गोविन्द केसी, तिमी किन मर्दैनौ ?



गोविन्द केसी तिमी किन मर्दैनौ?
अब तिमीले मर्नुपर्छ किनभने
तिम्रो जीवनमा विकास अड्किएको छ
तिम्रो जीवनमा निकास अड्किएको छ
तिमीले सकेसम्म छिटो मर्नु पर्छ
तिम्रो कारणले धेरैको लगानी डुबेको छ
धेरैले जागिरको अवसर गुमाएका छन्
धेरै केटाकेटीले मेडिसिन पढ्न पाएका छैनन्,
त्यसको लागि विदेश जानु परिरहेको छ
देशको पैसा विदेश गैरहेको छ।

अब तिमीले मर्नुपर्छ किनभने
तिम्रो जीवनमा विकास अड्किएको छ
तिम्रो जीवन मा निकास अड्किएको छ।

तिम्रो सास केले अडिएको छ?
कांग्रेसको मायाले कि विवेकशीलको ग्लुकोजले
कि आफ्नो ओजपूर्ण निष्ठाले?
तिम्रै कारणले आज दाजुभाइ एक आपसमा लड्दैछन्
तिमीलाई तथानाम गाली गरिरहेका छन्
देशलाई अस्तव्यस्त बनाउने तिमी
तिमी राज्य भन्दा शक्तिशाली कसरी भयौ?

सबको निँद हराम भएको छ
तिमीले मर्नुपर्छ किनभने तिम्रो मृत्यु सँगै राजधानीमा कैयौं
मेडिकल कलेजहरू खुल्नेछन्
धेरैले शिक्षा र रोजगारको अवसर पाउनेछन्
ती उत्कृष्ट मेडिकल कलेज अनुगमनको गुन्जायस रहनेछैन
देशभरि डाक्टर नै डाक्टर हुनेछन्
देशले खाडीमा डाक्टर निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्नेछ
देश समृद्ध हुनेछ
तिमी विकास विरोधी, सरकार र लगानीकर्ताको विरोधी
तिमीले छिट्टै मर्नुपर्छ किनभने
तिम्रो जीवनमा देशको विकास अड्किएकोछ

तिमी सही छौ भन्दै पटकपटक तिमीसँग सम्झौता गर्ने सरकार
अनसन तोडेको भोलिपल्ट तिमीलाई धोका दिने सरकार
१५ औं पटकको अनसनमा पनि तिम्रा तरिका गलत छन् भन्छ
तिम्रो सत्याग्रहको तापले निस्किएको प्रतिवेदन
वर्षौं हुँदा पनि कार्यान्वयन गर्दैन, समय सापेक्ष छैन भन्छ
दुईतिहाई बहुमत सरकारले पनि त्यसलाई परिवर्तन गर्ने सामर्थ्य छैन भनी प्रतिप्रश्न गर्छ

आफू राज्य र जनताप्रति अनुत्तरदायी हुने,एउटै मागका लागि १५ पटकसम्म अनसन बस्ने? भनी सोध्छ
त्यसैले तिमी अपराधी हौ
तिमीले विभेद बिरुद्ध आवाज उठाएका छौ
भ्रष्टाचारी बिरुद्ध खनिएका छौ
गोविन्द केसी तिमी किन मर्दैनौ?
तिम्रो जीवनमा विकास अड्किएको छ
तिम्रो जीवनमा निकास अड्किएको छ

अझै पनि तिमी मरेनौ भने
तिमीलाई फाँसी दिएर मार्नुपर्छ
किनभने तिमीले राजद्रोह गरेका छौ
तिमी ती गरिब निमुखाहरूका प्रतिनिधि बनेका छौ
उनीहरुको आवाज बनेका छौ
तिम्रो विचारले डाक्टर अनि
डाक्टर बन्न खोज्नेका अभिभावकका (बुर्जुवाहरूको) प्रतिनिधित्व गर्दैनन्
किनभने उनीहरू बस्ने ठाउँ दूरदराजका गाउँ हुँदैनन्
उनीहरूले पढ्ने स्कुल टिनले छाएको हुँदैन
त्यसैले तिमी मर्नुपर्छ
तिम्रो जीवनमा विकास अड्किएको छ

