मापदण्डको अभावमा खेल सङ्घमा बेथिति



०४ माघ २०७५, काठमाडौं

ठोस मापदण्ड नहुँदा खेल सङ्घको दर्ता प्रक्रिया नै भद्रगोल देखिएको छ । विशेषगरी खेलकूदका राष्ट्रिय सङ्घको दर्ताका लागि ठोस मापदण्डको कमीका कारण दर्ता प्रक्रियामै समस्या देखिएको हो ।

एक खेल एक सङ्घको अवधारणाअनुसार खेल सङ्घ दर्ता गर्नुपर्ने भए पनि एक खेलसँग धेरै सङ्घ सम्बन्धित रहेको, खेल नै पहिचान नभएका सङ्घ दर्ता भएका, खारेजीमा परेका खेल सङ्घसँग मिल्दाजुल्दा नयाँ खेल सङ्घ दर्ता प्रक्रियामा पुनः आउने गरेकाले दर्ता प्रक्रिया भद्रगोल हुँदै गएको हो ।

खेलकूद सङ्घ नियमितरुपमा नवीकरण हुनुपर्नेमा धेरै सङ्घ नवीकरण नभएका र नवीकरण नभएका सङ्घसमेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी हुनखोज्ने, अनुदानको अपेक्षा गर्ने प्रवृत्ति देखिनुले विधिको पालना नगर्ने नगराउने प्रवृत्तिको विकास भएको पाइएको छ ।

युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेकाअनुसार राष्ट्रिय खेलकूद परिषद्मा व्यवस्थित अभिलेखन नुहँदा भएको अभिलेख पनि परम्परागत समस्या उत्पन्न भएको बताउनुभयो ।

सङ्घको अभिलेखलाई आधुनिकीकरण गर्दै प्रविधिमैत्री हुने गरी व्यवस्थित गर्न दक्ष जनशक्ति र स्रोत साधनको समेत राखेपमा अपर्याप्तता रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्