नैतिक शिक्षा (कविता)



नेता महोदय,
नेपाली भाषा
संस्कृतिमाथि हमला नगर
अलिकति
नैतिकताको पर्खालमा
उभिएर हेर मूलूक
आधुनिक रेडियोमा
नेपाली बाजा किन बज्दैन
साहित्यकारहरूका
सिर्जनाहरू सुनाइँदैन
नेतामहोदय,
वर्गीय लडाई लडुनेहरूका
इतिहास किन लेखिँदैन
यति बेला
म नैतिक शिक्षाको
आँगन खोजिरहेछु
स्पातीमैदानमा ढलेका आवाजहरू
मलाई उठ भनिरहेछन्
हावाहरूले हल्लाएका
केराका पातहरूझैँ
किन बरबराउँछौँ

गम्भिर भएर सोचीरहेछु
मेरा मादल बजाउँने
कहाँछन् ,नेता महोदय
पटक पटक
मेरो धर्ममाथि किन आक्रमण
संकृतिको चिरहरण
खाराका र दुनैका सपनाहरूमा
आगो लगाउँने को हो
नेता महोदय
अनि
दोरम्बा र अनेकोटका
घाऊहरूमा मलम
लगाउँने कहाँ छ मान्छे
ओ ? नेता
तिम्रा धोतिहरू किन खुस्किन्छ हँ
म सोच मग्न छु

लोक बाजा बज्छ
लोक गीत बज्छ
मेरो निधारमा रहेको
टीकाको आलोचना गरेर
नेपाली अस्तित्व
किन मेट्छौ ?
बस र पार्कमा रमाइरहेका
अस्तित्व हिन मान्छेहरूलाई
तिम्रो विवेक केहो ? सोधीरहेछु
तिम्रो धर्म
मिथ्यामा कुर्सी मात्र हो ?
वा ! वा !
नेता महोदय ,
ईट्टा भट्टीमा
आजभोलि गधाहरू
भारी बोकीरहेछन्
तिम्रा मान्छेहरू
दिउँसै रामलिला गरिरहेछन्
खै ? नैतिक शिक्षा
तिमी विद्रोहका कुरा गर्छौ
खुशिरामका गीतहरू बज्दैनन
गणतान्त्रिक रेडियाहरूमा
किन ? नेता महोदय,

प्रतिक्रिया दिनुहोस्