प्रधानसेनापति र पूर्व प्रधानसेनापतिहरु बीच भेटघाट तथा शुभकामना आदानप्रदान



२९ असोज २०७५, काठमाडौं

त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डपमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु तथा रथीवृन्दसँग भेटघाट तथा अन्तरक्रिया गर्नुको साथै ‘विजया दशमी, दिपावली तथा छठ पर्व २०७५’ को शुभकामना आदानप्रदान समेत गरेका छन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले नेपाली सेनाको समयसापेक्ष सुदृढीकरण तथा क्षमता विकासको लागि भईरहेका गतिविधिहरु बारे संक्षिप्त जानकारी गराएका थिए ।

उक्त कार्यक्रमको दौरान नेपाली सेनाका विभिन्न विभाग प्रमुखहरुबाट राष्ट्रिय सुरक्षा वातावरण तथा सुरक्षा चुनौती, नेपाली सेनाको संरचना, नीति तथा भावी योजना, नेपाली सेनाको अपरेशनल तथा विविध गतिविधि र कल्याणकारी योजना तथा गतिविधिहरुको विषयमा प्रस्तुतीकरण र छलफल भएको थियो । यस प्रकारको भेटघाटको कार्यक्रम नेपाली सेनामा नियमित रुपमा आयोजना गर्ने गरिएको छ ।

उक्त अवसरमा पूर्व प्रधानसेनापतिहरु र रथीवृन्दले नेपाली सेना सम्बन्धि विविध सुझाव व्यक्त गरेका थिए । कार्यक्रमलाई समापनमा प्रधानसेनापति थापाले पूर्व प्रधानसेनापतिहरु एवं रथीवृन्दले प्रदान गरेका महत्वपूर्ण राय सुझाबहरुको लागि धन्यवाद ज्ञापन गरेका थिए । साथै, उक्त कार्यक्रममा नेपाली सेनाका बहालवाला रथीवृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्