पूर्व जनमुक्ति सेनाका बिग्रेडियर ‘संघर्ष’ को आक्रोश- ‘प्रचण्डको लागि अन्तिम युद्ध लड्न तयार छौँ’



पश्चिम रुकुमबाट पूर्व जनमुक्ति सेनाका ब्रिगेडियर कमाण्डर जयबहादुर घर्ती (संघर्ष) ले आवश्यक परे प्रचण्डको लागि आफू र आफ्ना थुप्रै साथीहरु अन्तिम युद्ध लड्न तयार रहेको बताएका छन् ।

घर्ती तात्कालिन समयमा नेपाल कम्युनिष्ट पार्टी माओवादी ले सञ्चालन गरेको १० बर्षिय जनयुद्धताका जनमुक्ति सेना नेपालका ब्रिगेड सहायक कमाण्डरको भूमिकासँगै स्वयेच्छिक अवकासपछि गृहजिल्ला फर्किएर आम जीवन बिताइरहेका छन् । नेपालको पछिल्लो नेकपाको पार्टीभित्र देखिएको खिचतानी, अनेक खालका राजनैतिक दाउपेच, जालझेल र षड्यन्त्र गरेर पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई विभिन्न तवर तरिकाले आक्रमण गर्ने र पार्टीभित्रकै (पूर्व एमाले खेमा) का कतिपय नेताकार्यकर्ताहरुले खुइल्याउन थालेपछि उनले आक्रोश व्यक्त गरेका हुन् ।

“नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नेदेखि राजतन्त्रको अन्त्य, समानूपातिक समावेशी हरेक पिछडिएका वर्ग, समुदाय, जातीय पहिचान आदि मुद्धाहरुमा यदि प्रचण्डले जोखिम नमोलेको भए आज देश कुन हालतमा पुग्थ्यो ? त्यसबेला पूर्व एमालेहरु कुन हालतमा थिए त्यो दुनियाँलाई थाहा भएकै कुरा हो । पछिल्लो समयमा नेपालमा कम्युनिष्टहरु ध्रुवीकरण हुने र एउटा मात्रै कम्युनिष्ट पार्टी बनाऔँ भन्ने उद्येश्यका साथ पार्टी एकता गरिएको हो । कसैको हेपाई, पेलाई र कुनै अमुख व्यक्तिलाई मात्र एकाधिकार प्रयोग गर्नको लागि पार्टी एकता गरिएको होइन । प्रधानमन्त्री केपी शर्मा ओलीले जुन खालको अभिव्यक्ति दिएका छन्, जुन खालको कार्यशैली अपनाएका छन्, के यसैका लागि हामीले जनयुद्ध लडेका थियौँ” ? घर्ती आक्रोश व्यक्त गर्छन् ।

“प्रचण्डले निर्देशन दिने हो भने हामी पूर्व जनमुक्ति सेनाहरु जतिबेला पनि प्राणको आहुती दिन तयार छौँ । तर प्रचण्डले पनि झुक्नु भएन, आँट गर्नुपर्यो । हामीहरु यसै चुप लागेर बसेका होइनौ । देशले एउटा निकास पाउला र हामीले नभएपनि हाम्रा भावी पुस्ताहरुले देशमा सुखशान्ती अमनचयनका साथ बाँच्ने एउटा आधार बनोस् भन्नका खातिर हामीले बन्दुक उठाएका हौँ । तर परिस्थिति बिग्रदै गइरहेको छ । त्यसैले यदि आवश्यक पर्छ भने हामीहरु बलिदानी दिन तयार छौँ । प्रचण्डले गम्भिर ढगंले सोच्नुपर्यो” । घर्ती थप्छन् ।

घर्ती १० बर्षिय जनयुद्धको क्रममा हालका उपराष्ट्रपति नन्दबहादुर पुन, हालका उर्जामन्त्री बर्षमान पुन, पूर्व गृहमन्त्री जर्नादन शर्मा, अन्य डेपुटी कमाण्डरहरु चन्द्रप्रकाश खनाल (कालिबहादुर खाम) विविध लगायतका कमाण्डरहरुको विश्वास पात्रको रुपमा चिन्ने गरिन्छ । रोल्पाको होलेरीदेखि अर्घाखाँची, पाल्पा, बुटवल, डोल्पा, रुकुमकोट, खारा, पिली, पशुपतिनगर, म्याग्दी जस्ता चर्चित माओवादीले आक्रमण गरेका युद्धहरुमा घर्ती समावेश भएका थिए ।

प्रतिक्रिया दिनुहोस्