इटहरीमा किर्ते गरी नागरिकता सिफारिस दिएको खुलासा



०३ मंसिर २०७५, इटहरी

बिराटनगर महानगरपालिका वडा नं. १ का वडाध्यक्षले भारतीयलाई नागरिकता सिफारीस गरेको घटना सेलाउन नपाउँदै इटहरीबाट किर्ते गरी नागरिकता सिफारिस दिएको खुलासा भएको छ । इटहरी उपमहानगरपालिका ८ स्थित वडा कार्यालयका तत्कालिन कार्यवहाक वडाध्यक्ष बुध नारायण चौधरीले किर्ते गरी सिफारिस दिएका हुन ।

८ नं. वडाका वडाध्यक्ष रोहित चौधरी विदा भएको अबस्थामा कार्यवहाक चौधरीले गणेश हरिजनलाई नेपाली नागरिकताको सिफारिस दिएका थिए । गणेशलाई इटहरी ८ बस्ने बासुदेब हरिजनको दाई, मुर्ती हरिजनका छोरा नाताको आधारमा ८ नम्बर वडा कार्यालयमा निवेदन दिएको बताइएको छ । वडा कार्यालयले दिएको सिफारीस लिएर गएका ब्यक्ति नक्कली हुन् भन्ने सुचनाका आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख प्रम प्रकाश उप्रेतीले छानबिन गर्न आदेश दिएका थिए । छानबिनका क्रममा निवेदन दिने दाई र बुबा नै नक्कली भएको पाइएको छ ।

बासुदेवले वडाले दिएको सिफारिस लिएर इलाका प्रहरी कार्यालय इटहरीमा सरजमिन गर्न पुगेका थिए । प्रहरीले पनि छिमेकीको सरजमिनलाई आधार मानेर वडालाई पुन सिफारिस दिएको थियो । सरजमिनपछि वडाले नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा नागरिकता दिन अन्तिम सिफारिस दिएको थियो ।

यसैबिच इटहरी ८ का वडाध्यक्ष रोहित चौधरीले हरिजन दुवैलाई भारतबाट नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जानकारी दिए । आफु विदा भएको समयमा कार्यवहाक अध्यक्ष बुध नारायण चौधरीले सिफारिस दिएको बताउँदै चौधरीको बिषयमा पनि अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्