चाडपर्वको मनोवैज्ञानिक महत्व



गोपाल ढकाल, मनोविद् २०७४-०७-०२

परिवर्तन खबर, काठमाण्डौ

हिन्दूहरूको महान पर्व दशैँतिहारको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि ठुलो महत्व रहेको छ ।  हाम्रा सबै चाडपर्वहरू कही न कही धर्मसँग जोडिएर आउने गर्दछन् । तर दशैँतिहार जस्ता महत्वका चाडपर्वलाई धर्मसँगमात्र सम्बन्धित नबनाएर परम्परा र संस्कृतिका रूपमा विकसित गरिंदै लैजानु पर्दछ ।  दशैँतिहार नेपालीहरूको मौलिक पर्व पनि हो । दशैँतिहार जस्ता राष्ट्रिय चाडपर्वहरूले राष्ट्रिय एकता, शान्ति र  सद्भाव कायम राख्न मद्दत समेत गरिरहेको हुन्छ साथै नेपाली हुनुको पहिचान र गौरव महसुस गराउँछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानिस पूर्णरूपमा स्वस्थ हुनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ हुनुपर्दछ । दशैँतिहार जस्ता चाडपर्वले मानिसलाई यी चारै किसिमबाट स्वस्थ्य रहनका लागि मद्दत पु¥याइरहेको हुन्छ । दशैँतिहार यस्तो मौसममा पर्छ जुनबेला खेती किसानी गर्ने व्यक्तिलाई कामको कुनै बोझ हुँदैन । कामको चपेटाबाट मुक्त भएर आराम गर्ने अवसर पनि हो यो ।  दशैँतिहारमा सबैले मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । चाडपर्वमा विशेष रूपमा खाइने खानेकुराले शारीरिक रूपमा स्वस्थ्य राख्न मद्दत पुर्याउँछ । दशैँतिहारमा खेलिने पिङले शारीरिक व्यायाम तथा मनोरञ्जन समेत प्रदान गरिरहेको हुन्छ । मनोरञ्जनले पिर, मर्का र तनावबाट छुटकारा मिल्छ । चाडपर्वको बेला एकअर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ । आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकरात्मक सोचको विकास गरिदिन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रबद्र्धन गर्न मद्दत गर्दछ ।

चाडपर्वको रमझमले खुसियाली र उमङ्ग लिएर आउँछ । यसको  अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउँछ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने चाड हो दशैँतिहार  । विदेशिएका धेरै नेपालीहरू दशैँतिहारको अवसरमा स्वदेश फर्किने समय कुरेर बसेका हुन्छन् । नाति नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दशैँतिहारले बढ्दै गएको जेनेरेशन ग्यापलाई समेत कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ । यसले आपसी रिस, राग पूर्वाग्रह हटाउँछ । चाडपर्वको बेला विभिन्न शक्तिपिठहरूमा गएर गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशाषित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।

मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । चाडपपर्वको मनोबैज्ञानिक प्रभाब बुझि यसलाई धर्मको रुपमा नहेरी चाडको रूपमा स्विकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ ।

पछिल्लो समय चाडपर्व खर्चिलो बन्दै गएको छ । “घाँटी हेरी हाड निल्नु” पर्दछ भन्ने मान्यता विपरीत जसरी पनि मिठोमसिना खानैपर्छ, जसरी पनि राम्रो लगाउनै पर्छ भन्ने चाहना र तडकभडकले चाडपर्व  बोझ र तनावपूर्ण बन्दै गएको छ । कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूका लागि दशैँतिहार दशाकै रूपमा परिणत हुँदै गएको छ । चाडपर्वलाई फजुल खर्च गर्ने अवसरको रूपमा होइन । आफूलाई उत्साहित गर्ने आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झै झगडा गर्ने जस्ता नकारात्मक पाटोलाई भने हटाउन आवश्यक छ ।

तिहार बत्ति, रङ्ग र फुलको पर्व हो । उज्यालो , चम्किलो र सुन्दर कुरा नै रोज, यसमा रमाउने प्रयास गर, भन्ने संदेश यसले दिएको हुन्छ । मानिसले अन्धायारो र नकारात्मक होइन सकारात्मक कुरा नै रोज्नु पर्छ । डिप्रेशनले गाजेको आजको समाजमा तिहारको झिलिमिलिले ठुलै औषधीको काम गरिरहेको हुन्छ ।

तिहारमा काग , कुकुर , गाई , गोरूको पुजा गर्नु भनेको उनिहरूको कामको सम्मान गर्नु हो । संसारका सबै प्राणीहरूले आफ्नो सम्मान र कामको कदर होस भन्ने चाहन्छन । तिहारको बेला पशुपंक्षीलाई पूज्ने कार्यले पशुपंक्षीको मान सम्मान र महत्व बढाउँछ । साथै मानव समाजसँगको सम्बन्ध र सम्पर्क प्रगाढ बनाउन मद्दत मिल्छ । अरूको कदर र गुणको पुजा गर्नु पर्छ चाहिए ति पशु वा आफुभन्दा साना नै किन नहुन । यो कुराको प्रष्ट संदेश तिहारमा   पाईन्छ । कसैले आफनो कामको सम्मान पाएन भने त्यहीबाट असमझदारी र असंतुष्टि बढछ । कलह र बिद्रोहको कारण पनि यहि हो । तिहारमा खेलिने देउशी भैलो मनोरन्जनको राम्रो माध्यम हो । मानसिक स्वास्थ्यका लागि मनोरन्जन ज्यादै महत्वपूर्ण हुन्छ । तिहारमा लक्ष्मी वा पैसाको पुजा गर्नुको अर्थ पैसाको कदर गर्न सिक्नु पर्छ भन्ने हो । घनि वन्ने हो भने पैसाको कदर र सम्मान गर्नै पर्छ । यसो नगर्ने मान्छे कहिल्यै धनि हुन सक्दैन ।

म्हः पूजा र भाइ  पुजाले त व्यक्तिको आत्मसम्मान बढाउन ठूलो काम गरेको हुन्छ । आत्मसम्मानको कमि हुँदा व्यक्तिमा बिभिन्न किसिमका मानसिक समस्याहरु देखिने गर्दछन । चेलीहरू बिबाह गरि अर्काको धरमा जाने भएकाले दाजुभाई र दिदि बहिनिबिचको सम्बन्ध टाढा हुदै जानसक्ने सम्भावना धेरै हुने हुदा माईती र चेली विचको सम्बन्ध गाढा बनाई राख्न तिहार जस्तो चाडको ठुलो महत्व छ । तिहारको मनोबैज्ञानिक महत्वलाई बुझौ र यसलाई धुमधामका साथ मनाऔं । तिहारको धेरै धेरै शुभकामना !

प्रतिक्रिया दिनुहोस्