बर्दिवासमा फागुन १६ देखि महोत्सव सुरु हुने



बर्दिवास, १४ माघ
बर्दिवास नगरलाई व्यापारिक केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ बर्दिवास महोत्सवको आयोजना गरिने भएको छ ।

बर्दिवास उद्योग वाणिज्य संघले शनिबार पत्रकारसम्मेलन आयोजना गरी महोत्सव फागुन १६ देखि २६ गतेसम्म आयोजना हुने जनाएको छ ।

जिल्लाका विशिष्ट उत्पादनको पहिचान बढाउन, बजार विस्तार गर्न र बर्दिवासको व्यापारिक सम्भावनाबारे व्यापारी र उपभोक्तालाई विश्वस्त बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका महासचिब भवनाथ खतिवडाले बताए । महोत्सवमा बर्दिवास क्षेत्रमा उत्पादन हुँदै आएका कृषि उपज खासगरी तरकारी र मसलाको प्रदर्शनी गरिने संघको तयारी छ ।

महोत्तरीको बर्दिवास नगर क्षेत्रका माईस्थानको परबल, बिजलपुरा र पशुपतिनगरको हरियो तरकारी र हाथिलेट क्षेत्रमा उत्पादित उखुको सख्खर स्वादमा विशिष्ट मानिन्छ ।

महोत्सवमा मुलुककै प्रसिद्ध कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुति, कृषि मेला प्रदर्शनी र स्थानीय विभिन्न भाषाभाषीका सांस्कृतिक झाँकी प्रदर्शन गरिने समेतका कार्यक्रम गरिनेछ ।

करिब रु ५० लाख खर्च हुने अनुमान गरिएको महोत्सव एक लाखभन्दा बढीले अवलोकन गर्ने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्