नेपाल यसरी बन्न सक्छ बलिउडको सुटिङ गन्तव्य



नयाँ दिल्लीः नेपाललाई भारतीय चलचित्रको सुटिङ गन्तव्य बनाउन सरकारले एकद्वारा नीति बनाउन आवश्यक रहेको नेपाली चलचित्र जगतका विज्ञ नीर शाहले बताएका छन् ।

अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठान भारतको आयोजना तथा नेपाली दूतावासको सहयोगमा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा शाहले भारतीय निर्माताहरूले चलचित्र सुटिङका क्रममा हुने प्रशासनिक कठिनाइले नेपाल जान गाह्रो भएको गुनासो गरेको बताए ।

भारतीय चलचित्र निर्माता तथा चलचित्र केन्द्रीय फिल्म प्रमाणन बोर्डका भूतपूर्व अध्यक्ष पहलाज निहलानीले दिएको सुझाव उद्धृत गर्दै नेपाली चलचित्रका अनुभवी निर्माता निर्देशक शाहले यसो भनेका ुहन् ।

‘निहलानीसँग यसबारे कुरा हुँदा नेपाल सरकारले भारतीय चलचित्रहरूलाई सुटिङ गन्तव्य बनाउन एकद्वारा नीति बनाउनुपर्छ उनले भनेका थिए । एक ठाउँमा एकैपटक पैसा तिरिसकेपछि सबै प्रशासनिक प्रक्रिया पुरा हुने नीति ल्याउनुपर्छ’, शाहले भने, ‘अहिले अलमल (कन्फयूजन) छ, यस्तो हुँदा भारतीय निर्मातालाई योजना बनाउन गाह्रो
हुन्छ ।’

भारतीय चलचित्रको ओभरसिज सुटिङ गन्तव्य

युरोपियन मुलुकतर्फ आकर्षित भएको भारतीय सिनेमाको ओभरसिज सुटिङको गन्तव्य मलेसिया, सिंगापुर, दुबई लगायत छन् । पछिल्ला समय भारतीय टेलिसिरियल सुटिङका लागि बाह्य मुलुकतर्फ आकर्षित हुने गरेका छन् ।

त्यस्ता मुलुकहरूले पर्यटकीय योजनामा यस्ता समूहका लागि आकर्षक प्याकेज राखेका हुन्छन्, नीति नियमको प्रक्रिया झन्झटमुक्त बनाएका हुन्छन् । नेपाल सरकारको नीति तथा पर्यटन बोर्डको संयुक्त प्रयासले मात्र नेपाल भारतीयहरूको सुटिङ गन्तव्यको अग्रपङ्क्तिमा आउन सक्छ ।

बलिउडका महानायक अभिताभ बच्चन तथा भर्खरै देहावसान भएकी चर्चित अभिनेत्री श्रीदेवी अभिनित ९० को दशकको सुपरहिट चलचित्र ‘खुदा गवाह’को सुटिङका दौरान जोमसोममा भेट भएका सुटिङ युनिटसँगको कुराकानी स्मरण गर्दै ऐतिहासिक चलचित्र सेतोबाघ निर्माता शाहले भने, ‘उनीहरूले त्यति बेला पनि नेपालमा सुटिङ गर्नका लागि पुर्या‍उनु पर्ने प्रशासनिक प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए ।’

त्यस्ता मुलुकहरूले पर्यटकीय योजनामा यस्ता समूहका लागि आकर्षक प्याकेज राखेका हुन्छन्, नीति नियमको प्रक्रिया झन्झटमुक्त बनाएका हुन्छन् । नेपाल सरकारको नीति तथा पर्यटन बोर्डको संयुक्त प्रयासले मात्र नेपाल भारतीयहरूको सुटिङ गन्तव्यको अग्रपङ्क्तिमा आउन सक्छ ।

