीनको शक्तिशाली सल्लाहकार निकाय ?
चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) चीनकै सर्वाधिक शक्तिशाली राजनीतिक सल्लाहकार निकाय हो । यो बेलायतको माथिल्लो सदन हाउस अफ लर्ड वा अमेरिकी सिनेटजस्तै हो । स्वभावतः सिपिपिसिसी कठोर सल्लाहकार निकाय हो तर यसको कुनै पनि विधायिक शक्ति हुँदैन । वर्तमान सिपिपिसिसीमा मनोरञ्जन, खेलकुद, विज्ञान, व्यापार र गैरकम्युनिस्ट पार्टीका समेत गरी २१ सय ५८ सदस्य छन् ।

अन्तर्राष्ट्रिय समुदायले बारम्बार ‘रबर स्ट्याम्प’को बिल्ला भिराएको चीनको नेसनल पिपुल्स कंग्रेस (एनपिसी)ले स्थायी समितिको निर्णयलाई हुबहु पारित गर्छ

यी दुई शक्तिशाली बैठक (लियाङ हुई) परम्पारगत रूपमा एकदेखि दुई सातासम्म चल्छन् । सिपिपिसिसीको बैठक यही ३ मार्चदेखि सुरु भएको छ भने एनपिसी बैठक ५ मार्चदेखि सुरु भएको छ।

के आशा गर्न सक्छौँ ?
पार्टीको महाधिवेशन सम्पन्न भएको पृष्ठभूमिमा सुरु भएका यी दुवै बैठकले विशेष महत्व राख्छन् । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन गत वर्षको अक्टोबरमा सम्पन्न भएको थियो । महाधिवेशनले राष्ट्रपति सी जिनपिङलाई माओत्सेतुङपछिकै शक्तिशाली नेताको मान्यता दिँदै संविधानमा सीको आदर्श नै समावेश गर्ने निर्णय गरेको थियो । जारी एनपिसी बैठकले राष्ट्रपति सी जिनपिङको चिन्तनलाई संविधानमा समावेश गर्ने विषयलाई पारित गर्नेछ । त्यस्तै, राष्ट्रपति जिनपिङको दोस्रो कार्यकाल औपचारिक रूपमा सुरु भएको घोषणा गर्नेछ । त्यस्तै, बैठकले राष्ट्रपतिको दुईवर्षे कार्यकाललाई सीमित गर्ने विद्यमान प्रणालीलाई अन्त्य गर्दै राष्ट्रपति सीलाई अनन्तकालसम्म शक्तिमा रहने बाटो खुला गर्नेछ । बैठकले भ्रष्टाचारविरोधी दुई नयाँ शक्तिशाली निकाय स्थापना गर्ने कानुन पारित गर्नेछ । दुई बैठकले आर्थिक सुधारबारे विशेष योजना ल्याउनेछ । राष्ट्रपति सीका दुई मुख्य योजना भ्रष्टाचार नियन्त्रण र वातावरण संरक्षणबारे केन्द्रित हुनेछ । यसैबीच, सिपिपिसिसीले केन्द्रीय र स्थानीय सरकारका विगतका योजना समीक्षा गर्नुका साथै भविष्यका योजना तय गर्नेछ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्