ल्होछार तथा नयाँ वर्ष मनाउँदै बौद्ध धर्मावलम्बिहरु



काठमाडौँ, ४ फागुन
बौद्ध महायानी धर्मालम्बिहरुले शुक्रबार ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होल्मोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत केहि हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउँदैछन् ।

सोनाम कृषि ल्होथो अर्थात पात्रो अनुसार मलमास परेकोले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकै दिन परेको छ ।

सरकारले माघ ४ गते नै सोनाम ल्होछारको बिदा दिएपनि तामाङ समुदायले आफुहरुको तिथी र पात्रो अनुसार नमिलेको भन्दै मनाएका थिएनन् ।

त्यसैले सोनाम र ग्याल्बो दुवैले शुक्रबार मनाउदैछन् । आजको दिन बिहानै नुहाइधुवाइ गरी घरघरमा तथा गुम्बाहरुका गएर पुजापाठ गर्ने, प्रसाद खाने, नयाँ वस्त्र लगाएर शुभकामना आदनप्रदान गर्ने, मिठा परिकार खाने तथा समुहीक नाचगान गरेर हर्सोउल्लासका साथ मनाउने गरिन्छ ।

यस्तै आफुभन्दा ठुलाबडासँग टिका ग्रहण गरी आर्शिवाद थाप्ने प्रचलन छ । आजको दिन तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटि), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन छ । आज देखि ल्होछार मान्ने समुदायले कुकुर वर्षलाई स्वागत गरेका छन् ।

हरेक वर्ष १ वटा जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यता अनुसार यो वर्ष चरा वर्षको बिदाई गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिनुभयो । यसैबिच राष्ट्रिय सोनाम ल्होछार २८५४ को अवसरमा तामाङ समुदायमा रौनक छाएको छ ।

काठमाडौको तिनकुने कोटेश्वरमा आज र भोलि सांस्कृतिक महोत्सव हुदैछ । महोत्सवको आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुहुने ल्होछार मुल समारोह समितीका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए ।

उनका अनुसार औपचारिक कार्यक्रम शुरु हुनुअघि काठमाडौंको सिनामंगल, नयाँ बानेश्वर र ललितपुरको बालकुमारीबाट सास्कृतिक झाँकीसहितको र्याली निकालिदैछ ।

प्रतिक्रिया दिनुहोस्