यद्यपि भारतसँग भाषा ,संस्कृतिको समानताकासाथै सुन्दर दृश्यावलोकनका लागि विश्वकै आकर्षक गन्तव्यमध्येको एक नेपालमा पछिल्लो समय दक्षिण भारतीय चलचित्रको आकर्षण बढेको छ । तमिल, तेलगु, मलयालम तथा भोजपुरी चलचित्रहरूको छायाङ्कन नेपालमा भइरहेको छ । अर्कोतर्फ भारतीय टेलिसिरियल उद्योगकै पनि सुटिङ गन्तव्य बन्न सक्ने सम्भावना छ ।

७० को दशकको सुपरहिट भारतीय चलचित्र ‘हरेरामा हरेकृष्ण’ देखि, महान्, खुदा गवाह जस्ता अत्यधिक सफल चलचित्र नेपालमा सुटिङ भएका थिए । त्यसका अलावा युद्ध, बेकाबु, घरबाली बाहरबाली, लभ इन नेपाल, दीवाना मै दीवाना लगायतका असफल चलचित्र समेत नेपालमा छायाङ्कन भएका थिए ।

पछिल्लो समय अक्षय कुमार अभिनित औसत सफल चलचित्र बेबीको आंशिक छायाङ्कन नेपालमा भएको थियो । ‘नीति सहज र सरल बनाएमा बलिउड चलचित्रको आकर्षण अझ बढ्छ’, शाहले भने । यद्यपि अहिले पनि भारतका चर्चित निर्माता–निर्देशक विशाल भारद्वाजको नयाँ चलचित्रको सुटिङ नेपालमा गर्ने तय भइसकेको छ ।

आगामी महिनादेखि नेपालका विभिन्न स्थानमा छायाङ्कन गर्ने भनिएको यो चलचित्र यसका कलाकारद्वय इरफान खान तथा दीपिका पादूकोणको अस्वस्थताका कारण केही पछि धकेलिएको छ । तर भारद्वाजले केही समय भित्रै नेपालमा सुटिङ गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसरी सम्झिए श्रीदेवीलाई

भारतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार हुने दिन नै कार्यक्रममा सहभागी भएका शाहले खुदा गवाहको सुटिङका दौरान श्रीदेवीसँगको भेटलाई स्मरण गरे । श्रीदेवी र उनका परिवारप्रति श्रद्धान्जली दिँदै उनले भने, ‘खुदा गवाहको जोमसोममा भएको सुटिङका दौरान मैले उनलाई भेटेको थिएँ, उनको अभिनय गर्ने कलालाई नजिकबाट नियालेको थिए , उनी उत्कृष्ट अदाकारा थिइन् अनि सरल स्वभावकी । चलचित्र निर्माणमा सहभागी भएका नेपाली कलाकारसँग उनले निकै समय पनि बिताएकी थिइन’ ।

भारतीय कलाकारहरूसँग राम्रो सम्बन्ध रहेको बताएका शाहले नेपाली चलचित्र एशोसिएन तथा सम्पूर्ण नेपाली कलाकारहरूको तर्फबाट बोनी कपुृर तथा परिवारप्रति उनले समवेदना प्रकट गरे ।

नेपाली चलचित्रको गुणस्तर र भारतीय चलचित्रको प्रभाव

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा कवि, गीतकार, साहित्यकार समेत रहेका शाहले पाँच दशक लामो चलचित्र जगतको अनुभव सुनाए । कार्यक्रममा सहभागी नेपाल तथा भारतका युवा विद्यार्थी नेता तथा दिल्लीमा अध्ययनरत सिए विद्यार्थीहरूसँग नेपाली तथा भारतीय चलचित्रको नजिकको सम्बन्ध तथा नेपाली चलचित्र जगतको विगत तथा वर्तमानको केस्रा केस्रा केलाएका थिए ।

नेपाली चलचित्रमा भारतीय चलचित्रको प्रभावबारे लाग्दै आएको आरोपका बारे स्पष्ट पार्दै उनले भने ‘नेपाली चलचित्रको निर्माणको सुरुवात नै भारतीय जनशक्तिको प्रयोगबाट भएको हो । पहिलो चलचित्र आमाका निर्देशक नेपाली मूलका भारतीय हिरा सिंह, पहिलो सिनेम्याटोग्राफर वेस्ट बङ्गालका देउजी भाइ, पहिलो दृश्य सम्पादक महाराष्ट्रका हरिश प्रसारे, पहिलो चलचित्र पाश्र्व गायिका आशा भोसले,पहिलो पाश्र्व गायक मन्नाडे, पहिलो सङ्गीतकार पण्डित भी बलसारा, जग नै यसरी सुरु भएको थियो भने नेपाली सिनेमामा भारतीय प्रभाव हुँदैन भनेर अपेक्षा गर्नु तर्कसङ्गत हुँदैन ।’

