पुनःनिर्माणमा महिला सहभागिता



नगरकोट, २ चैत

कृषि कार्य तथा घरभित्रकै काममा व्यस्त हुने महिला अहिले पुनःनिर्माणमा व्यस्त रहन थालेका छन् ।

चाँगुनारायण नगरपालिका–८, सुडालकी राधिका श्रेष्ठका श्रीमान् विदेशमा हुनुहुन्छ । आफ्नो परिवारको जीविकोपार्जनका लागि श्रेष्ठलाई श्रीमान्को कमाइ कुर्नुपर्ने बाध्यता थियो । महिला कामदारलाई कम पारिश्रमिक दिने चलन अझै यथावत् छ ।

“परिवार पाल्न र बच्चा पढाउन धौधौ हुन्थ्यो,” उहाँले भन्नुभयो । श्रेष्ठले सातदिने डकर्मी तालीम लिनुभयो । अहिले उहाँले पर्खाल लगाउने र छड बाँध्ने काम गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “अहिले घर बनाउने काम भ्याइनभ्याई छ । घर खर्च सजिलै चलेको छ । श्रीमान्लाई पनि नेपाल बोलाएर तालीम लिन लगाउने र पुनःनिर्माणमा सहभागी गराउने लक्ष्य छ ।”

राधिका जस्तै सूर्यविनायक नगरपालिका दधिकोटकी डिका हमाल पनि आफ्नो कामबाट खुशी हुनुहुन्छ । सामान्य कामदारका रुपमा काम गर्दा बल्लतल्ल रु ७००  पाउने हमाल अहिले दिनको झण्डै दोब्बरजति कमाउनुहुन्छ । घर बनाउने कामका लागि अनुरोध गर्न आउनेको संख्या बढेको हमाल बताउनुहुन्छ ।

चाँगुनारायण नगरपालिका–४, छालिङकी ज्ञानलक्ष्मी लाखेजु पनि अहिले घर बनाउने कार्यमा सक्रिय हुनुहुन्छ । श्रेष्ठ, दाहाल र लाखेजुजस्तै भक्तपुरका २१ जना महिलाले रेडक्रसले सञ्चालन गरेको भूकम्प प्रतिकार्य कार्यक्रममार्फत सञ्चालित सुरक्षित आवास निर्माणको सातदिने तालीम लिएर काम शुरु गर्नुभएको हो ।

पुनःनिर्माणका लागि महिलाको सहभागिता बढेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापा बताउनुहुन्छ । बाउन्न वर्ष उमेरसम्मका महिला तालीममा सहभागि भएको उहाँले बताउनुभयो ।

निर्माण सामग्री ओसारपसार तथा सिमेन्ट, बालुवा गिट्टी घोल्ने कार्य गरिरहेका महिला तालीमपश्चात् दक्ष मिस्त्रीको कार्यका लागि अग्रसर बनेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका कार्यालय सचिव शिवराम गेलाल बताउनुहुन्छ ।

महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिकृत निलाकुमारी घिमिरे महिलामाथि हुने हिंसाका घटनामात्र नभएर उनीहरुलाई दक्षकर्मी बनाउन पनि स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

“अझै पनि सिकर्मी डकर्मीलगायत दक्ष काममा महिलाको पहुँच पुग्न सकेको छैन,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्