परम्परा जोगाउँदै नेवार



बागलुङ, १८ फागुन

यहाँको नेवार समुदायले यो वर्षको फागु पर्व (होली) परम्परागत शैलीमै मनाए ।

नेपाल भाषा मंका खल बागलुङले पुरानै विधि र स्वरुपमा होलीलाई पुनर्जागरण गरेको होे ।

गुम्नै लागेको होलीको मौलिकता जोगाइएको नेपाल भाषा मंका खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । बागलुङको नेवार समुदायमा होलीको इतिहास ३०० वर्ष पुरानो छ । “पहिलेकै पुस्ताले झैँ दुरुस्त गर्न नसके पनि होलीको पहिचान मर्न दिएनौँ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो ।

खलको नयाँ नेतृत्वले होलीलाई व्यवस्थित र संस्थागत गरेको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो । आधुनिक संस्कृतिको जगजगी भएका बेला परम्परा टिकाउनु ठूलो उपलब्धि भएको उहाँको भनाइ छ ।

“फागु पर्वको ऐतिहासिक महत्व छ, यसको आफ्नै पन छ”, संस्कृतिकर्मी छोटाले भन्नुभयो, “यसको संरक्षण हुनुपर्छ ।” फागुमा गाइने गीतको मौलिकता हराइसकेको उहाँको अनुभव छ । अहिलेको पुस्ताले गीत गाउने प्रयास गरे पनि त्यसको मर्म टुटेको संस्कृतिकर्मी छोटाले बताउनुभयो ।

खलको प्रयासमा यो वर्ष फागुको गीत गाउँदै, रंग खेल्दै स्थानीयवासीले नगर परिक्रमा गरेका थिए । फागुमा पुजिने भगवान्लाई भोग दिने, पूजाआजा गर्ने, फागुको गीत गाउँदै फर्कने चलन पछिल्लो समय हराएको थियो ।

होलीमा कालिका भगवती मन्दिरमा नेवार समुदायले गर्ने पूजाआजा पुनः शुरु गरिएको खलका अध्यक्ष राजभण्डारीले बताउनुभयो । “पछिल्ला वर्षहरुमा पूजाआजा गर्ने चलन टुटेको थियो”, उहाँले भन्नुभयो, “बोकाको भोगसहित कालिका भगवती र गणेश मन्दिरमा विशेष पूजाआजा ग¥र्यौं ।”

पूजाआजापछि नौबिसेटोलस्थित भोटे बारीमा जम्मा भई भोज ग्रहणपछि फागुको गीतमा नाचगान गर्दै, रंग खेल्दै बजार परिक्रमा गरिएको उहाँले उल्लेख गर्नुभयो । नेवारहरुले गैरनेवार समुदायका पाहुनालाई पनि आमन्त्रण गरेर भोज खुवाउने र सँगै होली खेल्ने चलन बसालेका छन् ।

फागु पर्वको उल्लास वर्षेनी बढ्दै गएको स्थानीयवासी महेशचन्द्र प्रधानले बताउनुभयो । कलाकारसमेत रहनुभएका प्रधानले फागु गीत–संगीतको मौलिकपन नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको उल्लेख गर्नुभयो ।

“हामीले बचाउने कोसिस त गरेका छौँ, तर यो अप्रयाप्त छ”, उहाँले भन्नुभयो । मौलिक संस्कृतिको संरक्षणका योजना बनाएर लाग्नुपर्ने प्रधानको सुझाव छ । प्रेम, सद्भाव र भाइचाराको प्रतीकका रुपमा मानिने फागु पर्व (होली) को मूल्य र परम्परा धान्नु आफँैमा महत्वपूर्ण कार्य हो । रंगहरुको पर्व भनेरसमेत चिनिने होलीको प्रभाव हिजोआज शहर हुँदै गाउँसम्म फैलिएको छ ।

होलीलाई विशेष गरी शहरी युवाले धुमधामसँग मनाउने गरेका छन् । हिन्दू परम्परामा प्राचीन पर्वको ठाउँ ओगटेको होली एकापसमा रङ खेलेर मनाउने चलन छ ।

युवा पुस्ताले होलीलाई स्वच्छन्द रुपमा मनाउन चाहन्छ । यो वर्ष पनि ‘डिजे लाइभ कन्सर्ट’ सहित यहाँका युवाले उल्लासपूर्ण वातावरणमा होली मनाए । हिन्दू संस्कृतिमा होली पर्वलाई भगवान् विष्णुका परम भक्त प्रह्लादसँग जोडेर हेर्ने गरिन्छ ।

सत युगमा हिरण्यकश्यपका पुत्र प्रह्लादलाई उनकी फूपू होलिकाले आगोमा भष्म पार्न लाग्दा आफैँ आगोमा भष्म भएको दिनदेखि होली पर्व शुरु भएको किंवदन्ती छ । होली पर्व वर्षेनी फागुन शुल्क पूर्णिमाको दिन मनाउने गरिन्छ । वसन्त ऋतुमा पर्ने हुँदा फागु पर्वलाई प्रेम र यौनिकतासँग पनि जोडेर हेरिन्छ ।

प्रतिक्रिया दिनुहोस्