‘जबदेखि त्यो निरन्तरताबाट नेपाली फिल्म मेकरहरु मुक्त भए, नेपाली जनशक्ति नै यी सबै कामहरू गर्ने समय आयो, नेपाली चलचित्रमा अपनाइने भारतीय शैलीमा परिवर्तन आउन थाल्यो र मौलिक पहिचानका चलचित्र बन्न थालेको छ । यद्यपि सिनेमामा गुणस्तरीयता आउन अझै बाँकी छ, ’ उनले थपे ।

‘नेपाली चलचित्रको निर्माणको सुरुवात नै भारतीय जनशक्तिको प्रयोगबाट भएको हो । पहिलो चलचित्र आमाका निर्देशक नेपाली मूलका भारतीय हिरा सिंह, पहिलो सिनेम्याटोग्राफर वेस्ट बङ्गालका देउजी भाइ, पहिलो दृश्य सम्पादक महाराष्ट्रका हरिश प्रसारे, पहिलो चलचित्र पाश्र्व गायिका आशा भोसले,पहिलो पाश्र्व गायक मन्नाडे, पहिलो सङ्गीतकार पण्डित भी बलसारा, जग नै यसरी सुरु भएको थियो भने नेपाली सिनेमामा भारतीय प्रभाव हुँदैन भनेर अपेक्षा गर्नु तर्कसङ्गत हुँदैन ।’

नेपालमा वार्षिक निर्माण हुने गरेको सरदर २ सय ५० चलचित्रमा १५ प्रतिशत स्तरीय बन्न थालेको दाबी गर्दै शाहले भने,‘त्यही चलचित्रले ८५ प्रतिशत गुणस्तरहीन चलचित्रले निम्त्याएको विकृतिलाई बिस्थापित गरेको छ र नेपाली चलचित्र उद्योग डेन्जर जोनबाट बाहिर आएको छ ।’

भारतीय सिने जगत्ले नेतृत्व लेओस्

नेपाली चलचित्र क्षेत्रका विज्ञ तथा भारतीय सिनेमाका जानकार शाहले भारतीय सिनेमा जगत्ले विश्व सिनेमालाई नेतृत्व गर्नुपर्ने समय आएको उल्लेख गरे । विश्वको चलचित्र उद्योग मुख्यतया दुई धार ( पूर्वी तथा पश्चिमी सभ्यता) मा विभाजित रहेको भन्दै वासुदेव निर्माता शाहले भने, ‘पश्चिमाहरू श्रोत, साधन तथा प्रविधिमा अब्बल छन् । उनीहरूका चलचित्रका सफलतालाई धेरै हदसम्म त्यसले निर्देशित गरेको छ । तर पूर्वी सभ्यता कथा र विषयवस्तुमा धनी छ । यो कुरालाई पश्चिमाहरूले क्यास गर्न थालिसकेका छन् । पछिल्लो उदाहरण स्लमडग मिलेनियर हो । ’

भारतीय युवा नेता तथा विद्यार्थीहरूसमेत सहभागी कार्यक्रममा बोल्दै शाहले विश्व सिनेमा बजारमा दबदबा रहेको पश्चिमाहरूले पूर्वी सभ्यताका कथावस्तुमा होल्ड गर्नु अघि भारतीय सिनेमा जगत् अगाडि आउनुपर्ने बताए । ‘बाह्य विज्ञहरूले यस क्षेत्रका कथावस्तुलाई पर्दामा उतार्दा मौलिकतासँग त्यति न्याय हुन सक्दैन जति सो विषयवस्तुसँग भिजेकाहरुले बनाउँदा हुन्छ’, उनले भने, ‘पूर्वीय सभ्यताको सबैभन्दा ठुलो सिनेमा उद्योग भारतको रहेको हुँदा उसैले यसको नेतृत्व लिनुपर्छ ।’

