‘स्मार्ट कार्डबाट सेनेटरी प्याड’ पाउदा छात्रा हर्षित



१७ चैत्र २०७५, काठमाडौं

स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड निकाल्ने मेसिन फेदीखोला गाउँपालिकाले सञ्चालनमा ल्याउदा छात्राहरु हर्षित भएका छन् ।

फेदीखोला २ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालयका विशेषतः कक्षा ६ देखि माथिका छात्रालाई लक्षित सेनेटरी प्याड मेसिन सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

महिनावारीका कारण छात्राहरु दुई तीन दिनसम्म विद्यालय नआउने, आइहालेमा पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य गर्न सो मेसिन संचालनमा ल्याइएको अध्यक्ष सुवेदीले बताए ।

गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको सहकार्यमा छात्राहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागि स्वचालित सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समान्वय समिती स्याङ्जा प्रमुख एवं जिल्ला समन्वय समिती महासंघ केन्द्रिय अध्यक्ष सिता सुन्दासले यो प्रविधी गण्डकी प्रदेशमा नै पहिलो रहेको बताउदै ’किशोरीलाई महिनावारी हुँदा पनि नियमित विद्यालय आउनको लागी यसले प्रोत्साहित गर्ने बताईन् ।’

मेसिनमा प्रयोग हुने स्मार्ट कार्ड प्रत्येक विद्यार्थीलाई एक–एकवटा दिइने र उक्त कार्ड मेसिनमा राखे पछि त्यहाँबाट प्याड निस्किन्छ । एउटा कार्ड एकपटक मात्र प्रयोग गर्न सकिने छ । उक्त मेसिनको लागत ८८ हजार रहेको गाउँपालिकाले जनाएको छ । मेसिनभित्र ५० वटा प्याड अटाउँछन् भने प्याड सकिएपछि पुनः प्याड राख्न सकिनेछ ।

सो मेशिनको शुरुवात भए सँगै आफ्नो पढाइमा नियमिता हुने र यसले गर्दा हाम्रो दैनिक पढाईलाई कुनै किसिमको असर नपर्ने सिद्धार्थ मा.वि. कक्षा ९ मा अध्ययनरत छात्रा शुभेक्षा शर्माले बताइन् ।

उनले भनिन्, “पहिला, विद्यालय कसरी जाने, विद्यालय समयमा रजस्वला भएमा के गर्ने भन्ने किसिमको त्रास हुन्थ्यो तर अब प्रविधी युक्त मेसिनको प्रयोग भए सँगै सहज हुने आशा छ ।“

कार्यक्रममा वडा नं २ का वडाध्यक्ष हिमालय जंग बानिया, वडा प्रतिनिधीहरु, विद्यालयका शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

फेदीखोला गाउँपालिका अध्यक्ष तथा वास व्यवस्थापन समिती अध्यक्ष घनश्याम सुबेदिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रअ. मनोज शर्माले राखेका थिए भने संचालन फेदीखोला गाउँपालिकाका वास संयोजक डिल बहादुर कार्किले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्