मिथिला संस्कृतिमा आधारित एकल कला प्रदर्शनी शुरु



काठमाडौँ, १८ फागुन

मिथिला संस्कृतिमा आधारित आठदिने एकल कला प्रदर्शनी मिथिलाएँ आर्ट ग्यालरी क्षेत्रपाटीमा शुरु भएको छ ।

प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य मिथिलादेवी यादवका २० कलाकृति छन् । यादवले विसं २०४५ देखि कलाकारिता शुरु गर्नुभएको थियो ।

फागुन २३ गतेसम्म चल्ने प्रदर्शनीको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले मिथिला संस्कृति पुस्तान्तरसम्म पुर्याउन प्रदर्शनीले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

उहाँले संस्कृति बचाउन पुस्तक जस्तै कलाकृतिको पनि भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानकी उपकुलपति शारदा चित्रकार, सदस्य सचिव नवराज भट्ट, प्राज्ञ सदस्यद्वय सुषमा राजभण्डारी र नारदमणि हार्तम्छालीलगायतले मिथिला संस्कृतिको संरक्षणमा प्रदर्शनीले सहयोग पुर्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्