नेपालको आन्तरिक चलचित्र निर्माणमा पनि हाम्रो मौलिक विषयवस्तु बाह्य निर्माता निर्देशकले बनाए भने चित्त बुझाउन सक्दैनौँ । नेपाल विभिन्न जातजाति तथा संस्कृतिको मौलिकता छ । मिथिलान्चलको कला संस्कृतिको मौलिकता, लिम्बुवान, थारु संस्कृति लगायत ऐतिहासिक, पौराणिक मौलिकता बोकेका विषयवस्तु छन् , हामीले पनि यसलाई आफ्नो नेतृत्वमा सिनेमामा उतार्नुपर्छ, ओस्कार अवार्डका लागि मनोनीत पहिलो नेपाली चलचित्र क्याराभानका कलाकार शाहले भने ।

विद्यार्थी जीवन सम्झेर नोस्टाल्जिक

विद्यार्थीहरू तथा युवा नेताहरूसँगको भेटले शाह दार्जिmिलङ्गको सेन्ट जोसेफ कलेजमा अध्ययनरत रहँदाका दिन सम्झेर नोष्टाल्जिक भए । नेपाली भाषालाई भारतको क्षेत्रीय भाषामा समावेश गराउने भाषिक आँदोलनमा सहभागी भएको स्मरण गरे उनले ।

‘नेपाल–भारतको विशेष सम्बन्धका विशेषताहरूका आधारमा राजनीति गर्नेहरुले मुलुकको समृद्धिलाई ध्यानमा राखेको भए सम्भवत अहिले हाम्रो अवस्था अर्कै हुनेथ्यो’, उनले भने, ‘तर मुलुक हाँक्नेहरुले राजनीति गर्ने हतियारको रूपमा दुई मुलुकको सम्बन्ध अघि बढाए त्यसैले यो अनुत्तरित प्रश्न रह्यो । तर सिनेमाको क्षेत्रमा यत्र अनुभव र विज्ञता हासिल गरिसकेको मुलुक भारत भएपछि नेतृत्व सिनेमा नै नबनाउने अथवा सानो उद्योग भएको मुलुकले लिने भन्ने प्रश्न नै आउँदैन ।’

विद्यार्थीहरूले पछिल्लो समयमा विकसित घटनाक्रम अनुरूप बाह्य मुलुकले नेपालमा जे गरे पनि खुसी हुने तर भारत प्रति सकारात्मक हुन नसक्ने अवस्थामा भारतले पूर्वीय सिनेमाको नेतृत्व गर्ने कुरामा नेपालीको सोचको बारे विद्यार्थीले गरेको जिज्ञासामा प्रजातान्त्रिक विचारधाराको समर्थक बताएका शाहले आफ्नो धारणा राखे । ‘नेपाल–भारतको विशेष सम्बन्धका विशेषताहरूका आधारमा राजनीति गर्नेहरुले मुलुकको समृद्धिलाई ध्यानमा राखेको भए सम्भवत अहिले हाम्रो अवस्था अर्कै हुनेथ्यो’, उनले भने, ‘तर मुलुक हाँक्नेहरुले राजनीति गर्ने हतियारको रूपमा दुई मुलुकको सम्बन्ध अघि बढाए त्यसैले यो अनुत्तरित प्रश्न रह्यो । तर सिनेमाको क्षेत्रमा यत्र अनुभव र विज्ञता हासिल गरिसकेको मुलुक भारत भएपछि नेतृत्व सिनेमा नै नबनाउने अथवा सानो उद्योग भएको मुलुकले लिने भन्ने प्रश्न नै आउँदैन ।’

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सन्दीप रानाले नेपाल भारत सम्बन्धबारे बृहत् छलफल गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपाल भारत सम्बन्धका विविध आयाम छलफल गर्न नियमित रूपमा यस्ता कार्यक्रमको आयोजना गर्छौँ । ’(अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्