तिम्रो मुर्ख्याइँले सरकारको विकास काममा अवरोध पुर्याइरहेको छ
सयौं मेडिकल फ्याक्ट्री खोल्ने सपनामा तुषारापात गरिरहेको छ
जुम्ला अनि दूरदराजमा मेडिकल स्कुल खोल्ने लगाएर
तिमीले गर्न के खोजेको?
त्यहाँ पढ्न जाने विद्यार्थीको मनोरन्जनको हक छिन्न खोजेको?
त्यहाँ सिनेमा हल छैन, सपिङ मल छैन
आइसक्रिम पार्लर छैन, अनि डान्सबार पनि छैन

त्यस्तो ठाउँमा विद्यार्थी कसरी पढ्न सक्छन्?
व्यापार व्षवसाय कसरी प्रवर्द्धन हुन्छ?
त्यसैले तिमी विकास विरोधी हौ, राजद्रोही हौ
फेरि पनि म भन्छु, तिमी मर्नुपर्छ
तिम्रो जीवनमा विकास अड्किएको छ
तिम्रो जीवनमा निकास अड्किएको छ

तिमीले मर्नुपर्छ, किनभने तिमीले बोलेका सत्यहरू
हाम्रा बौद्धिक जमातको राजनीतिक स्वार्थले पोतिएको फिल्टरबाट झुट भएर निस्किन्छन्
तिमी जसका लागि बोलिरहेका छौ
ती लम्पट निरक्षर र भोक-प्याससँग लडिरहेका अर्धचेतन प्राणीलाई भोकभन्दा ठूलो शिक्षा हुन सक्दैन
यदि तिम्रो चेतनाको बिगुलको ध्वनीले तिनीहरू जागे भने
भोलि सशस्त्र युद्ध कसले लड्ने?
अनि उनीहरूको सपनालाई हतियार बनाएर सत्तामा कसरी पुग्ने?

त्यसैले तिमी राजद्रोही हौ
या त तिमी छिट्टै मरिहाल
नत्र तिमीलाई मृत्युदण्ड दिनुपर्छ
तिमी यसैको लायक छौ
हाम्रा बौद्धिक जमातबाट
सहयोगको अपेक्षा नगर, किनभने
तिमी सरकार विरोधी हौ
तिमी गरिबहरूको मतियार हौ
माफियाहरूका कट्टर विरोधी हौ
देशलाई समृद्धिमा लाने मेडिकल फ्याक्ट्री खोल्न रोक्ने
तिमी समृद्धि विरोधी हौ
गरिब र जेहेन्दार विद्यार्थीले समान अवसर पाउनु पर्छ भन्ने
तिमी चरम साम्प्रदायिक हौ
त्यसैले तिमी मर्नुपर्छ
तिम्रो जीवनमा विकास अड्किएको छ
तिम्रो जीवनमा निकास अड्किएको छ

तिम्रो मृत्युको खबरले ती लाखौं जनतामा चेतनाको सञ्चार होला कि?
तिमी जलिरहेको लासको गन्धले ‘बौद्धिक’हरूलाई आफ्नो अस्तित्व र आत्मसम्मानको आभास हुन्छ कि?
तिम्रो जलिरहेको चिताको प्रकाशले बौद्धिक जमातको मनको अँध्यारो हट्थ्यो कि?
त्यसैले तिमी मर्नुपर्छ किनभने,
तिम्रो जीवनमा विकास अड्किएको छ
तिम्रो जीवनमा निकास अड्किएको छ

(लेखक डाक्टर विष्णु पोखरेल बिपी कोइराला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, धरानको हाडजोर्नी विभागका सह-प्राध्यापक हुन्।)

प्रतिक्रिया दिनुहोस्